बन्दको प्रभाव बिहानैबाट

२०७६ श्रावण १५ गते, बुधबार

काठमाडौं , १५ साउन । नेपाल कम्युनिस्ट पार्टीले सरकारको दमन तथा गिरफ्तारको बिरोधमा आज आह्वान गरेको बन्दको बिहानैबाट प्रभाव देखिएको छ । पार्टी केन्द्रीय सदस्य एवम् उपत्यका ब्युरो ईन्चार्ज माईला लामाको गिरफ्तारीको बिरोध तथा रिहाईको माग गर्दै चरणबद्ध संघर्षमा उत्रिएको नेकपाले आज बाग्मती, नारायणी ब्युरो सहित जनकपुर ब्युरो अन्तर्गतका जिल्ला बन्दको आह्वान गरेको हो । काठमाडौं, ललितपुर, भक्तपुर, रसुवा, नुवाकोट, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, बारा पर्सा, रौतहट, चितवन, मकवानपुर, रामेछाप र दोलखा जिल्ला मा बन्दको कारण जनजीवन प्रभावित भएको छ । बिहानैबाट अत्यावश्यक सवारी साधनबाहेक यातायातका साधन गुड्न सकेका छैनन् भने शैक्षीक संस्थापनि बन्द छन् ।
सरकारले निरन्तर आफ्ना नेता र कार्यकर्तालाई गिरफ्तार गर्ने , झुठा मुद्दामा फसाउदै जेल चलान गर्ने र मुठभेडको नाममा हत्या गर्ने गरेको भन्दै आक्रोशित बनेको नेकपाले दमन र धरपकड बिरुद्ध बन्दसहितका संघर्षका कार्यक्रम घोषणा गरेको थियो ।बन्दको प्रभाव काठमाडौ उपत्यकामा समेत परेको छ । सडकमा न्युन मात्रामा नीजि तथा अत्यावश्यक सवारी मात्रै गुडेका छन् भने बन्दका क्रममा कुनै अप्रिय द्दटना द्दट्न नदिन सडक तथा चोक चोकमा प्रहरी परिचालन गरिएको छ ।
यहि साउन ४ गते राति काठमाडौंको काडाँघारीमा सुतिरहेको अवस्थामा व्युरो ईन्चार्ज लामालाई प्रहरीले गिरफ्तार गरेको थियो । पुर्पक्षका लागि थुनामा रहेका नेता लामालाई हाल नख्खु कारागारमा राखिएको छ ।
यसैबीच बन्दको अवज्ञा गरेको भन्दै नेकपाका कार्यकर्ताहरुले मकवानपुरमा दुइवटा गाडीमा आगजनी गरेका छन् । फाखेल हुमाने भन्ज्याङमा बा १४ च ८२३४ नम्बरको कार र मनहरी ज्यामिरे खरङ्गामा बा ५ ख १७३९ नम्बरको ट्रकमा आगजनी गरेका छन् । हेटौंडाका विभिन्न स्थानमा शंकास्पद वस्तु पनि फेला परेका छन् । आगजनीका कारण कार पूर्ण रूपमा क्षति पुगेको र ट्रकको अगाडिको भाग मात्र जलेको जिल्ला प्रहरी कार्यालय, मकवानपुरका प्रहरी उपरीक्षक मुकेश सिंहले जानकारी दिए । त्यसैगरी, हेटौंडाका थानाभर्याङ, चौकीटोल, हुप्राचौरको क्विक २० नजिकै शंकास्पद् वस्तु सेनाको टोलीले निष्क्रिय पारेको छ । हेटौंडाको मुख्य बजारको पारिजात पथमा फेला परेको शंकास्पद वस्तु निष्क्रिय पार्न सेनाको टोली आउँदै गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु