फेरि लाठी जुलुस र आमहड्ताल

२०७१ चैत्र १५ गते, आईतवार

काठमाडौँ । सरकार सहमतीय प्रणालीबाट संविधान निर्माण गर्न राजी नभएपछि आन्दोलनमा उत्रिएको एनेकपा माओवादी नेतृत्वको ३० दलीय मोर्चाले पुनः लाठी जुलुस, आमहड्ताल र नेपाल बन्दसम्मका सडक संघर्षको तयारी गरेका छन् । सडक संघर्षबाट सरकारलाई घुँडा टेकाउने भन्दै विपक्षी मोर्चाले आन्दोलन चर्काउँदै आएको हो । यसै क्रममा आज चैत १५ गते सबै जिल्ला र सदरमुकाममा लाठी जुलुस निकाल्ने, चैत १६ देखि १८ गतेसम्म सबै जिल्ला प्रशासन कार्यलय लगायत सरकारी कार्यालय घेरा गर्ने र साँझ मसाल जुलुस निकाल्ने, १९ गते आम हड्ताल गर्ने तथा २० देखि २३ सम्म सरकारी कार्यालय बन्द गराउने, नाकाबन्दी गर्नेलगायतको कार्यक्रम राखिएको छ भने २४ देखि २६ गतेसम्म आम हड्तालको कार्यक्रम राखिएको छ ।
यसैबीच, सरकारले प्रचण्ड नेतृत्वको ३० दलीय मोर्चालाई लाठी जुलुस तथा आमहड्तालसहितका आन्दोलनका उत्तेजक कार्यक्रम नगर्न आग्रह गरेको छ । उपप्रधान एवं गृहमन्त्री बामदेव गौतमले शुक्रबार विज्ञप्ति जारी गरी ३० दलको आन्दोलनप्रति आफ्नो ध्यानाकर्षण भएको बताएका छन् । प्रमुख दलहरुबीच संविधानका अन्तरवस्तुमा सहमतिको विकल्प नभएको भन्दै उनले पछिल्ला दिनहरुमा सहमतिको प्रयास पनि भइरहेको बताएका छन् । विज्ञप्तिमा भनिएको छ– ‘यस्तो समयमा लाठी जुलुस, मसाल जुलुस, सरकारी कार्यालय घेराउ, तीन दिनसम्म आमहड्ताल जस्ता विरोधका कार्यक्रम गर्नाले मुलुकको शान्ति र व्यवस्थामा गम्भीर समस्या पर्ने निश्चित छ ।’ शान्तिसुरक्षा कायम गर्नु पर्ने दायित्वबाट राज्य पन्छिन नमिल्ने गौतमले प्रष्ट पारेका छन् । साथै आन्दोलनले दलहरुबीच दूरी बढ्ने र मुलुकलाई प्रतिगमनतिर धकेल्न खोज्ने तत्वहरुलाई नै फाइदा पुग्ने गृहमन्त्रीले बताएका छन् । गृह मन्त्रालयले भनेको छ– ‘एमाओवादी समेतको ३० दलीय मोर्चालाई विरोधका सबै कार्यक्रम फिर्ता गर्न र नसके लाठी जुलुस, मसाल जुलुस, सरकारी कार्यालय घेराउ, बन्द र लगातार तीन दिन आमहड्ताल तथा राजस्व उठ्न नदिने जस्ता कार्यक्रम नगर्न आग्रह गर्दछु ।’

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु