फुजेल काण्डको मुद्धा फिर्ता नलिए जनसत्ता ब्युतन्छ : किरण

२०७१ बैशाख ३ गते, बुधबार


काठमाडौ। नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य किरणले फुजेल प्रकरणका आरोपीलाई समाएर जेल हाल्ने काम तत्काल रोक्न माग गरेका छन् ।नेकपा–माओवादी प्यूठान जिल्लाको तेश्रो सम्मेलनलाई सम्बोधन गर्दै किरणले फुजेल प्रकरणका आरोपी १३ जनालाई समाएर जेल हाल्ने काम तत्काल रोक्न सरकार समक्ष माग गरेका हुन् ।अध्यक्ष किरणले सरकारले दर्ता गरेको फुजेल काण्डको मुद्दा फिर्ता नलिए युद्धकालिन समयमा जस्तै छुट्टै जनसत्ता गठन गर्ने बताएका छन् ।फुजेल प्रकरणको कुरा उठाउँदै एमाओवादीले दुई माओवादीबीच भएको दुई बुँदे सहमतिलाई देखाएर कांग्रेस–एमालेसँग ‘राजनीतिक बार्गेनिङ’ गरिरहेको किरणले दाबि गरे ।
यसै सम्बन्धमा नेकपा–माओवादीले जारी गरेको प्रेस विज्ञाप्ति को पूर्ण विवरण यस प्रकार रहेको छ – “फुजेल प्रकरणका सम्बन्धमा सरकारले १३ जना सर्वसाधारणविरुद्ध सर्वश्वसहित जन्मकैदको अभियोग लगाई चितवन जिल्ला अदालतमा मुद्दा दायर गरेको सम्बन्धमा नेकपा–माओवादीको गम्भीर रुपमा ध्यानाकर्षण भएको छ । विस्तृत शान्तिसम्झौता र अन्तरिम संविधानको प्रावधान अनुसार एकातिर १) युद्धरत पक्ष – सरकार र नेकपा– माओवादीको आपसी सहमतिबाट मात्र आयोगसम्बन्धी काम अगाडि बढाउनुपर्ने र २) आयोगसम्बन्धी कानुन बनाउँदा पीडितहरुको सुझाव लिनुपर्ने हुँदाहुँदै सरकारद्वारा राजनीतिक सहमति र सुझावबिना सत्यनिरुपण एवम्वे पत्तासम्बन्धी विधेयक ल्याउनु त्यसको मर्मविपरीत हुन जान्छ । अर्कोतिर युद्धका क्रममा घटेका घटनालाई सरकारले एकतर्फी ढङ्गले “अपराधिक क्रियाकलाप” भन्दै मुद्दा दायर गर्ने निहुँमा सर्वसाधारण एवम् नेकपा– माओवादीका कार्यकर्ता समेतलाई दुःख दिई आतङ्क फैलाउने काम गरेकोमा सरकारका यसप्रकारका गैह्र जिम्मेवारीपूर्ण तथा निरङ्कुश रवैयाप्रति नेकपा–माओवादी घोर भत्र्सना गर्दछ । एकातिर सरकारले सत्य निरुपण तथा वेपत्ता नागरिकसम्बन्धी कानुनको हवाला दिइरहेको र अर्काेतिर देशव्यापि रुपमा जनयुद्धका मुृद्दाहरु लगाउँदै जनतालाई आतङ्कित पारिरहेको कार्यले शान्तिप्रक्रिया बिथोलिएको छ । फुजेल प्रकरणलगायतका यसप्रकारका सम्पूर्ण मुद्दाहरु सरकारले फिर्ता लिई राजनीतिक सहमति कायम गर्दै कानुन निर्र्माण एवम् आयोग बनाई यसप्रकारका घटनाहरुको छानविन प्रक्रिया अगाडि बढाउन हाम्रो पार्टी जोडदार माग गर्दछ । अन्यथा, यसबाट उत्पन्न सम्पूर्ण समस्याको जिम्मेवार सरकारपक्ष हुने कुराप्रति नेकपा–माओवादी सरकारलाई गम्भीर रुपमा चेतावनी दिन्छ ।”

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु