बदलिंदो परिवेशमा नेपाली जनसम्पर्क समिति – सुभाष घिमिरे

२०७१ पुष २२ गते, मंगलवार

जननायक वी पी कोइरालाले सन् १९७६ मा भारत प्रवासमा रहेका नेपाली कांग्रेसका कार्यकर्ता र शुभेच्छुकहरूलाई समेटेर नेपाली जनसम्पर्क समिति भारत गठन गरेपछि सुरु भएको नेपाली जनसम्पर्क समितिको इतिहासले ३९ औं वर्ष पार गरिसकेको छ | विगतका करिब चार दशकमा नेपाली जनसम्पर्क समितिले विश्वभर रहेका लाखौँ लोकतन्त्रवादीहरूलाई आफ्नो छहारी प्रदान गरेको छ | भारत प्रवासमा रहेर तानाशाही सरकारको विरुद्द क्रान्ति गर्नुपर्ने समयमा वी पी ले परिकल्पना गर्नुभएको नेपाली जनसम्पर्क समिति अहिले संसारभर व्याप्त हुन पुगेको छ | समय प्रवाहसँगै युग बदलिएको छ र यससँगै नेपाली जनसम्पर्क समितिको भूमिका पनि बदलिएको छ |

नव वर्ष २०१५ को पूर्व सन्ध्यामा म निवर्तमान सभापति रहेको नेपाली जनसम्पर्क समिति अमेरिका मेरिल्याण्ड च्याप्टरलाई मैले बुँदागत रूपमा दिएका केही सुझावहरूलाई च्याप्टरका सभापतिजीले अत्यन्त उत्साहपूर्वक ग्रहण गरेको कुरा फेसबुक मार्फत सार्वजनिक गर्नुभएको थियो | हाम्रा गतिविधिहरू सेवा उन्मुख र परिणाममुखी हुँदै जाउन भन्ने उद्देश्यले मैले ती सुझावहरू प्रस्तुत गरेको थिएँ | संस्थामा आवद्द सबै सदस्यहरूलाई परिचय-पत्र वितरण गर्ने, नयाँ सालको नोभेम्बर महिना भित्रमा हाम्रो हस्तलिखित राहदानीलाई MRP ले प्रतिस्थापन गरिसक्नुपर्ने भएकोले दुतावासले नयाँ राहदानी वा MRP जारी गर्न अस्वीकार गरिरहेकाहरूको हकमा उनीहरूलाई आफ्नो अधिकार दिलाउन सशक्त भूमिका निर्वाह गर्ने तथा MRP लिनुपर्ने अन्य सबै मेरिल्याण्डबासी नेपाली दाजुभाइ, दिदीबहिनीहरूलाई खबर गरी सबैको राहदानी संकलन गरी MRP बनाएर हस्तान्तरण गर्ने र कुनै अवसर पारेर एउटा बृहत रक्तदान कार्यक्रम आयोजना गर्ने सुझावहरू थिए ती | मैले मेरिल्याण्ड च्याप्टर समक्ष प्रस्तुत गरेका यी सुझावहरू जुनसुकै ठाउँका लागि पनि उत्तिकै महत्वपूर्ण र सान्दर्भिक छन् भन्ने मलाई लाग्दछ |

मैले यी सुझावहरू हामीले तत्काल गर्न सकिने कार्यक्रमहरूको रूपमा पेश गरेको थिएँ | दीर्घकालीन रूपमा भने नेपाली भाषा, संस्कृतिको उत्थान र जगेर्ना हुने किसिमका कार्यक्रमहरू तर्फ पनि हाम्रो ध्यान जानु जरुरी छ | हामीले दोश्रो पुस्ताका नेपाली बालबालिकाहरूलाई नेपाली जनसम्पर्क समितिका कार्यक्रमहरू मार्फत संस्थाप्रति आकर्षित गरी उनीहरूको हृदयमा संस्थाप्रति अपनत्वको भाव जगाउन सक्नुपर्दछ | बालबालिकाहरूका लागि नेपाली भाषा स्कूल संचालन गर्न सके त्यो अत्यन्त उपयोगी कार्यक्रम हुनेछ | आप्रवासी, रोजगारी र स्वास्थ्य सम्बन्धी विषयहरूमा परामर्श सेवा उपलब्ध गराउने तर्फ पनि हाम्रो ध्यान जानु आवश्यक छ | स्वास्थ्य सेवाबाट वन्चित नेपालीहरूलाई नि:शुल्क स्वास्थ्य शिविर संचालन गर्ने तर्फ पनि हामीले सोच्नुपर्दछ भन्ने मलाई लाग्दछ |

नेपाली जनसम्पर्क समितिका अधिकांश कार्यक्रमहरू स्थानीय च्याप्टरको आयोजनामा स्थानीय स्तरमा नै सम्पन्न हुने गरेको अनुभव हामीसंग छ | त्यसैले नेपाली जनसम्पर्क समिति अमेरिकाको केन्द्रीय समितिको भूमिकालाई कार्यकारी भन्दा पनि मातृ पार्टी नेपाली कांग्रेस र च्याप्टरहरूको बीचमा समन्वय गर्ने भूमिका सहित समन्वयकारी बनाउँदै लैजानुपर्छ भन्ने मलाई लाग्दछ | अहिलेको लागि व्यवहारिक रूपमा लागु गर्दै हामी मध्ये अधिकांशलाई सही महशुस भएको खण्डमा हामी यसलाई भविष्यमा विधानमा नै व्यवस्था गर्न सक्दछौं |

म नव-निर्वाचित केन्द्रीय समितिलाई आप्रवासी नेपालीहरूका सरोकारका “एक पटकको नेपाली सधैंको नेपाली” लगायतका प्रमुख मुद्दाहरूलाई नेपालको सरकार र राजनैतिक दलहरू समक्ष प्रभावकारी रूपमा उठाउन अनुरोध गर्दछु | मुलुकको प्रमुख राजनैतिक दल र सरकारसँग सीधा र प्रत्यक्ष सम्बन्ध भएकोले यस्ता मुद्दाहरूमा नेपाली जनसम्पर्क समितिले नेतृत्वदायी र नेपाली समुदायका अन्य सबै संघ-संस्था भन्दा प्रभावकारी भूमिका निर्वाह गर्न सक्दछ भन्ने मलाई लाग्दछ | यसका साथै केन्द्रीय कार्यसमितिलाई विश्वभरका नेपाली जनसम्पर्क समितिहरूसँग सम्बन्ध विस्तार गर्ने कार्यक्रम ल्याउन म अनुरोध गर्दछु | हामी हाम्रो मातृ पार्टी नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशनको निकट आइपुगिसकेका छौं | मुलुकको अन्तरिम संविधान बमोजीम नै असोजको पहिलो हप्ताभित्रमा पार्टीले महाधिवेशन सम्पन्न गरिसक्नुपर्नेछ | महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यहरूको चयन गर्दा उत्पन्न हुन सक्ने विवाद र जटिलता तर्फ हामी अहिले देखि नै चनाखो हुनु आवश्यक छ | महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यहरूको चयन गर्दा नेपाली जनसम्पर्क समिति अमेरिकाको दोश्रो अधिवेशनका लागि निर्वाचित केन्द्रीय प्रतिनिधिहरूले अनलाइन भोटिंगद्वारा निर्वाचित गर्ने व्यवस्था मिलाउन समेत म केन्द्रीय समितिलाई अनुरोध गर्दछु | लामो समयसम्म अमेरिकाको केन्द्रीय अधिवेशन हुन सकेको थिएन र गत नोभेम्बर २२ र २३ मा भएको अधिवेशनमा समेत महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य आँफूले रोज्न पाउने केन्द्रीय प्रतिनिधिहरूको अधिकारलाई स्थापित गर्न सकिएन | पार्टीको भातृ संस्थाको हैसियतले पार्टीको सर्वोच्च तहमा प्रतिनिधित्व गर्ने प्रतिनिधि पठाउँदा लोकतान्त्रिक पद्दति अपनाएर केन्द्रीय प्रतिनिधिहरूलाई आफ्नो प्रतिनिधि छान्ने अवसर दिनु अत्यन्त महत्वपूर्ण छ भन्ने मलाई लाग्दछ |

केन्द्रीय अधिवेशनको पूर्व सन्ध्यामा मैले लेखेको थिएँ “निर्वाचनमा विजयी हुनेले सबैको भावना समेटेर अघि बढ्ने र पराजित हुनेले कम्तीमा एक कार्यकाल विजयी हुनेलाई सम्पूर्ण सहयोग गर्ने वाचा गर्नुपर्दछ |” तर केन्द्रीय अधिवेशन सम्पन्न भएको एक महिना बित्न नपाउँदै हाम्रा विवादहरू सडकमा छताछुल्ल भए | विधानको बारेमा कुरा उठिसकेपछि र त्यो सार्वजनिक भइसकेपछि यसको बारेमा देखिएको विवादको बारेमा केन्द्रीय सभापतिज्यूले संस्थाको आधिकारिक धारणा सार्वजनिक गर्नुपर्छ भन्ने मलाई लाग्दछ |

हामीसँग अथाह जनशक्ति छ | पार्टीको आदर्शको लागि बलिबेदीमा होमिने शहीदका परिवार देखि लिएर नेपालमा पार्टी र पार्टीका विभिन्न भातृसंस्थामा सशक्त भूमिकामा काम गरेका हजारौं कार्यकर्ता छन् हामीसँग, सयौं बुद्दिजीवी शुभचिन्तकहरू छन् | खाँचो छ त खाली इच्छा शक्तिको | म नव-निर्वाचित कार्यसमितिलाई सहयोग गर्न वचनवद्द छु | समितिले गर्ने सबै रचनात्मक र सकारात्मक कुराहरूमा मेरो समर्थन रहनेछ | नेपाली जनसम्पर्क समितिलाई प्रभावकारी ढंगले समयको माग अनुसार अगाडि बढाउने क्रममा आगामी दिनहरूमा हामी मध्ये जो अगाडि सरेपनि कार्यक्रमको आधारमा म यसरी नै सहयोगी भूमिका खेलिरहनेछु | संस्थालाई हाँक्ने व्यक्ति जो कोही हुन सक्छ, मूल कुरा संस्थाको नीति र कार्यक्रम हो | तर संस्थालाई आवश्यक परे नेतृत्वका लागि म स्वयं तयार रहेको कुरा यहाँ उल्लेख गर्नु म सान्दर्भिक सम्झन्छु |

(लेखक नेपाली जनसम्पर्क समिति मेरिल्याण्ड च्याप्टरका निबर्तमान सभापति हुन्)

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु