फुल्चोकीमा हराएका विद्यार्थी अझै फेला परेनन्

२०७४ माघ १७ गते, बुधबार

काठमाडौँ , १७ माघ । ६ दिनपहिले फुल्चोकीमा हाइकिङ (भ्रमणमा) जाँदा हराएका विद्यार्थी अझै भेटिएका छैनन् । ललितपुरको थसिखेलस्थित अजय शिक्षा सदनमा कक्षा–६ मा अध्ययनरत् तथा कुसुन्ती बस्ने १७ वर्षीय जोन तामाङ बिहीबारदेखि हराएका हुन् ।
महानगरीय प्रहरी परिसर, ललितपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले नेपाल प्रहरी, सशत्र प्रहरी, नेपाली सेना गरेर तीनैओटा सुरक्षा निकाय तामाङको खोजीमा लागेको बताए । अभिभावक संगठनहरु, प्याब्सन र आफन्तहरुले गोदावरी आसपासका गाउँमा खोजी गरेका थिए । हुलियाका आधारमा उनीजस्तै व्यक्ति देखिएको सूचनाका आधारमा गाउँ–गाउँमासमेत खोजी भइरहेको छ । उनले भने–‘हामीले बिहीबारदेखि नै दिनरात खोजी गरिरहेका छौं ।’ तामाङलगायत ११ जना विद्यार्थी लिएर विद्यालयका प्रधानाध्यापक दुर्गाबहादुर ओली बिहीबार फुल्चोकी हाइकिङ गएका थिए । साँझसम्म पनि नभेटिएपछि उनले परिवारमा खबर गरे ।
प्रधानाध्यापक ओलीले जोनले आफूलाई दुःख दिएको भन्दै अर्काे दिन उनी घर फर्किएर आउने बताएको जोनका आफन्त भरत राईले बताए । उनले भने–‘केका आधारमा भोलि आउँछ भनेको हो, त्यो प्रस्ट बताएको छैन ।’ प्रधानाध्यापकको लापरबाहीका कारण घटना भएको परिवारजनको आरोप छ । उनलाई कारबाही गर्नुपर्ने राई बताउँछन् । उनले भने–‘एक त विद्यार्थीलाई २४ किलोमिटर हिँडाएर लगेको छ, अर्कातिर कसरी घटना भयोसमेत बताएको छैन ।’ प्रधानाध्यापक र सँगै गएका अरू विद्यार्थीको भनाइ फरक भएको आफन्तले बताएका छन् । ‘लास वा सास’ जे भएपनि चाहिने भन्दै चाँडो खोजी गर्न परिवारजनले दबाब दिँदै आएका छन् । – रासस

प्रतिक्रियाहरु