प्रधानमन्त्री र गृहमन्त्रीबीच खटपट

२०७१ चैत्र ४ गते, बुधबार

काठमाडौ, ४ चैत । प्रधानमन्त्री सुशील कोइराला र गृहमन्त्री बामदेव गौतमबीच खटपट भएको छ । गृहमन्त्रालयले गरेको मोरङका प्रमुख जिल्ला अधिकारीको सरुवा प्रधानमन्त्री सुशील कोइरालाले २४ घण्टा नपुग्दै उल्टाइ दिएपछि प्रधानमन्त्री र गृहमन्त्रीबीच खटपट सुरु भएको हो । गृहमन्त्रालयले हिजो मोरङका प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीलाई मकवानपुर सरुवा गर्ने निर्णय गरेको थियो । प्रधानमन्त्रीले आज गृहमन्त्रीसँग गम्भीर आपत्ति जनाउँदै कार्कीलाई सरुवा गर्ने निर्णय फिर्ता गराइएको हो । कार्की मोरङबाट नहटेपछि उदयपुरबाट मोरङ सरुवा गरिएका रामप्रसाद थपलिया अब मकवानपुरको प्रजिअ बन्ने भएका छन् ।
मोरङका प्रजिअ कार्की ओखलढुंगाका कांग्रेस नेता बाबुराजा कार्कीका छोरा हुन् । गृहमन्त्रालयले हिजो २८ जना सहसचिवहरुको सरुवा र पदस्थापन गर्ने निर्णय गरेको हो ।
अन्य जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हेरफेर गरिएका छन् । गृहमन्त्रालयले सहसचिव कृष्ण प्रसाद देवकोटालाई गृह मन्त्रालयमै पदस्थापन गरेको छ । मेघनाथ काफ्लेलाई पदस्थापन गरी अध्यागमनको प्रमुख बनाइएको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडीलाई कारागार व्यवस्था विभागको महानिर्देशकमा ल्याइएको छ । डोटीका सीडीओ लोकनाथ पौडेललाई सरुवा गरेर दाङको सीडीओ बनाइएको छ ।
दाङका सीडीओ पर्शुराम आचार्यलाई क्षेत्रीय प्रशासन कार्यालय सुर्खेतको क्षेत्रीय सह प्रशासक बनाइएको छ । सहसचिव मनोहरप्रसाद खनाललाई पदस्थापन गरी डोटीको प्रजिअ बनाइएको छ ।

प्रतिक्रियाहरु