बंगलादेशी पूर्वमन्त्री कारागार चलान

२०७१ मंसिर ११ गते, बिहीबार


काठमाडौं । बंगलादेशका एक वरिष्ठ राजनेता अब्दुल लतिफ सिद्दिकीलाई हज यात्राको आलोचना गरेकोमा कारागार चलान गरिएको छ । देशभर भएको विरोधका कारण उनी आफै प्रहरीकोमा पुगेका थिए ।
मुस्लिम समूदायको भावनामा चोट पुर्‍याएको अभियोगमा उनीविरुद्ध अदालतमा २० भन्दा बढी मुद्दाहरु विचाराधीन छन् । उनी भारत र अमेरिकाको लामो यात्रापछि आइतबार स्वदेश फर्केका हुन् ।
उनलाई स्वदेश नफर्कन प्रोत्साहन गर्ने गरी एक अदालतले उनीविरुद्ध थुप्रै पक्राउ पुर्जीहरु जारी गरेको थियो । स्वदेश फर्केको २४ घण्टाभित्र उनलाई पक्राउ गर्नु पर्ने माग इस्लामिक समूहहरुले गरेका थिए । केहीले उनलाई मृत्युदण्ड दिनुपर्ने माग गरेका थिए ।
उनले यात्राको क्रममा आफू पूर्णतया हजको विरुद्ध भएको बताएका थिए । बर्सेनि लाखौं मुस्लिमहरु हजका लागि मक्का पुग्ने गर्दछन् । सेप्टेम्बरको न्युयोर्क भेलामा उनले उक्त धारणा राखेका थिए । त्यसलगतै उनलाई पक्राउ गर्नुपर्ने माग हुन थालेको थियो ।

प्रतिक्रियाहरु