प्रसूतिगृहमा भ्रष्टाचारीको जगजगी

२०७१ भाद्र १४ गते, शनिबार


काठमाडौँ । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल -प्रसूतिगृह) मा प्रशासक अमर अमात्यले मच्याएको लुट एकपछि अर्को पर्दाफास हुँदैछ । प्रसूतिगृहमा सञ्चालित सामाजिक सुरक्षा एकाईमा व्यापक अनियमितता गर्दै लुट मच्याउँदै आएका अमात्यले गरिब र असहायको गाँस खोसेको सम्बद्ध कर्मचारीहरु बताउँछन् । सामाजिक सुरक्षा इकाईले गरिब र अशक्तहरुलाई पूण र आंशिक छुटको व्यवस्था गरेको छ । तर, यो सुविधा लक्षितवर्गले पाउन सकेका छैनन् । यो इकाईबाट सेवा उपलब्ध गराएको भन्दै अस्पतालका निर्देशक पुष्पा चौधरी र प्रशासक अमात्यको मिलेमतोमा लाखौँ भ्रष्टाचार भइरहेको स्रोतले बताएको छ । लक्षित समूहका बिरामीको पहिचान गरी १० हजारसम्मको सेवा उपलब्ध गराउने निर्देशिकामा व्यवस्था भए पनि लक्षितवर्गले त्यसको उपयोग पनि नपाएको स्रोत बताउँछ ।
अस्पतालका सयौँ कम्पनी सूचिकृत भए पनि मुस्किले ८-१० वटा र्फमले मात्र काम पाएका छन् । ती र्फमलाई काम दिनुभन्दा पहिले प्रशासक अमात्यले रकम असुल्ने गरेको स्रोत बताउँछ । प्रशासक अमात्यले रकम पाएकै भरमा एउटै र्फमलाई बिजुली, मसलन्द, छपाई, प्लम्बिङ र मर्मत सम्भारको कार्यसमेत दिइएको छ । प्रशासक अमर अमात्यले बनाएको सेटिङमा निर्देशक डा. पुष्पा चौधरी पनि संलग्न भएकोले अस्पतालभित्र व्यापक भ्रष्टाचार भइरहेको स्रोतको दाबी छ । अस्पतालका लागि भनेर मगाइएका कतिपय सामग्रीहरु प्रशासक अमर अमात्यले घर पुर्याएका छन् । यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रशासक अमात्यको घरमा छापा मार्ने हो भने प्रस्ट हुन्छ । अस्पतालमा बिल पेस गरी आफ्नो घरको प्लम्बिङ, बत्ती, झयाल, ढोका मर्मतलगायतका काममा प्रशासक अमात्य माहिर छन । उनको विषयमा हालै विभिन्न पत्रपत्रिकामा भ्रष्टाचारको समाचार प्रकाशन भएपछि उनी सबै कर्मचारीलाई शंकाको दृष्टिले हेर्ने गरेको र पत्ता लगाएपछि जागिरबाट हटाइदिने धम्की दिँदै आएका पीडित कर्मचारीले बताए । ती कर्मचारीका अनुसार प्रशासक अमात्य आफूलाई अख्तियारले यसअघि नै तानिसकेको र अख्तियारले आफ्नो रौँसमेत हल्लाउन नसक्ने बताउने गर्दछन्, प्रशासक अमात्य अख्तियारले कागज हेर्ने हो त्यो कसरी मिलाउनुपर्छ, मलाई थाहा छ, मेरो भ्रष्टाचारको प्रमाण पाउनु र स्यालको सिङ पाउनु एउटै हो भन्दै धम्काउँदै उनको विरुद्ध लाग्ने कर्मचारीले छिट्टै सेवाबाट हात धुनुपर्ने बताउँदै आएको स्रोत बताउँछ ।

प्रतिक्रियाहरु