बन्दको प्रभाव देशभर, जताततै बम विस्फोट र आगजनी

२०७४ फाल्गुन ८ गते, मंगलवार

काठमाडौं, ८ फागुन । नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको देशभर प्रत्यक्ष प्रभाव परेको छ भने , बम विस्फोट र आगजनीका क्रम रोकिएका छैनन् । प्रहरीले बिनाकारण नेता र कार्यकर्तालाई गिरफ्तार गरी हिरासतमा राखेको विरोधमा नेकपाले आज नेपाल बन्दको घोषणा गरेको हो । यसैक्रममा पोखराको बिजयपुरमा राखिएको बम विष्फोट हुँदा पत्रकार घनश्याम पाण्डे घाइते भएका छन् । उनी पोखरामा सञ्चालित रेडियो गण्डकीका स्टेशन मेनेजर हुन् र गण्डकी टेलिभिजनका पत्रकार पनि हुन् । उनी प्रेस सेन्टर कास्कीका उपाध्यक्ष समेत रहेका छन् । उनीसँगै एकजना प्रहरी हवल्दार कुलबहादु खत्री घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि पोखराको गण्डकी मेडिकल कलेज लगिएको छ । यसभन्दा अघि पोखराको नागढुंगामा रहेको बम डिष्पोज गरिएको थियो भने बिजयपुरमा रहेको बम डिष्पोज गर्न नेपाली सेनाको बम डिष्पोजल टोली नपुगेको अवस्थामा प्रहरीले घेरा गरेर राखेको थियो ।
यसैगरी बन्दका कारण पूर्व–पश्चिम राजमार्ग पूर्णरुपले ठप्प भएको छ । एम्बुलेन्सबाहेक कुनै प्रकारको सवारी साधन चलेका छैनन् । चोक–चोकका बजारहरु समेत व्यापारीले बन्द गरेका छन् । पश्चिमका धनगढी, कञ्चनपुर, दाङको तुल्सिपुर, सुर्खेतको वीरेन्द्रनगर, घोराही, नेपालगञ्ज, बर्दियाको गुलरिया, पोखरा, बाग्लुङ, गोरखा, पूर्वका चितवन, हेटौंडा, चपुर, गौर, लालबन्दी,गाइघाट, इटहरी, धरान, दमक, विराटनगर, मेचीनगर, काँकडाभिट्टालगायत देशका मुख्य बजारसमेत पूर्ण रुपमा प्रभाव परेको हाम्रा प्रतिनिधिहरुले जनाएका छन् । अन्य पहाडी क्षेत्र जोड्ने र तराइका लामा–छोटा दूरीका सबै सडक ठप्प रहेको जनाएका छन् ।
बन्दको अवज्ञा गरेको भन्दै विभिन्न स्थानमा सवारी साधनमाथि आगजनी र तोडफोड भएको छ । काठमाडौंको मध्यबानेश्वरस्थित बा १ झ ८१३८ नम्बरको एक सरकारी गाडीमा आगजनी गरेका छ । आगजनीबाट पार्किङ गरिराखेको टाटासुमोमा ध्वस्त भएको जनाइएको छ । त्यस्तै मंगलबार बिहानै विराटनगरको सलकपुर र ढाडमा दुईवटा मालवाहक ट्रकलाई आगजनी गरेर ध्वस्त पारिदिएका छन् । नवलपरासीको नवलपुरमा बन्द अटेर गरी चलाइएको ३ वटा गाडीमाथि तोडफोड गरेको समाचार छ । काठमाडौंमै बन्दमा चलाएका एकएक वटा ट्याक्सी र माइक्रोबसलाई तोडफोड गरेर चेतवानीसहित फिर्ता पठाइएको नेकपाले जनाएको छ । आगजनी गर्नेहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
उता कैलालीको लम्की धोपिनी खोलास्थित बन्दको अवज्ञा गरेको बन्दै ना ३ ख २५६३ नम्बरको मालबाहक ट्रकमा आगजनी गरेको छ । आगजनीबाट ट्रकमा क्षति पुगेको जनाएको छ ।
यसैबीच काठमाडौंको कोटेश्वर तीनकुने पुलको छेवैमा रहेको बिजुली पाेलमा कालाे झोलामा खतरा लेखिएको अवस्थामा बम फेला परेको छ । त्यस्लाई भर्खरै डिस्पोज गरिएको छ । डिस्पोजबाट भौतिक क्षति नभएको जनाइएको छ । पोल रहेको स्थान तीनकुने प्रहरी कार्यालयकाे मुख्य गेटमा पर्छ । बम रहेको क्षेत्रलाई प्रहरीले घेरा हालेर राखिराखेको थियो । त्यसक्षेत्रमा सर्वसाधारणलाई आवतजावत गर्नसमेत रोक लगाएको थियो । बम कसले र के उद्देश्यले राखिएको हो भन्ने अझै खुल्न सकेको छैन ।
बन्दका क्रममा तनहुँको दुलेगौँड बजारबाट रामराजा महत, सल्यानको कपुरकोट क्षेत्रबाट नारायण वली र रविन्स महतरालाई प्रहरीले गिरफ्तार गरेको नेकपाले जनाएको छ । बन्दकै क्रममा पश्चिम सुर्खेतबाट धनबहादुर नेपाली, कमल बुढा, रत्न बिक र डोल्पाबाट गोकर्ण थापा गिरफ्तार परेका छन् भने कञ्चनपुरबाट राजेन्द्र बिष्ट, विरेन्द्र शाह, र मानबहादुर बिष्टलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीसँगको झडपमा विरेन्द्र शाह र कमल बुढा घाइते भएको जनाएका छन् । बन्दका कारण कलेज, विद्यालय, कलकारखाना, पसल खुलेका छैनन् । विभिन्न पेशामा रहेका व्यवसायी र अधिकारकर्मीहरुले ओली सरकारले राजनीतिक गतिविधिमाथि हस्तक्षेप गरेर ठीक नगरेको भन्दै विरोध गर्न थालेका छन् । उनीहरुले हस्तक्षेपलाई अाेलीलाई पहिलो गाँसमै ढुंगा सावित हुने समेत दाबी गरेका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु