फेरी भेटियो नयाँ चरा

२०७१ आश्विन १० गते, शुक्रबार


काठमाडौं, १० असोज। बर्ड एजुकेसन सोसाइटी सौराहाका अनुसार चितवनमा जिल्लामै पहिलोपटक ‘फुस्रोकण्ठे बगडी’ नामको नयाँ चरा फेला परेको छ ।
नेपालमा भने यो चरा दोस्रोपटक भेटिएको जानकारी सोसाइटीका अध्यक्ष वासु विँडारीले दिए । यसअघि सन् २०१० मा शुक्लाफाँटा वन्यजन्तु आरक्षमा चराविद् डा हेमसागर बरालको नेतृत्वमा रहेको टोलीले अभिलेख गरेको उनले बताए । अहिले भने चितवनको सौराहास्थित राप्तीघाटमा उक्त चरा भेटिएको हो । हेर्दा भँगेरो जस्तै देखिने चराको खुट्टा र चुच्चो भने हल्का पहेँलो छ । चितवनमा पछिल्लो समयमा नयाँ चरा देखिने क्रम बढेको तथा सङ्ख्या र प्रजातिमा समेत वृद्धि भइरहेको विँडारीले बताए ।
यस वर्ष यहाँ भएको चरा गणनामा ४६ प्रजातिका चरा बढेको तथ्याङ्क सार्वजनिक भएको थियो । चितवनमा यो सँगै अहिले ६२६ प्रजातिका चरा फेला पारिएको छ । नेपालमा भने कुल ८७२ प्रजातिका चराको अभिलेख गरिएको छ ।
यस वर्ष चितवनको महाभारत क्षेत्रमा समेत चराको गणना गरिएको थियो । यसअघि चितवन निकुञ्ज र आसपासमा मात्रै चरा गणना हुँदै आएकामा केही वर्षदेखि महाभारत क्षेत्रमा समेत भएको थियो ।
प्रजाति बढेसँगै चराको विविधता रहेको चितवनमा यहीँ वर्षबाट पहिलोपटक चराको अभिलेख राख्नसमेत सुरु गरिएको छ ।यो वर्षबाट कुन चरा कहाँ पाइन्छन् र तिनीहरुको अवस्था के छ भन्नेजस्ता विभिन्न विवरणसहित अभिलेख राख्न थालिएको अध्यक्ष विँडारीले बताए । अघिल्लो पटक चितवनमा महाभारत क्षेत्रमा नयाँ चरा ‘मुसे लेकचरी’ फेला परेको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सलहेश फूलबारी मेला सुरू

२०८१ बैशाख १ गते, शनिबार