‘बलात्कार गर्नेलाई भीडले नै मारिदेओस्’

२०७६ मंसिर १७ गते, मंगलवार

काठमाडौं, १७ मंसिर । २७ वर्षीया महिला पशुचिकित्सकलाई बलात्कार र हत्या गर्ने पुरुषहरूलाई ‘भिडले मारिदिनुपर्छ’ भन्दै एकजना सांसदले संसदमै अभिव्यक्ति दिएकी छन् । सांसद जया बच्चनले भारतीय संसदमा भनेकी छन्, “मलाई थाहा छ यो क्रूर हो, तर यस्ता मानिसलाई सार्वजनिक स्थानमा ल्याएर मारिदिनुपर्छ, ।” विभिन्न राजनीतिक दलका अन्य कैयौँ सांसदहरूले पनि उक्त क्रूर सामूहिक बलात्कार र हत्याको निन्दा गरेका छन् । याे घटनाले भारतीय संसदमा बहस सृजना गरेकाे छ । हराइरहेकी पीडित महिलाको जलेको शरीर गत साता फेला परेकाे थियाे । उनकाे सामूहिक बलात्कारपछि हत्या भएकाे जनाइएकाे छ । साे घटनापछि भारतभरि विरोध प्रदर्शनहरू भइरहेका छन् । प्रहरीका अनुसार उक्त घटनामा संलग्न चार पुरुषलाई पक्राउ गरिएको छ ।
बिबिसीका अनुसार सोमबार सडकको आक्रोश संसद्‌मा पनि प्रतिविम्बित भएकाे हाे । कैयौँ सांसदले महिलाका निम्ति देश सुरक्षित बनाउन सरकारले के गरिरहेको छ भनेर कडा प्रश्न गरेका थिए । बलिवुडकी पूर्वनायिका समेत रहेकी सांसद जया बच्चन महिला अधिकारका विषयमा प्रखर वक्ता समेत मानिन्छिन् । उनले सांसदहरूको तर्फबाट ती प्रश्न र कडा कारबाहीको मागको नेतृत्व गरेकी थिइन् । दक्षिणी राज्य तमिलनाडुकी एक सांसद विजिला सात्यनान्थले देश महिला तथा बालबालिकाका निम्ति सुरक्षित नभएको भन्दै भनिन्, “ती चार पुरुष जसले यो अपराध गरे तिनलाई डिसेम्बर ३१ अगावै फाँसी दिनुपर्छ। ढिलो न्याय दिनु भनेको न्याय नदिनु हो।” याे घटनाले भारतमा मात्र नभएर अन्तर्राष्ट्रिय स्तरमै चर्चा पाइरहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भने घटनाबारे अझै केही टिप्पणी गरेका छैनन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु