प्रलेसको ‘रूपान्तरणका लागि कविता’

२०७५ मंसिर २३ गते, आईतवार

काठमाडौं , २३ मंसिर । देश, वर्तमान सरकार तथा नेपाली समाजको समसामयिक विषयमा प्रगतिशील कविहरूले आ–आफ्ना कविताका स्वरहरू बुलन्द गरेका छन् । प्रगतिशील लेखक सङ्घ, नेपालको ३ नं. प्रादेशिक समितिको आयोजनामा भएको ‘रूपान्तरणका कविता’ विशेष कविगोष्ठीमा प्रगतिशील कविहरूले आ–आफ्ना कविताका स्वर बुलन्द गरेका हुन् ।
कार्यकायक्रम प्रमुख अतिथि हुनुहुन्थ्यो— कवि, समालोचक तथा प्रलेसका केन्द्रीय सल्लाहकार डा. हेमनाथ पौडेल । उहाँले सो कार्यक्रममा वाचित कविताहरूको समीक्षा गर्दै वाचित कविताहरू निकै सशक्त र सुन्दर भएको बताए । साथै, प्रमुख अतिथिको रूपमा बोल्दै उहाँले प्रगतिवादी कविहरूमा आलोचनाको स्वर हुनैपर्ने कुरामा जोड दिएका थिए । आलोचनात्मक स्वर भएका स्रष्टाहरूले प्रलेसजस्ता संस्थाको रक्षा हुने कुरामा पनि उनको जोड थियो ।
प्रलेस ३ द्वारा आयोजित ‘रूपान्तरणका लागि कविता’ कार्यक्रममा राजनीतिक विशलेषक तथा बुद्धिजीवी नरेन्द्रजंग पिटरले आजका कविका कविताहरू तोप बन्न सक्नुपर्ने कुरामा जोड दिंदै कविताजस्तै कविका जीवन हुनुपर्ने कुरामा जोड दिए । प्रगतिशील लेखक सङ्घका महासचिव आरएम डङ्गोलले प्रलेसको गतिविधिमाथि सङ्क्षिप्त प्रकाश पार्दै प्रलेस निरन्तर अग्रगामीमा दिशामा नै हिंडिरहेको कुरा बताए ।
‘रूपान्तरणका लािग कविता’ कार्यक्रममा बलराम तिमिल्सना, आनन्दराम पौडेल, पुण्य गौतम, शोभा दुलाल, राममणि पोखरेल, कृष्णहरि भट्ट, चिरञ्जीवी ढकालसमेतको आतिथ्यता रहेको काठमाडौंको अनामनगरमा अवस्थित ‘रूपान्तरणका लागि कविता’ स्रष्टा–द्रष्टाद्वारा खचाखच भरिएको उक्त कार्यक्रममा अशोक कुँवर ‘नेत्र’, संगीता पनेरु, कौशिला रिसाल, छायादत्त न्यौपाने, मिसन अधिकारी, गौरी देवकोटा, युवराज नास्तिक, ढुण्डीराज अधिकारी, भीम क्षेत्री, सुमनराज श्रेष्ठ, केबी गाउँले, कृष्णहरि भट्ट, मनोहर लामिछाने, पुण्य गौतम ‘विश्वास, आनन्दराम पौडेल, शोभा दुलाल,, बलराम तिमिल्सना, प्रेमिला राई, मुक्तान थेवा, गोविन्द आचार्य, मनु विक, बिन्दु अधिकारी ढकाल, शेखर अर्याल, धनबहादुर मगर, वीरेन्द्र लोहार, नीलिमा पुन, आरएम डङ्गोल, आरसी न्यौपानेलगायत कविहरूले आ–आफ्ना सशक्त कविता वाचन गरेका थिए ।
‘रूपान्तरणका लािग कविता’ कार्यक्रमको अध्यक्षता प्रगतिशील लेखक सङ्घका केन्द्रीय उपाध्यक्ष तथा ३ नं. प्रादेशिक समितिका इन्चार्ज एवम् संयोजक खेम थपलियाले गरेका थिए भने सञ्चालन आरसी न्यौपानेले गरेका थिए ।

प्रतिक्रियाहरु