भारतमा नेपालको झन्डा जलाउनेहरूलाई सख्त कारबाही गर्न माग

२०७७ असार ६ गते, शनिबार

काठमाडौँ , ६ असार । प्रवासी नेपाली जनसमाज, भारतका अध्यक्ष आजाद सेन थापाले प्रेस विज्ञप्ति जारी गर्दै भारतमा नेपालको झन्डा जलाउने जातीय राजनीतिक सङ्गठन अल इन्डिया मजलिस–इ–इत्तेहादुल मुस्लिमिन प्रतापगढ जिल्लाको अध्यक्ष इसरार अहमद र उक्त सङ्गठनमा आबद्ध व्यक्तिहरूलाई सख्त कारबाही गर्न माग गरेका छन् । नेपालको संसद्ले भारतले मिचेका भूमि समेटेर नयाँ नक्सा पारित गरेको सन्दर्भ उठाउँदै थापाले नयाँ नक्सा पास गर्ने कार्यले मात्र नेपाली भूमि फिर्ता नहुने र त्यसका लागि यथाशीघ्र कूटनीतिक र राजनीतिक पहल गर्न पनि नेपाल सरकारसँग जोडदार माग गरेका छन् ।
अध्यक्ष थापाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘भारतले विगत ५८ वर्षदेखि नेपाली भूमि कालापानी, लिम्पियाधुरादेखि लिपुलेकसम्मको सबै नेपाली भूभागलाई आफ्नो कब्जामा राख्दै आएको थियो भने नोभेम्बर २०१९ मा आफ्नो देशको नयाँ नक्सामा गाभेर प्रकाशन गर्यो र त्यसलाई निरन्तरता दिँदै ८ मई २०२० का दिन नेपाली भूभाग गुञ्जी र लिपुलेक हुँदै धार्चुला–तिब्बतको मानसरोवर जोड्ने सडकको भिडियो कन्फरेन्समार्फत उद्घाटन गरेको थियो । त्यसका विरुद्ध नेपाल र संसारभरका नेपाली देशभक्त जनता, विज्ञ, बुद्धिजीवी, सञ्चार मिडिया र क्रान्तिकारी शक्तिहरूको निरन्तर सङ्घर्ष र जनदबाबका कारण केपी वली सरकार ३१ जेठ २०७७ मा प्रतिनिधिसभा र ४ असार २०७७ मा राष्ट्रिय सभाबाट उक्त भूभाग समेटिएको नयाँ नक्सा संसदबाट पास गर्न बाध्य भएको छ ।’
विज्ञप्तिमा अगाडि भनिएको छ, ‘संसदकाे यो निर्णय सार्वभौमसत्ता र राष्ट्रिय स्वाधीनताका हितमा भएकाले प्रवासी नेपाली जनसमाज भारत यो निर्णयको स्वागत गर्दछ । साथै नयाँ नक्सा पास गर्ने कार्यले मात्र नेपाली भूमि फिर्ता हुँदैन । त्यसका लागि यथाशीघ्र कूटनीतिक र राजनीतिक पहल गर्न नेपाल सरकारसँग जोडदार माग गर्दछ ।’
विज्ञप्तिमा भनिएको छ, ‘नेपालले आफ्नो नयाँ नक्सा संशोधन विधेयक संसदमा पेस गरेदेखि नै भारतका दलाल मिडियाहरूले त्यसका विरुद्ध तथ्यहीन कुप्रचार गर्नेदेखि दुवै देशका जनतालाई एकअर्काका विरुद्ध उचालेर परिस्थितिलाई जटिल बनाउने मात्र होइन, नेपालले त्यो विधेयक फिता नगरे युद्धका लागि तयार रहन धम्कीसमेत दिएको देखियो । यसले के बुझ्न सकिन्छ भने भारतसँग ठोस प्रमाणहरू नभएकाले आफ्ना दलाल मिडियालाई प्रयोग गरेर नेपाललाई तर्साउने रणनीति रहेको थियो । यस्ता दलाल मिडियाहरूको रबैयाप्रति हाम्रो सङ्गठन घोर आपत्ति, विरोध र भत्र्सना गर्दछ । भारतीय मिडिया मात्र होइन, भारतमा कथित जातीय राजनीति गर्ने अल इन्डिया मजलिस–इ–इत्तेहादुल मुस्लिमिन (All India Majlis-e-lttehadul Muslimeen) सङ्गठनको प्रतापगढ जिल्लाको अध्यक्ष इसरार अहमदको नेतृत्वमा नेपाली झन्डा जलाउने र नेपाललाई आर्थिक नाकाबन्दी गर्नुपर्नेलगायत अभिव्यक्तिप्रति हाम्रो सङ्गठन घोर विरोध र भत्र्सना गर्दछ । त्यस सङ्गठनको केन्द्रीय नीति नै नेपाली झन्डा जलाउने हो भने त्यसको परिणामका लागि तयार रहन हामी उक्त सङ्गठनलाई चेतावनी दिन चाहन्छौँ । होइन भने केन्द्रीय समितिले उचित जबाफसहित त्यस्ता अराजकहरूलाई कारबाही गर्न माग गर्दछौँ ।’
विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘यस्ता गतिविधिले नेपाल–भारतबीचको सीमा समस्याको सामाधान होइन, समस्यालाई अरू जटिल बनाउने हुँदा यस्ता सङ्गठन, मिडिया र व्यक्तिहरूलाई यथाशीघ्र कारबाही गर्न भारत सरकारसँग हाम्रो सङ्गठन माग गर्दछ । समस्याको सामाधान वार्ता र संवादले नै हुने भएकाले दुवै देशका सरकारहरू यसमा गम्भीर भई छिटोभन्दा छिटो निकास निकाल्न अनुरोध गर्दछौँ र नेपाल र भारतका बुद्धिजीवी, विज्ञ, पत्रकार, सञ्चार मिडिया र आमजनसमुदायमा सिमानाजस्तो संवेदनशील विषयलाई अतिरञ्जित र उत्तेजक नबनाउन विशेष अनुरोध गर्दछौँ ।’

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु