‘सुमार्गीको पैसा किन रोकियो ?’

२०७३ भाद्र ९ गते, बिहीबार

काठमाडौ , ९ भदौ । लामो समयदेखि रोकिएको व्यापारी अजेय सुमार्गीले विदेशबाट ल्याउन खोजेको रकमबारे प्रधानमन्त्री पुष्पकमल दाहालले चासो देखाएका छन् । उनले अर्थ मन्त्रालय र राष्ट्र बैंकका उच्च अधिकारीहरूको समूहिक बैठक आयोजना गरी रोकिएको रकमबारे सोधखोज गरेका हुन् । दाहालले सबै अधिकारीको धारणा बुझे पनि कुनै पनि निकायलाई केही निर्देशन दिएका छैनन् ।
‘कार्यालय समयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रधानमन्त्रीसँग गतसाता छलफल भएको हो,’ बैठकमा सहभागी एक अधिकारीले भने । ती अधिकारीका अनुसार बैठकमा राष्ट्र बैंकका गभर्नर चिरञ्जिवि नेपाल, राजश्व सचिव राजन खनाल, प्रधानमन्त्री कार्यालयका दुई सचिव, अर्थ र प्रधानमन्त्री कार्यालयका केही सह-सचिवहरू र राष्ट्र बैंकका अन्य अधिकारीहरू सहभागी थिए । बैठकमा दाहालले सरकारी अधिकारीसँग रकम रोकिनुको कारण, कानुनी व्यवस्था लगायतका विषयमा जानकारी लिएका थिए । दाहाल निकटकै व्यापारी सुमार्गीले प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) का रूपमा नेपाल ल्याउन लागिएको ११ अर्ब रूपैयाँ रोकिएको छ । – कान्तिपुर दैनिकबाट

प्रतिक्रियाहरु