बल्झियो बुर्किनी विवाद

२०७३ भाद्र ११ गते, शनिबार

काठमाडौ , ११ भदौ । फ्रान्सको उच्च अदालतले एउटा तटीय सहरमा मुस्लिम महिलाहरुको पुरै शरीर ढाक्ने स्वीमशूट अर्थात बुर्किनी लगाउन लगाएको रोक खारेज गरेको छ। अदालतले भीलनभ लुबे सहरमा बुर्किनीमाथि लगाएको रोक हटाउन आदेश दिएको हो । अदालतले भनेको छ–भिलनभ लुबेमा बुर्किनीमाथि लगाइएको रोक व्यक्तिगत स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र बिना रोकटोक घुमफिरको अधिकारको गम्भीर र स्पष्ट रुपमा गैरकानुनी उल्लंघन हो ।
यो आदेशसँगै फ्रान्सका करिब ३० सहरमा स्थानीयस्तरमा लगाइएको यसप्रकारको रोक हटाइने आशा गरिएको छ। तर, कांर्सिका सहरका मेयरले रोक जारी राख्ने घोषणा गरेका छन् ।
फ्रान्सका कयौ सहरमा बुर्किनीमाथि लगाइएको प्रतिबन्धको मानव अधिकारवादी संगठनहरुले विरोध गरेका छन् । यद्यपि बुर्किनीमाथिको रोकका अन्य विषयमा अदालतले अन्तिम निर्णय सुनाउन बाँकी छ।
अदालतबाहिर अपिल गर्ने संगठनहरुका एक वकिलका अनुसार जुन महिलामाथि बुर्किनी लगाएको आरोपमा जरिवाना गराइएको छ, उनीहरुले उक्त जरिवाना राशी फिर्ता पाउन दावी गर्न सक्नेछन् ।
बुर्किनीका विषयमा फ्रान्ससहित अन्य देशमा समेत बहस सुरु भएको छ। कयौ ओपिनियन पोलका अनुसार फ्रान्सका अधिकांश नागरिकले प्रतिबन्धको समर्थन गरेका छन् ।
अदालतले भने स्थानीय प्रशासनले व्यक्तिको स्वतन्त्रतामाथि रोक लगाउने अधिकार छैन भनेको छ। – एजेन्सी

प्रतिक्रियाहरु