बलात्कारी जोगाउने एसपीलाई ‘जनसेवा श्री’ !

२०७५ भाद्र २० गते, बुधबार

काठमाडौं , २० भदौ । बलात्कारीलाई जोगाएको आरोपमा कारबाहीमा परेका नेपाल प्रहरीका एसपी विद्यानन्द माझीले मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट विभूषण पाएका छन् । विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्याएका भन्दै राष्ट्रपति भण्डारीले विभिन्न विभूषण एवम् मानपदवीबाट विभूषित प्रदान गरेकी हुन्। जिल्ला प्रहरी कार्यालय सुनसरीको प्रहरी प्रमुखका रूपमा कार्यरत रहँदा आर्थिक चलखेलका आधारमा बलात्कार गर्ने समूहसँग मिलेर उनले पीडितलाई मिलापत्र गर्न दबाब दिएका थिए । प्रेमी र उनका साथी मिलेर इटहरी तरहराकी १६ वर्षीया बालिकालाई जबरजस्ती बलात्कार गरेको घटना ‘गुपचुपुमा मिलापत्र गरेको आरोपमा एसपी माझीकारबाहीमा परेका थिए । गृह मन्त्रालयले निलम्बन गरी उनलाई विभागीय कारबाही गरेको थियो ।
प्रहरीले उच्चस्तरीय छानबिन समिति गठन गरी तीन महिनासम्म निलम्बन गरेर ग्रेड रोक्का गरी कारबाहीमा परेका उनै एसपी माझीले राष्ट्रलाई महत्वपूर्ण योगदान दिएको भन्दै राष्ट्रपतिको हातबाट विभूषण ग्रहण गरेका छन् । निलम्बन गरेको तीन महिनापछि प्रहरी प्रधान कार्यालयले एसपी माझीको ग्रेड रोक्का गरेर निलम्बन फुकुवा गरेको थियो । त्यसपछि उनलाई डोटीको प्रहरी प्रमुखको जिम्मेवारी दिइएको थियो। एसपी माझी अहिले जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख हुन्।
अघिल्लो वर्ष नै उनलाई विभूषण दिने निर्णय भएकाले आफूहरूले हटाउन नसकेको गृहका एक अधिकारी बताउँछन् । तर, आइतबारको मन्त्रिपरिषद्को बैठकले पूर्वमुख्यसचिव सोमलाल सुवेदी र गोपीकृष्ण शर्माको नाम हटाउँदा उनको नाम भने हटेन । निलम्बन फुकुवा भएपछि एसपी माझीलाई गृह मन्त्रालयले डोटी जिल्लाको प्रहरी प्रमुखका रूपमा खटाएको छ ।
पुस–१६ गते इटहरीकै वडा नं. २ मा १६ बर्षीया बालिका बलात्कार गरेको घटना ‘गुपचुपु मा मिलापत्र गरेकोमा घटना भएको एक महिनापछि छानबीन भएको थियो। एसपी माझी सुनसरी जिल्ला प्रहरी प्रमुख हुँदा माघ २३ गते निलम्बनमा परेका थिए। तत्कालीन प्रहरीको प्रदेश नं. १ का एआईजी पशुपति उपाध्यायले संघीय प्रहरी एकाइ धरानका तत्कालीन एसएसपी हरिबहादुर पालको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरेर छानबिन गरिएको थियो। छानबिन समितिको सिफारिसअनुसार, तत्कालिन सुनसरी प्रहरी प्रमुख एसपी माझी र इलाका प्रहरी कार्यालय इटहरीका इनिस्पेक्टर चिरञ्जिवी दाहाललाई गृह मन्त्रालयले निलम्बन गरेको थियो।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु