फुटुक पर्व सम्पन्न

२०७४ मंसिर ३ गते, आईतवार

काठमाडौं, ३ मंसिर । ताप्लेजुङको हिमाली गाउँ ओलाङचुङगोलामा मात्र धुमधामले मनाइँदै आएको यो वर्षको फुटुक पर्व समापन भएको छ । परापूर्वदेखि नै यस गाउँमा मात्र मनाइँदै आएको फुटुक पर्व गए राति गालीश्राप बहन्ती गर्दै विधिवत् रुपमा समापन गरिएको हो ।
कार्तिक कृष्ण औँसीका दिन समापन हुने फुटुक पर्व कृष्ण पक्षको द्वितीयादेखि शुरु हुन्छ । पर्वको अवधिभर हरेक दिन मध्य रातदेखि लामाहरुले पाठ गर्छन् भने देव नृत्यसमेत देखाउने गरेका छन् । घीउ र तेल लगाएर आगोको रापलाई गुम्बाको धुरी कटाएपछि यसको समापन हुने स्थानीयवासी छेतेन शेर्पाले बताउनुभयो । यसरी बालिएको आगोको रापले धुरी काटे शुभ हुने विश्वास गरिन्छ । समापन हुने दिन गुम्बाका मुख्य लामाले ठूला देवताको नृत्य देखाउँछन् ।
यस्तै लामाले देवता र राक्षसको मखुण्डो लगाएर देवता र राक्षस बीचको युद्ध अभिनय गरी अधर्म गर्नेको पराजय कस्तो हुन्छ भनेर पनि देखाउने गरेका छन् । लामाको नृत्य हेर्न साथै भगवान्को आशीर्वाद लिनका लागि स्थानीयवासी साथै बाहिरबाट जाने मानिसले गुम्बा नजिकै टेन्ट टाँगेर बस्छन् । पछिल्लो तीन दिनदेखि नै लगातार यसरी बस्ने गरिएको स्थानीयवासीले बताएका छन् । गाउँलेले रकम जुटाएर मनाइँदै आएको यो पर्व अहिलेसम्म कुनै वर्ष रोकिएको छैन । फुटुकमा नयाँ कपडा फेर्ने, मीठोमसिनो बनाएर खाने प्रचलन रहेको छ । पर्वका समयमा सीमावर्ती चीनको तीब्बतदेखि भारतको दार्जलिङ, सिक्किम लगायतका ठाउँबाट समेत मानिस जाने गरेका छन् । स्थानीयवासी एङ्देन शेर्पाका अनुसार पछिल्ला तीन दिनसम्म पाहुनालगायत गुम्बामा टेन्ट टाँगेर बस्नेलाई सामूहिक भोजको व्यवस्था गरिन्छ ।
ओलाङ्चुङगोलामा ४०० वर्ष पुरानो दिकिछ्योखोर्लिङ गुम्बा रहेको छ । निकै पुरानो गुम्बा रहेकाले पनि फुटुक पर्वलाई बर्षेनी विशेष रुपमा मनाइँदै आएको बताइन्छ । चीन र नेपालको सीमा नाका नजिकै रहेको ओलाङचुङगोला फत्ताङलुङ गाउँपालिका–७ मा पर्छ । यस गाउँमा ६१ घर रहेका छन् भने नजिकैको बस्ती याङ्मामा १३ घरपरिवार छन् । यो गाउँ सदरमुकामबाट झण्डै तीन दिनको पैदल दूरीमा पर्छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सलहेश फूलबारी मेला सुरू

२०८१ बैशाख १ गते, शनिबार