प्रहरीलाई खाडी जाने यात्रुका कागजपत्र नहेर्न निर्देशन

२०७१ कार्तिक २७ गते, बिहीबार

काठमाडौँ । गृह मन्त्रालयले पर्यटक भिसामा खाडी मुलुक जाने यात्रुका कागजपत्र नहेर्न विमानस्थल प्रहरीलाई निर्देशन दिएको छ। विमानस्थल प्रहरीले ‘प्रहरी हेल्प डेस्क’ मार्फत पर्यटक भिसामा कतार, दुबई, साउदी अरेबिया, बहराइनलगायतका खाडी मुलुक जाने यात्रुबाट रकम असुली गरेको उजुरी परेपछि मन्त्रालयले यस्तो निर्देशन दिएको हो।
मन्त्रालयले सुरक्षाका विषयमा मात्र केन्द्रित भएर काम गर्न पनि विमानस्थल प्रहरीलाई निर्देशन दिएको छ। अब अध्यागमनका अधिकारीले मात्र यात्रुका कागजपत्र जाँच गर्नेछन्।
गलत ढंगले विदेश जाने यात्रुलाई रोक्नुको सट्टा हेल्प डेस्कका माध्यमबाट प्रहरीले घुस खाने गरेको उजुरी परेको छ। गृह मन्त्रालयले सोमबार विमानस्थल प्रहरीलाई पत्राचार गरी पर्यटक भिसामा खाडी मुलुक जाने यात्रुको भिसा, राहदानी, हवाई टिकटलगायत नहेर्न भनेको छ।
गृह प्रवक्ता लक्ष्मीप्रसाद ढकालले भने, ‘टुरिष्ट भिसामा खाडी मुलुक जाने यात्रुको सुरक्षाजाँचमात्र प्रहरीले गर्छ। उनीहरूको कागजपत्र हेर्ने अधिकार प्रहरीलाई छैन। कागजपत्र अध्यागमनले जाँच गर्छ।’ यसअघि हेल्प डेस्कका प्रहरीले खाडी मुलुक जाने यात्रुको भिसा, राहदानी, टिकटलगायत जाँच गर्दै आएका थिए।
विमानस्थल प्रहरी प्रमुख डीआईजी विजयलाल कायस्थले पनि अब खाडी मुलुक जाने यात्रुको कागजपत्र प्रहरीले जाँच नगर्ने बताए। उनले भने, ‘हेल्प डेस्कमार्फत अब प्रहरी सेवामात्र दिन्छौं।’
तत्कालीन विमानस्थल प्रहरी प्रमुख डीआईजी गोपाल भण्डारीलाई सेटिङमा मान्छे पठाएको, यात्रुबाट विभिन्न सामान लिएको विमानस्थलमा भ्रष्टाचार गरेको भन्दै गृह मन्त्रालयले निलम्बन गरेको थियो। भण्डारीले यात्रुका क्यामेरा, ल्यापटपलगायतका सामग्री लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अभियोगपत्रमा उल्लेख छ।
गृह मन्त्रालयले सुरक्षाका विषयमा मात्र केन्द्रित भएर काम गर्न विमानस्थल प्रहरीलाई निर्देशन दिएको थियो।
यसअघि पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरीको हेल्प डेस्क रकम असुल्न प्रयोग भएको भन्दै हटाउन निर्देशन दिएको थियो। कायस्थ विमानस्थलको सुरक्षा प्रमुख भएपछि पनि सेटिङमा मान्छे पठाउने क्रम नरोकिएको स्रोतले बतायो। विमानस्थल प्रहरी, हवाई कम्पनी र अध्यागमनका अधिकारीबीच सेटिङ हुने गरेको पनि स्रोतको दाबी छ।
तत्कालीन डीआईजी (हाल एआईजी) नारायण बस्ताकोटीले विमानस्थलको सुरक्षा प्रमुख हुँदा यात्रुलाई सहयोग गर्ने उद्देश्यले हेल्प डेस्क स्थापना गरेका थिए। तर, त्यही बेला विमानस्थलमा विदेशी मुद्रा तस्करीमा संलग्न भएको अभियोगमा तत्कालीन एसएसपी रवीराज श्रेष्ठ निलम्बनमा परेका थिए।
हेल्प डेस्कलाई प्रहरीले बार्गेनिङ गर्ने स्थानका रूपमा प्रयोग गर्ने गरेको भन्दै चौतर्फी विवाद भएको थियो।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु