बङ्गाली अतिशाबारे अनुसन्धान गरिने

२०७४ असार २० गते, मंगलवार

काठमाडौँ, २० असार । नेपाल प्रज्ञा–प्रतिष्ठान तथा बङ्गलादेशको बङ्गला एकेडेमीले ११ औँ शताब्दीका बौद्ध विद्वान् अतिशा दीपङ्करका बारेमा दुवै मुलुकमा खोज अनुसन्धान गर्ने भएका छन् । ढाकामा जन्मनुभएका अतिशाले नेपालमा आएर बौद्ध दर्शनको प्रवद्र्धन तथा प्रचारप्रसारमा ठूलो भूमिका निर्वाह गरेका थिए । नेपाल भ्रमणमा रहेको बङ्गला एकेडेमीको प्रतिनिधिमण्डलले दुवै मुलुकका संस्कृति आदानप्रदानका लागि नेपाली साहित्यकार तथा विद्वान् एक जनालाई बङ्गलादेश पठाउने तथा त्यहाँका विद्वान्लाई पनि नेपाल झिकाउने विषयमा समझदारी भएको छ ।
गत वर्ष बङ्गलादेशमा प्रतिष्ठान र एकेडेमीबीच गरिएको समझदारीलाई कार्यान्वयन गर्न प्रतिष्ठानले बङ्गाली कविता र कथाका कृति नेपाली भाषामा प्रकाशन गर्नेछ । विसं १९९१ पछिका आधुनिक नेपाली कविता र कथाको प्रतिनिधित्व हुने गरी कृति छनोट गरेर चाँडो बङ्गालीमा अनुवाद गर्न अनुवादकलाई बङ्गलादेशमा पठाइने प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले जानकारी दिए ।
प्रतिष्ठानको निमन्त्रणामा बङ्गला एकेडेमीका निर्देशक समसुज्जामान खाँनको नेतृत्वमा एक प्रतिनिधिमण्डल यही असार १५ गते नेपाल आएको थियो । सो समूह विभिन्न सम्पदास्थलको भ्रमण पूरा गरी आज साझ स्वदेश फर्केको छ । – रासस

प्रतिक्रियाहरु