प्रलेसलाई सांस्कृतिक मोर्चाको ३१ बुँदे सुझावपत्र

२०७२ माघ १२ गते, मंगलवार

काठमाडौं । नेकपा माओवादी निकट अखिल नेपाल जनसांस्कृतिक महासङ्घले प्रगतिशील लेखक सङ्घलाई ३१ बुँदे सुझावपत्र बुझाएको छ । महासङ्घले प्रगतिशील लेखक सङ्घ (प्रलेस) सामन्तवाद, साम्राज्यवाद, विस्तारवाद तथा प्रभुत्ववादविरोधी स्रष्टाहरूको साझा मोर्चा भएको बताएको छ ।
‘प्रगतिशील स्रष्टाहरूलाई सङ्गठित गर्नु, उनीहरूको प्रतिभाको परिष्कारका निम्ति वातावरण निर्माण गर्नु, उनीहरूलाई प्रेरित र प्रोत्साहित गर्नुु, वैचारिक रूपले माझ्नु र परिचालित गर्नु, सङ्गठनलाई बलियो बनाउनु र परिवर्तनका निम्ति सर्जकीय हस्तक्षेपसहित सङ्घर्षमा ओर्लनु अहिलेको आवस्यकता हो’ सुझावपत्रमा उल्लेख गरिएको छ ।
कला साहित्यका क्षेत्रमा वैज्ञानिक चेतनाले सुसज्जित समाजवादी यथार्थवादी धाराको प्रतिनिधित्व गर्ने साङ्गठनिक रूपमा प्रतिबद्ध सर्जकहरूको प्रलेस साझा मञ्च भएको बताएको छ । ‘इतिहासको एउटा कालखण्डमा एउटा आवश्यकताका आधारमा निर्मित प्रगतिशील लेखक सङ्घ आजको वर्गसङ्घर्षको जटिल अवस्था एवम् नेपालको सार्वभौमिकता अत्यन्त सङ्कटपूर्ण अवस्थामा रहेको बेला अब दै परम्परागत ढाँचाले प्रलेसले ऐतिहासिक जिम्मेवारी पूरा गर्न कठीन छ’ सुझावपत्रमा उल्लेख छ ।
महासङ्घका केन्द्रीय कार्यालय सदस्य खेम थपलियाको नेतृत्वमा कार्यालय सदस्यहरू कुशल बोगटी र विवेक सापकोटाले बुझाएको सुझावपत्र अखिल नेपाल जनसांस्कृतिक महासङ्घ, केन्द्रीय समितिका संयाजक एवम् नेपाल कम्युनिस्ट पार्टी माओवादीका केन्द्रीय सदस्य माइला लामाले सुझावपत्रमा हस्ताक्षर गरेका छन् ।
सो ३१ बुँदे सुझावपत्रको बोधार्थ पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेत्रविक्रम चन्द ‘विप्लव, मोहन वैद्य ‘किरण’, केपी शर्मा ओली र मणि थापालाई समेत दिइएको छ ।
वि. सं. २००९ सालमा प्रगतिशील लेखकहरुको साझा संगठनको रुपमा प्रलेसको गठन भएको हो।

प्रतिक्रियाहरु