फर्निचर व्यापारी राष्ट्रपति बने

२०७१ श्रावण ७ गते, बुधबार


काठमाडौं । इन्डोनेसियाको सम्पन्न नगर जकार्ताका सुधारवादी गभर्नर जोको विडोडोले राष्ट्रपति पदको निर्वाचनमा मंगलबार विजय हासिल गरेका छन् । उक्त मुलुकका शक्तिशाली नेता सुहार्तोको कार्यकालमा भिजेका विवादास्पद पूर्वसैनिक जनरल प्राबोओ सुबियान्तोविरुद्ध उनले यो जित हात पारेका हुन् ।विडोडोलाई जोकोवीको नामबाट पनि चिनिन्छ । उनलाई निर्वाचनमा ५३ प्रतिशत मत प्राप्त भएको छ । सुवियान्तोले ४७ प्रतिशत मत पाएका छन् । इन्डोनेसियालाई विश्वको तेस्रो ठूलो प्रजातन्त्रको रूपमा लिइन्छ । त्यहाँ ९ जुलाईमा राष्ट्रपति पदको निर्वाचन भएको थियो । निर्वाचनको दिनमा अभिमत सर्वेक्षकहरूले विडोडोले झिनो मतले विजय हासिल गर्ने अनुमान गरेका थिए । केही कमै परिचित अभिमत सर्वेक्षकले मात्र प्राबोनोले विजय हासिल गर्ने बताएका थिए । ५३ वर्षे विडोडो जकार्ताको गभर्नर छँदा सामान्य पहिरनमा नगरको गरिब बस्तीमा पुग्थे । यसै कारण पनि उनले जनताको मन जित्न सफल भएका हुन् ।यो नतिजालाई नदी किनारको गरिब बस्तीमा जन्मेका पूर्व फर्निचर व्यापारी विडोडोको उदयलाई अर्थपूर्ण रूपमा हेरिएको छ । उनको विजयलाई लगानीकर्ताहरूले स्वागत गर्ने अनुमान गरिएको छ । उनले दक्षिणपूर्वी एसियाली सबैभन्दा ठूलो तर हालै मन्दीमा परेको अर्थतन्त्रलाई नयाँ गति दिने अपेक्षा उनीहरूले गरेका छन् । अर्कोतिर प्राबोओको मानव अधिकार सम्बन्धी रेकर्ड राम्रो छैन ।निर्वाचनमा विजय हासिल गरेको प्राबोओले दाबी गरेका थिए । उनले निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै आफू प्रतिस्पर्धाबाट बाहिरिने बताएको केही घन्टापछि निर्वाचन परिणामको घोषणा भएको हो ।
६२ वर्षे प्राबोओले यस नतिजालाई संवैधानिक अदालतमा चुनौती दिने अनुमान गरिएको थियो । तर उनको प्रवक्ताले सम्पूर्ण प्रक्रियाबाट आफूलाई अलग बनाएको अवस्थामा यो एक विकल्पको रूपमा नरहेको बताए ।अदालतले अगस्टको अन्त्यसम्म निर्णय गर्न नसक्ने अवस्थाका कारण प्राबोओको निर्णयले लामो राजनीतिक अवरोधको सम्भावना टरेको बताइएको छ ।
जकार्तामा सञ्चारकर्मीसँग बोल्दै प्राबोओले सन् २०१४ मा भएको निर्वाचनमा व्यापक, संरचनागत तथा प्रणालीगत रूपमा धाँधली भएको गुनासो पोखे । उनले निर्वाचन आयोगले गराएको राष्ट्रपति पदको निर्वाचन प्रजातान्त्रिक नभएको, आयोग स्वयं निष्पक्ष र पारदर्शी नभएको आरोप लगाए । विडोडोले विश्वको सबैभन्दा बढी मुसलमान बहुल मुलुकमा निर्वाचन पारदर्शी र खुला भएको भनेका छन् । स्वतन्त्र विश्लेषकहरूले निर्वाचन समग्रमा स्वतन्त्र तथा निष्पक्ष भएको बताएका छन् ।मतदानपछि दुवै पक्षले अर्कोलाई मतगणनाको लामो प्रक्रियालाई आफ्नो पक्षमा पार्न खोजेको आरोप लगाएका थिए ।-जकार्ता (एएफपी)

प्रतिक्रियाहरु