बंगलादेशको पर्यटनमन्त्री काठमाडौंमा

२०७४ फाल्गुन २९ गते, मंगलवार

काठमाडौं, २९ फागुन । बंगलादेशका नागरिक उड्डयनमन्त्री एकेएम शाहजान कमल र परराष्ट्र राज्यमन्त्री शाहरिर अलाम तथा नागरिक उड्डयन प्राधिकरण, बंगलादेशका उच्च अधिकारीसहितको टोली नेपाल आएको छ । हिजो दुर्घटनामा परेको युएस बंगला विमानको अवस्थाकाबारेमा जानकारी लिन सो प्रतिनिधिमन्डल काठमाडौं आएको हो । उच्चस्तरीय सरकारी टोली युएस बंगला विमान दुर्घटनाबारे जानकारी लिन नेपाल आएको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले जानकारी दिए ।
गृह मन्त्रालयकाअनुसार विमानमा सवार चालकदलका सदस्यसहित ५१ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा २२ जना नेपाली, २८ जना बंगलादेशी र एक चिनियाँ नागरिक रहेका छन् । दुर्घटनामा घाइते अरु २० जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । विमानमा चारजना चालक दलका सदस्यसहित ७१ जना सवार थिए ।
बंगलादेशको उच्चस्तरीय टोली मंगलबार दिउँसो काठमाडौं आइपुगेको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए । उनकाअनुसार बंगलादेशबाट आउने टोलीमा दुर्घटनामा परेका परिवारका आफन्तसमेत छन् ।
यसअघि, सोमबार विमान दुर्घटनापछि लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेशका प्रधानमन्त्री शेख हसिनासँग टेलिफोन संवाद गरी विमान दुर्घटनाबारे जानकारी गराएका थिए ।

प्रतिक्रियाहरु