बलत्कार र हत्या भित्रको जढ कुरा – विनोद दाहाल

२०७५ श्रावण १५ गते, मंगलवार

समाजमा विवेकहीन मानेबृत्तिले गर्दा सर्वहारा वर्ग र महिलाहरु समाजको सबैभन्दा असुरक्षित र पीडित समुह बनेको छ । सम्पत्ति सम्पूर्ण रुपले हत्याएका पुरुषहरुले यति ठूलो विजय हाँसिल गरेको अहमता पालेका छन् कि सम्पत्तिहीनहरुमा जे गर्न पनि आफ्नो अधिकार रहेको ठानिरहेका छन् । शोषण, उत्पिडन, दमन र अत्याचारको पराकाष्ट रुप भनेको बलत्कार हो अनि हत्या र हिंसा हो । मालिक र पुरुषले सर्वहारा वर्ग र महिला घृणाका पात्र हुन् झैं लाग्नेगरि व्यवहार गरिरहेका छन् । छोरिलाई बोझ ठान्छन् र मुख हेर्नै नपरोस् भनेर गर्भमै तुहानउन पछि पर्दैनन् । सक्नेले त त्यसो गरिरहेका छन् । समाजमा यिनको आवश्यकता नै छैन झैं गरि छोरि भए गर्भमैं हत्या गरिदिने जस्तो जघन्य अपराध गरिरहेका छन् । नचाहिकन जन्मिएका नानीहरुलाई पनि बलत्कार र हत्या गरेर मारिदिने गरेका छन् । बृद्धबृद्धा भैसकेको अवस्थामा पनि यस्ता अपराध गर्न छाडेका छैनन् । सर्वहारा वर्गलाई देख्दा अगति पर्ने भावमा मालिकले आफ्नोबाट टाढा राख्ने आदेश फरमान गर्छन् । सवारि साधनमासमेत पर्दाहालेर सवार हुन्छन् । यस्तो भाव पर्दै गएको छ कि पुरुष र मालिक भनेको सबै क्षेत्रबाट हेर्दा अपराधिसिवाय केही हैन । महिलामाथि विवेकहीन ढङ्गले बलत्कार त भैरहेकै हो सर्वहारा वर्गलाई पनि सम्पूर्ण अधिकार खोसेर हत्या गरिरहेका छन् । त्यसपछि दर्दनाक हत्या हुनुले मानव सभ्यातामा भयानक चुनौति खडा गरेको छ ।
पोथी होस् वा भाले आखिर प्राणीबीचमा यिनीहरुबीच प्राणी जगतमा वा प्रकृतिमा समानता नै छ त ! मानव त मानव नै हो नि ! उत्पतिदेखि पछिल्लो चरणसम्म मानव बीचमा पनि समाजशास्त्र तथा मानवशास्त्रको अध्ययनमा कुनै असमानता रहेको पाईंदैन । डाईनोसर लोप भएको बेला ५ करोड बर्ष अगाडि मानवजाती अस्तीत्वमा आयो र लाखौं करोडौं बर्ष बिताउँदा पनि महिला र पुरुषबीच भेदभाव देखिंदैन । एउटाबाट अर्को शासित र आश्रित देखिंदैन । एउटाबाट अर्को असुरक्षित र अपहेलित अवस्थामा पु¥याएको देखिंदैन । श्रम गरेर आफ्नो आवश्यकता पुरा गर्ने क्षमता भएका मानव जातीले यस्ता क्रूर, विवेकहीन, हिंश्रक र अपराधीको बिल्ला लाउनु परेको थिएन । आफ्नै व्यवहारले गर्दा पुरुष समुहले यो सभ्यता बिरोधि बिल्ला भिर्नु परेको छ ।
मानवशास्त्र अनुसार श्रमको महत्व बढदै गएपछि श्रमगर्ने मानिस (महिला वा पुरुष)को पनि महत्व बढदै गयो । त्यसै महत्वको कारणले श्रमिक र श्रमको स्वामित्व हत्याउन महिला सफल भए किनकि श्रम गर्ने मानिस हो र तिनलाई उनीहरुले आफूले जन्माएको दाबी गर्न सक्ने भए तर कुनै पुरुषको पनि जन्मिने सन्तानको लागि दाबी गर्ने स्थिति थिएन । स्वेच्छिक र समुहगत सहवासले गर्दा भाले अर्थात पुरुषको दावी यसमा गुमेको हुन्थ्यो । हजारौं–लाखौं वर्षसम्म सहवास र सम्भोगले बच्चा जन्मिने जानकारिसमेत मानिसमा थिएन । सन्तानले आमा चिने पनि बाबु चिन्ने स्थिति थिएन । मानिस आमाका हुन्थे बाबुका हुँदैनथे । यसरि महिलाले अधिकार र शक्ति पाएर मातृसत्ता लामो समयसम्म चलेको पायिन्छ । तर अहिलेको जस्तो जघन्य अपराध महिलाबाट भएको पाईंदैन ।
सम्पत्तिको प्रचुरता र बचतमा स्वामित्व ग्रहण गर्ने क्रममा पुरुषले सम्पत्तिमा अधिकार जमाए । सम्पत्ति र अधिकार शक्तिमा बदलिंदै गयो र अन्ततः त्यो शक्तिले गर्दा श्रमिक र महिलाको अधिकार गुम्यो र शक्तिहीन बन्न पुगे । शक्तिहीनहरुको सम्पूर्ण नैसर्गिक अधिकारहरुसमेतका अधिकारहरु खोसिंदै गयो । सम्पत्ति नहुनेहरु शक्तिहीन र नीरिह बने । यो अहिलेको सर्वहारा वर्ग र महिलाहरुको यस्तो दयनीय स्थितिमा देखा प¥यो । उनीहरुमाथि भएका अत्याचार अनि दर्दनाक व्यवहारहरु अहिले हामी हेरिरहेका छौं । हेर्न नसक्नेहरु यो स्थिति बदल्न लागिपरिहेका छन् । सर्वहारा, श्रमजिवी र महिलाले मुक्त हुन पाउनु अधिकार हो तर शोषक, मालिक र पुरुषले त्यो स्वीकार्दैनन् । शोषण, दमन, अन्याय, अत्याचार, विभेद गर्न पाउनु उनीहरु अधिकार ठान्दैछन् । कसैले स्वीकारे पनि नस्वीकारे पनि यो यिनै दुई वर्गबीचको लडाईंको युग हो । सम्पूर्ण मानव जाती यहि दुई कित्तामा बिभाजित भएका छन् र आआफ्नो व्यवहार गरिरहेका छन् । यो वर्ग संघर्ष हो । बलत्कार, हत्या, दमन आदि सबै यसैको परिणाम हो ।
लैङ्गिक विभेद अर्थात महिलामाथि गरिने विभेदले राजनीतिक रुप लिएर अहिले चर्चामा छ । नेपालको सन्दर्भमा जनयुद्धमार्फत महिलाले प्राप्त गरेका अधिकारहरु शान्तिपूर्ण संंक्रमणको कालका नाममा षड्यन्त्रमार्फत खोसिएका छन् जसरि सर्वहारा वर्गको मुक्तिका लागि वलिदानमार्फत जम्मा पारेका हतियार खोसिएका छन् । अहिले त तेश्रो लिङ्गले पनि संघर्षमार्फत संवैधानिक अधिकार खोजेका छन् । पुरुषहरु आफ्नो अधिकार कटौतिको पक्षमा छैनन् । यसले अन्तहीन झैं लाग्ने संघर्ष सृजना भएको छ ।
महिला र पुरुष अर्थात मानव जातीको भाले र पोथी, अरु प्राणी झैं लिङ्ग, तौल, रुप, आकार, स्वर आदिमा फरक रुपमा रहेका छन् । संवेदनशीलताको हिसावले पनि फरक हुने कुरा आउने गरेका छन् । बाँच्ने आयू पनि उस्तैउस्तै हुन्छ तर अवशर भने नितान्त फरक छ । प्राणी जगतमा भाले र पोथी जुध्दैनन् भलै भाले वलवान र आकर्षक हुन्छ, तर मानिसका बिषयमा फरक स्थिति छ, जुध्छन् तर मानव संसारमा पोथी जातीको लागि सबैभन्दा खतरनाक कुरा भाले नै हुन्छ । सुर्यको उज्यालोको केही समय अल्लि सुरक्षित भएको महशुस गर्छन्, बाँकि समय पुरै असुरक्षि र रिमरिम अँध्यारोसँगै उनीहरुमाथि कर्फ आदेश भैहाल्छ । त्यसबखतहुने सबै दुर्घटनाहरुको दोष आफैं हुनुपर्ने हुकुम फरमान् हुन्छ । पराधिनताको दुःख दर्दको स्थितिबाट उनीहरु गुज्रिनु उनीहरुको लागि बाध्यता छ । पोथी अर्थात महिला यो संसारमा सबैभन्दा असुरक्षित छ भने केवल भाले अर्थात पुरुषबाट नै छ ।
भाले जातीका सम्पूर्ण क्रियाकलापहरु पोथीकै लागि भन्नेहरु पनि छन् अर्थात भालेहरु पोथीका दासहरु हुन् भन्नेहरु पनि छन् । पोथीहरु पनि सम्पूर्ण रुपले भालेहरुप्रति समर्पित देखिएका पनि छन् । यस्तो हुँदाहुँदै पनि महिला र पुरुषबीच आकाश पातालको फरक स्थिति छ ।
हुन त इतिहारसभरि यस्को फरकफरक स्थिति छ । हरेका बस्तु, स्थिति र वेलामा मानिसका व्यवहार, भावना र संस्कारहरु फरक रहेका छन् । यसलाई सम्पत्ति, शक्ति र पारिवारिक स्थितिमा नीजिले प्रभाव पारेको देखिन्छ । पितृसत्तात्मक समाज भएता पनि सम्पत्तिमा स्वामित्व जमाउन नपाएका पुरुष कति निरिह र नालायक देखिन्छन् भने उसको पुरुषत्व गुमेको हुन्छ र अत्यन्तै कुरुप अवस्थामा रहेको भान पर्छ । सम्पत्तिको उत्पति नभएको अवस्थाका पुरुष सायद अहिलेको अवस्थाका जस्ता पक्कै थिएनन् भनेर अनुमान लगाउन कठिन पर्दैन । अझ आफूले जन्माएका बच्चामाथिको स्वामित्व आफूसँग मात्र रहेको बेलाको महिला पनि सायद अहिलेको अवस्थामा छँदै थिएनन् भन्न आइतवार पर्खिनु पर्दैन । जतिजति सम्पत्तिमा महिलाले स्वामित्व गुमाउँदै गए उतिउति महिलाको अवस्था नाजुक हुँदै गयो भन्न पनि हिचकिचाउनु पर्ने अवस्था हैन वा छैन । मानिसको मनोबृत्ति पनि त्यही सम्पत्तिको स्वामित्वले निर्धारण गरेको पाइन्छ । यसले बनाएको समाजको मनोविज्ञान पनि सम्पत्तिको स्वामित्वको स्तर अनुसार फरकफरक स्थितिको हुन्छ भन्न धेरै तथ्याङ्कहरु पेश गर्नै पर्दैन । त्यसैले महिला र पुरुषको मनोबृत्तिमा पनि फरकपन देखापर्दै गएको पाइन्छ ।
यो अवस्था बर्तमानको यथार्थ हो । बलत्कार र हत्याको जढ कुरा यहिंभित्र लुकेको छ । विद्यमान अवस्था नबदलिकन यो अवस्था पनि हटाउन सकिंदैन । यो अवस्था एकाएक फुत्त आएको पनि हैन र तत्कालै यो हटेर जाने अवस्था पनि छैन । एउटा सचेत मान्छेले व्यवस्था नै फेर्ने कुरासित जोडेर यसमा प्रतिक्रिया जनाउन सक्छ भने अध्यात्मिक र प्रतिक्रियावादी शोच र चिन्तन भएको एउटा अचेत आफैं भित्र भएको दोष नदेखेर उकुसमुकुस हुँदै युगौंदेखि करायो, कराउँछ, चिच्याउँछ, यो अवस्था जादुले झैं भुत्त हटाउन सकिन्छ भनिराख्छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु