प्रवासी नेपाली जनसमाज भारतद्वारा एमसीसीको कडा विरोध

२०७६ माघ २९ गते, बुधबार

काठमाडौँ, २९ माघ । प्रवासी नेपाली जनसमाज भारत केन्द्रीय समितिले अमेरिकाले नेपालमा लाद्न खोजेको एमसीसीको कडा शब्दमा विरोध गरेको छ । जनसमाजका दोस्रो राष्ट्रिय सम्मेलन आयोजक समितिका संयोजक आजाद सेन थापाले प्रेस विज्ञप्ति जारी गर्दै एमसीसीको विरोध गरेका हुन् । उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो माभृभूमि नेपाल भौगोलिक हिसाबले सानो मुलुक भए पनि प्राकृतिक स्रोत र साधन प्रचुर मात्रामा रहेको छ । यसका साथै चीन र भारतका बीचको भूराजनीतिक अवस्थितिले सामारिक हिसाबले पनि यो अत्यन्त महत्वपूर्ण क्षेत्र बन्न पुगेको छ । अमेरिकी साम्राज्यवादले नेपालमा रहेको युरेनियम भण्डार कब्जा गर्ने, भारतीय शासक वर्गलाई साथमा लिने र चीनलाई घेरा हाल्ने गरी दक्षिणएसियामा आफ्नो फौजी अखडा कायम गर्ने उद्देश्यका साथ हिन्द–प्रशान्त रणनीति अगाडि बढाउँदै आएको छ । त्यसका लागि नेपाली भूमि उसका लागि महत्वपूर्ण बन्न गएको छ ।’
विज्ञप्तिमा अगाडि भनिएको छ, ‘कमिसनमा बाँचेका नेपालका संसदीय व्यवस्थाका सञ्चालकहरूलाई खरिद गरी आर्थिक विकासका पूर्वाधार निर्माणको आवरणमा ठूलो धनराशि खर्च गर्ने लोभ देखाएर हिन्द–प्रशान्त रणनीतिको अङ्गका रूपमा मिलिनियम च्यालेन्ज कर्पोरेसन अर्थात् एमसीसी नामको संस्था खडा गरी नेपालमा आफ्नो फौजी अखडा स्थापना गर्ने उद्देश्यका साथ अगाडि बढिरहेको छ ।’ विज्ञप्तिमा चेतावनी दिँदै भनिएको छ, ‘उपरोक्त आयोजनालाई संसद्बाट पारित गराउन साम्राज्यवादी दलालहरू न्वारानदेखिको बल लगाइरहेका छन् । तर त्यस राष्ट्रघाती सम्झौताका विरुद्ध नेपाल कम्युनिस्ट पार्टीलगायत क्रान्तिकारी शक्तिहरू, स्वभिमानी, सचेत र देशभक्त नागरिकहरू आन्दोलित भइरहेका छन् । हाम्रो सङ्गठन प्रवासी नेपाली जनसमाज भारत उक्त न्यायपूर्ण आन्दोलनमा ऐक्यबद्धता जाहेर गर्दछ र अमेरिकी सरकारसँग नेपालको सार्वभौम अधिकार खण्डित गर्ने गरी र असंलग्न परराष्ट्र नीतिविपरीत लादिएको उक्त एमसीसी सम्झौता खारेज गर्न जोडदार माग गर्दछ । नेपालको संसद्मा रहेका देशभक्तहरूलाई उक्त राष्ट्रघाती सम्झौता पारित नगर्नसमेत अपिल गर्दछ ।’

प्रतिक्रियाहरु