प्रधानमन्त्री ताक्दै प्रचण्ड

२०७३ बैशाख २२ गते, बुधबार

काठमाडौं, २२ वैशाख । एकीकृत नेकपा माओवादीले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास लाजिम्पाटमा बुधबार बसेको पदाधिकारी बैठकले प्रचण्डको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने औपचारिक निर्णय गरेको छ । बैठकले नेपाली कांग्रेस, नेकपा एमाले, राप्रपा नेपाल, मधेसी दललगायत सबै दललाई एकीकृत माओवादी नेतृत्वमा गठन हुने सहमतिको सरकारमा सहभागी हुन अपीलसमेत गरेको छ । बैठकपछि एकीकृत माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नेकपा एमाले नेतृत्वको सरकारले संविधान कार्यान्वयन, शान्ति प्रक्रिया, र पुनर्निर्माणलगायतका विषयमा ठोस काम गर्न नसकेकाले दाहालको नेतृत्वमा सहमतीय सरकार गठन गर्ने निर्णय भएको जानकारी दिए ।
बैठकले राष्ट्रिय स्वाधिनता, संविधानको कार्यान्वयन, पुनर्निर्माणलगायतका विषयमा केपी ओली नेतृत्वको सरकारले राम्रो काम गर्न नसकेको ठहर गरेको छ । उपाध्यक्ष श्रेष्ठले नेपाली कांग्रेसले एकीकृत माओवादीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन प्रस्ताव गरेको जानकारी दिँदै यसमा अन्य दलहरुलाई पनि आग्रह गरिएको बताए । बैठकपछि अध्यक्ष दाहालले विज्ञप्ति जारी गरी सबै दललाई आफ्नो नेतृत्वमा गठन गरिने राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुन अपील गरेका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु