प्रधानमन्त्रीको आपत्तिजनक अभिव्यक्ति

२०७६ असार १ गते, आईतवार

प्रधानमन्त्री केपी ओली आफ्नै बोलीका कारण कैयौँ पटक बद्नाम भइसकेका छन् । उनको बोलीलाई लिएर कवि, कलाकार, पत्रकार, उद्योगीलगायत सचेत बुद्धिजीवि र आमसचेत नागरिकले आपत्ति जनाएका छन् र जनाइरहेका छन् । यसैबीच फ्रान्सको शयरमा रहेका प्रधानमन्त्री ओलीले त्यहाँ दिएको अभिव्यक्तिले आमसचेत नागरिकलाई झस्काइदिएको छ । जसको अहिले सामाजिक सञ्जाललगायत विभिन्न सञ्चार माध्यमा विरोधका स्वर गुञ्जिरहेका छन् । फ्रान्समा रहेका ओलीले देशमा वास्तविक गणतन्त्र चाहिन्छ भन्दै शान्तिपूर्णरुपमा संघर्ष गर्दै आएको पार्टी र उसका नेतालाई सिध्याउने उद्घोष गरेपछि ओलीविरुद्ध आमसचेत नागरिकले चिन्ता प्रकट गरेका छन् । ओलीले नेपाल कम्युनिस्ट पार्टी सिध्याउने र उसका नेतालाई गोञ्जालो बनाउने उद्घोष गरेपछि अहिले आमबहसको विषय बनेको छ । एउटा क्रान्तिकारी पार्टी र उसका नेतालाई गोञ्जालो बनाउँछु भन्ने ओलीको अभिव्यक्तिले चौतर्फी विरोध भइरहेको छ, राष्ट्रियता र जनजीविका धरापमा परेको छ । तर, सरकार नजरअन्दाज गरेर बसेको छ । राष्ट्रहित र जनहित विपरीत बेलगाम दौडिरहेको सरकारलाई औँला ठड्याउने नेकपा र उसका नेता विप्लवलाई गोञ्जालो बनाउने अभिव्यक्तिले प्रधानमन्त्री ओली देशमा निरंकुशता लाद्न तत्पर छन् भन्ने पुष्टि हुन्छ । सरकारले नारामा मात्र ठूलाठूला कुरा गरेर हुँदैन व्यवहारमा लागू गर्नुपर्छ । यदि साँच्चै सरकारले राष्ट्रहित र जनहितको कार्य गरेको छ भने नेपाल कम्युनिस्ट पार्टीका नेताजस्तो जनतामाझ गएर देखाउनु सत्यतथ्य आफैँ पुष्टि हुन्छ । बन्दुकको घेराभित्र बसेर बन्दुक देखाएर तर्साएर गरिएको राजनीति आजका सचेत नेपाली नागरिकलाई पाच्य हुने विषय होइन । सरकार र सत्तासीन दलले राम्ररी बुझे हुन्छ । राष्ट्र र जनताको पक्षमा राष्ट्र र जनताकै माझमा बसेर संघर्षरत पार्टी र उसका नेतालाई गोञ्जालो बनाउने प्रधानमन्त्रीको सपना सपनामै सीमित हुन्छ । किनकि राष्ट्र र जनताको पक्षमा लड्ने पार्टी र नेताको पतन भएको इतिहास कतै छैन बरु राष्ट्रहित र जनहितका पक्षमा ज्यान हत्केलामा लिएर लड्ने र संघर्ष गर्ने नेता र पार्टीविरुद्ध जाँदा कैयौँ सरकार र सत्तासीन पार्टी ध्वस्त भएका छन् । त्यसैले एउटा क्रान्तिकारी पार्टी र उसका नेताविरुद्ध दिएको अभिव्यक्ति प्रधानमन्त्री स्वयम् र सत्तासीन पार्टीका लागि आत्मघाती ठहर्न सक्छ । देश र जनताको पक्षमा लडिरहेको नेपाल कम्युनिष्ट पार्टी र उसका नेताविरुद्धको अभिव्यक्ति नेपाली जनतालाई कुनै हालतमा सैह्य हुँदैन । यस्ता अभिव्यक्ति सरकार र सत्तासीन पार्टीलाई महँगो पर्न सक्छ, चेतना भया ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु