प्रधानमन्त्री ज्यु – बलराम तिमल्सिना

२०७५ कार्तिक २५ गते, आईतवार

प्रधानमन्त्री ज्यु !
छुकछुक छुकछुक
छुकछुक छुकछुक
आहा !
छुकछुकाउँदै गुड्ने रेल
कम्तिको मजाको हुँदैन होला !
तर प्रधानमन्त्री ज्यु ,
त्यो छुकछुके रेलमा
मैले के बेच्न लैजाने होला –
गरिवी
वेरोजगारी
या यही मेरो वैंश ?
त्यो छुकछुके रेल चढेर
म कुन देश घुम्न जाने होला ?
म दोधारमा छु
मैले त्यो रेल के गर्ने होला ?

दक्षिणबाट गोलभेडा आउला
मेरै बारीको गोलभेडा रुने होला
उत्तरबाट स्याउ आउला
मेरै लेकको स्याउ कुहुने होला
त्यो छुकछुके रेल
दुख बोकेर आउने होला
र सुख बोकेर जाने होला
ऋण बोकेर आउने होला
र धन बोकेर जाने होला
क्रुरता र कुरुपता बोकेर आउँने होला
र हाम्रा सुन्दरता लिएर जाने होला
प्रधान मन्त्री ज्यु
त्यो रेलमा साँच्चि को चढ्ने होला ?

प्रधानमन्त्री ज्यु ,
छुकछुके रेल मात्र कहाँ आउला र
गल्लावालहरू आउलान
र हाम्रा छात्ती नाप्ने होलान
हामी के हेरेर बस्ने होला ?
व्यापारीहरू आउलान
सामानहरू थुपार्लान
हामीले के बेचेर किन्ने होला ?
पर्यटकहरू आउलान
र नेपाल हेर्न खोज्लान
यो मगन्ते अनुहारको नेपाल
हामीले कसरी देखाउँने होला ?

रेल आउनु वेखुसीको कुरा हैन
तर त्योभन्दा पहिला
खुसी हुनु पर्ने अरु नै कुरा छन
ती खुसीहरू बन्धकी राखेर
रेलको रमिता हेर्न
पटक्कै मन छैन, के गर्ने होला ?

म समृध्दि विरोधी होइन
एकदमै होइन प्रधानमन्त्री ज्यु
तर तपाईको समृध्दिको अनुहार
किन ठ्याक्कै अम्रिकाने छ ?
मलाई समृध्दिको अनुहार हेरेर
असाध्यै डर लागिरहेको छ !

ए साँच्चि , झण्डै भुलेछु
हजुरलाई एउटा प्रश्न सोध्नु थियो
त्यो तपाईले भनेको समृध्दि
यही एक थान देश बेचेर ल्याउँने त हैन ?

किन,
तपाईको अनुहार विचौलिया जस्तो देखिन्छ ?

प्रतिक्रियाहरु