बन्द सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद : प्रकाण्ड

२०७२ श्रावण ८ गते, शुक्रबार

काठमाडौं, ८ साउन । नेकपा माओवादीले नेपाल बन्द पाँच बजेबाट सकिएकाे भएको जनाएको छ । पार्टीका प्रवक्ता तथा स्थायी समिति सदस्य खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)ले एक विज्ञप्ती जारी गर्दै बन्द शानदार रुपमा सम्पन्न भएको जनाएका छन् ।
प्रवक्ता प्रकाण्डले बन्द सफल पार्नका लागि सहयोग गर्ने सबै जनसमुदाय, पार्टीका शुभचिन्तक, समर्थक, कार्यकर्ता र नेताहरुलाई धन्यवाद ज्ञापन पनि गरेका छन् । त्यस्तै बन्दको कार्यक्रमका बारेमा सत्यतथ्य समाचार सम्प्रेषण गरी सहयोग गर्ने पत्रकारहरुलाई पनि प्रवक्ताले धन्यवाद दिएका छन् ।
साथै बन्दका क्रममा राज्यले आफ्ना नेता कार्यकर्तामाथि बर्बर दमन गरेको भन्दै त्यसको निन्दा एवं भत्र्सना पनि गरेका छन् । विज्ञप्तीमा भनिएको छ, “भारत र चीन सरकारद्वारा हाम्रो देशको भूमी लिपुलेकमाथि गरिएको अतिक्रमण, देशको राष्ट्रिय अर्थ व्यवस्थाको क्यान्सर भ्रष्टाचार र कमिशन, माओवादी शक्ति र संसदवादी शक्तिबीच भएका सहमति, सम्झौता र शान्ति प्रकृयाको राजनैतिक एजेण्डा एवं स्प्रिट विरुद्धको जनविरोधी संविधानको मस्यौदा र नेपाली जनताको कहाली लाग्दो जनजीवनका विरुद्ध संघर्षको कार्यक्रमको रुपमा हाम्रो पार्टीले आयोजना गरेको श्रावण ८ गतेको नेपाल बन्द कार्यक्रममा काठमाडौं उपत्यका लगायत देशका बिभिन्न भागहरुमा राज्यद्वारा गरिएको निरंकुशतावादी दमन, २०० भन्दा बढी नेता कार्यकर्ताहरुको धरपकड एवं गिरफ्तारी र गोंगबु र चुच्चेपाटीमा जनताले निकालेको शान्तिपूर्ण जुलुशमाथि गरेको बर्बर दमनको हाम्रो पार्टी घोर निन्दा एवं भत्र्सना गर्दछ ।”
त्यसैगरी प्रवक्ता प्रकाण्डले गिरफ्ता गरिएका सबै नेता कार्यकर्ताहरुलाई तत्काल रिहा गर्न माग गरेका छन् । पार्टीका पोलिटब्यूरो सदस्य तिलक परियार, केन्द्रीय सदस्यहरु राजेन्द्र कार्की, माइला लामा, डि.डि. पाण्डे, पारसमणी, गगन थापा, उत्तम विष्ट, वसन्त घर्ती मगर र तेजप्रसाद अधिकारीसहित देशभर ३०० भन्दा बढी नेता कार्यकर्ता गिरफ्तार भएको बताइएको छ ।
प्रवक्ता प्रकाण्डले रिहा गरिएका कार्यकर्ताहरुलाई तत्काल रिहा नगरे अर्को चरणको कडा संघर्षमा उत्रने चेतावनी पनि दिएका छन् ।
साथै उनले बन्दको कार्यक्रममा ऐक्यबद्धता जनाउँदै कार्यक्रममा सहभागी हुने ग्रेटर नेपाल अभियान, देशभक्त नागरिक मोर्चा, मधेशी क्रान्तिकारी मोर्चामा आवद्ध १५ घटक र ३३ दलीय मोर्चालाई धन्यवाद दिएका छन् ।
माओवादीका प्रवक्ता प्रकाण्डद्वारा जारी गरिएको प्रेस विज्ञप्तिको पूर्ण विवरण यस प्रकार रहेको छ –” भारत र चीन सरकारद्वारा हाम्रो देशको भूमि लिपुलेकमाथि गरिएको अतिक्रमण, देशको राष्ट्रिय अर्थ व्यवस्थाको क्यान्सर भ्रष्टाचार र कमिशन, माओवादी शक्ति र संसदवादी शक्तिबीच भएका सहमति, सम्झौता र शान्ति प्रकृयाको राजनैतिक एजेण्डा एवं स्प्रिट विरुद्धको जनविरोधी संविधानको मस्यौदा र नेपाली जनताको कहाली लाग्दो जनजीवनका विरुद्ध संघर्षको कार्यक्रमको रुपमा हाम्रो पार्टीले आयोजना गरेको श्रावण ८ गतेको नेपाल बन्द कार्यक्रममा काठमाडौं उपत्यका लगायत देशका बिभिन्न भागहरुमा राज्यद्वारा गरिएको निरंकुशतावादी दमन, २०० भन्दा बढी नेता कार्यकर्ताहरुको धरपकड एवं गिरफ्तारी र गोंगबु र चुच्चेपाटीमा जनताले निकालेको शान्तिपूर्ण जुलुशमाथि गरेको बर्बर दमनको हाम्रो पार्टी घोर निन्दा एवं भत्र्सना गर्दछ । गिरफ्तार गरिएका पार्टीका पोलिट ब्यूरो सदस्य क.तिलक परियार, केन्द्रीय सदस्यहरु क. राजेन्द्र कार्की, क. डि.डि. पाण्डे, क.पारसमणी, क. गगन थापा,क.उत्तम विष्ट,क.तेजप्रसाद अधिकारी,क.बसन्त घर्तिमगररक. माइला लामा,विद्यार्थी संगठनका केन्द्रीय अध्यक्ष क. शरद रसाईली, मजदुर संगठनकाकेन्द्रीय संयोजक क.योगेन्द्र कुमाल, महिला संगठनकी केन्द्रीय अध्यक्ष क.बन्धु चन्दसहित थुप्रै जिल्लाका जिल्ला सेक्रेटरीहरुलाई गिरफ्तार गरिएकोछ । हाम्रो पार्टी गिरफ्तार गरिएका सम्पूर्ण कार्यकर्ताहरुको तुरुन्त रिहाइको माग गर्दछ । नत्र अर्को चरणको संघर्षको कार्यक्रम घोषणा गर्न पार्टी बाध्य हुने कुरा समेत जानकारी गराउँदछ ।
नेपाल बन्दलाई देशव्यापी भब्य रुपमा सफल पार्न पार्टी नेता र कार्यक्रर्ता कमरेडहरुले गरेको अथक परिश्रम तथा जुझारु संघर्ष र आम न्यायप्रेमी नेपाली जनताले गरेको सहयोग र समर्थन प्रति हाम्रो पार्टी सगौरव धन्यवाद ज्ञापन गर्दछ । साथै बन्दको कार्यक्रममा समर्थन गरी सहभागिता जनाउने ग्रेटर नेपाल अभियान, देशभक्त नागरिक मोर्चा, ३३ दलीय मोर्चा, मधेशी क्रान्तिकारी मोर्चामा आवद्ध १५ घटक लगायत सबैलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछ । त्यसैगरी बन्दको सत्यतथ्य समाचार संकलन गरी सहयोग पुर्याउने सबै संचार माध्यम र पत्रकारहरुलाई पनि हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।
हाम्रो पार्टी बन्दका क्रममा घाइते हुनुभएका कमरेडहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ । बन्दमा साथ दिने जन समुदायको सुझाव र भावनालाई दृष्टिगत गरी अपरान्ह ५ः०० बजेबाट बन्द कार्यक्रमको समापन गरिएको जानकारी समेत गराउँदछौ ।”

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु