फ्रान्समा संकटकाल घाेषणाकाे तयारी

२०७५ मंसिर १७ गते, सोमबार

काठमाडौं , १७ मंसिर । पेट्राेलियम पदार्थमा मूल्य बढेको विरोधमा सुरु भएको प्रदर्शनले हिंसात्मक रुप लिएपछि फ्रान्सकाे स्थिति तनाग्रस्त छ । प्रदर्शनले सरकार विरोधी उग्र रुप लिँदै गएपछि फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले सुरक्षा अधिकारीसँगको आपतकालीन बैठक गरेका छन् । हजारौं सरकार विरोधी प्रदर्शनकारी र सुरक्षाकर्मीबीच तनावको अवस्था आएपछि राष्ट्रपति म्याक्रोनले सुरक्षा प्रमुखसँग बैठक गरेका हुन् । अवस्था नियन्त्रणमा लिनका लागि सबै विकल्प खुला रहेको मन्त्रीहरुले बताएका छन् ।
उनीहरुका अनुसार अवस्था काबुमा लिनका लागि देशमा संकटकाल लागु गर्ने विकल्प पनि खुला रहेको बताएका हुन् । तर यसबारेमा सुरक्षा अधिकारीसँगको बैठकमा छलफल भने नभएको बताइएको छ । खबरहरुमा भने आपतकालीन अवस्था लागू गर्नेबारे कुराकानी भएको दाबी गरिएको थियो । इन्धनमाथि लाग्दै आएको कर बढेपछि दैनिक जीवन गुजाराका लागि समस्या भएको भन्दै आन्दोलन जारी छ । राष्ट्रपति इम्यानुएल म्याक्रोनले भने विश्वव्यापी तापमान बृद्धि विरुद्धको अभियान अन्तर्गत आफूले इन्धनका सम्बन्धमा पछिल्लो निर्णय लिएको बताउँदै आएका छन् । उनका अनुसार वातावरणीय प्रदूषण तथा तापमान कम गर्न पेट्राेलियमकाे खपत घटाउनुपर्ने भएकाले कर वृद्धि गरिएकाे हाे ।- एजेन्सी

प्रतिक्रियाहरु