प्रधानमन्त्रीद्वारा पूर्व-प्रधानमन्त्रीहरुको बैठक आव्हान

२०७६ आश्विन २३ गते, बिहीबार

काठमाडौं, २३ असाेज । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान ९ बजे पूर्वप्रधानमन्त्रीहरुको बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले पूर्वप्रधानमन्त्रीको हैसियतमा नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख विपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवा, डा बाबुराम भट्टराई, माधवकुमार नेपाल, झलनाथ खनाल र लोकेन्द्रबहादुर चन्दलगायतलाई बोलाइएको बताइएको छ । शनिबार नेपाल भ्रमणमा आउन लागेका चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमणबारे छलफल गर्न प्रधानमन्त्रीले पूर्वप्रधानमन्त्रीहरुसँग छलफल राखेका हुन् ।
नेपालमा २३ वर्षपछि चिनियाँ राष्ट्रपतिको तर्फबाट हुन लागेको उच्चस्तरीय भ्रमणलाई प्रभावकारी बनाउन तथा सो क्रममा हुने सम्झौताका विषयबारे छलफल पूर्वप्रधानमन्त्रीहरुलाई बोलाइएको बालुवाटार स्रोतले जानकारी दियो । यो बैठक विगतकै प्रचलनको निरन्तरता हो । कुनै उच्चस्तरीय राजकीय भ्रमणका वेला केकसरी व्यवस्थापन गर्ने र कसरी प्रस्तुत हुने भन्नेबारे धारणा माग्न पूर्वप्रधानमन्त्रीहरूसँग सल्लाह, छलफल गर्ने प्रचलन रहिआएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु