बन्दीपुर नगरपालिकाद्वारा संरक्षित उपक्षेत्र घोषित

२०७३ भाद्र ११ गते, शनिबार

काठमाडौ, ११ भदौ । बन्दीपुर नगरपालिका कार्यालयले बन्दीपुर क्षेत्रभित्र र बाहिरको करिब ५०० मि क्षेत्रलाई संरक्षित उपक्षेत्रका रुपमा घोषणा गरेको छ ।
पर्यटकीय नगरी बन्दीपुरमा घर निर्माण गर्दा पश्चिमेली शैली झल्किने वस्तु प्रयोग गर्न नपाइने र पुराना शैलीका घरलाई संरक्षण गर्ने उद्देश्यले उक्त क्षेत्रलाई संरक्षित उपक्षेत्रका रुपमा घोषणा गरिएको हो ।
उक्त क्षेत्रमा घर बनाउँदा बस्ती विकास सहरी योजना तथा भवन निर्माणसम्बन्धी आधारभूत मापदण्ड र नगरपालिकाले बनाएको नियम पालना गर्नुपर्ने व्यवस्था रहेको कार्यकारी अधिकृत लेखनाथ न्यौपानेले बताउनुभयो ।
बन्दीपुर बजार क्षेत्रमा पुरानो शैलीका घर पर्यटकको आर्कषणको केन्द्रबिन्दु रहेकाले उपक्षेत्रभित्र घर निर्माण गर्दा आधुनिक र पश्चिमेली शैलीका घर निर्माण गर्न नपाइने उहाँले जानकारी दिनुभयो ।
उक्त क्षेत्रमा भएका पुराना संरचनाका घर भत्काउन समेत स्थानीय निकायको स्वीकृति लिनुपर्ने छ । घर निर्माण गर्दाका हकमा भने पराम्परागत नेपाली शैली एवम् आकार प्रकारका काठका झ्यालढोका राख्नुपर्ने, बार्दली कोठा निकाल्न नपाइने, बाहिरी गारामा प्लास्टर नगरी प्रस्टसँग इँटा देखाउनुपर्ने प्रावधान छ ।
त्यसैगरी कला, वास्तुकला एवम् धार्मिक दृष्टिकोणले महत्वपूर्ण रहेको ठाउँमा स्मारक वा स्मारकको परिसर वरिपरिका पहिलो पङ्क्तिमा घर स्मारकभन्दा होचो हुने गरी निर्माण गर्नुपर्ने लगायत नियम रहेको नगरपालिकाले जनाएको छ । – रासस

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु