फुटपाथमा भ्यान चलाउँदा १० जनाको मृत्यु, १५ घाइते

२०७५ बैशाख ११ गते, मंगलवार

काठमाडौं, ११ बैशाख । क्यानडाको टोरन्टोमा पैदल यात्रुलाई लक्षित गर्दै फुटपाथमा जथाभावी भ्यान चलाउँदा १० जनाको मृत्यु भएको छ । घटनामा १५ जना घाइते भएका छन् । संदिग्ध भ्यान चालक २५ वर्षीय अलिक मिनासायनलाई पक्राउ गरिएको अधिकारीहरुले जनाएका छन् । टोरन्टोको योङ स्ट्रिटमा भ्यान चालकले फुटपाथमा पैदल यात्रुहरुलाई लक्षित गरी भ्यान चलाएको बीबीसीले जनाएको छ । घटनापछि सो क्षेत्रमा केही समय मेट्रो सेवासमेत बन्द गरिएको थियो ।
यसैबीच क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रडोले घटनाको छानबिन भइरहेको र दोषीमाथि कडा कारबाही हुने जानकारी दिए । केही घाइतेको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने आशंका गरिएको छ ।-एजेन्सी

प्रतिक्रियाहरु