प्रधानमन्त्रीको अनुनय , यस्तो बेला साथ दिनुहोस

२०७२ मंसिर ७ गते, सोमबार

काठमाडौं, ७ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसलगायतका दललाई समस्या समाधानका लागि सरकारलाई साथ दिन आग्रह गरेका छन् । गएराति प्रधानमन्त्री निवास बालुवाटारमा प्रतिपक्षी तथा सत्तारुढ दलको बैठकमा प्रधानमन्त्री ओलीले मुलुक विषम परिस्थितिबाट गुज्रिरहेकाले सबैले मिलेर समस्या समाधान गर्नुपर्ने भन्दै उनले यस्तो अनुनय गरेका हुन् ।
मुलुकमा देखिएको समस्या कुनै पार्टी विशेषको समस्या नभै सिँगो देशको साझा समस्या भएकाले यसलाई मिलेरै समाधान गर्नुपर्ने उनको भनाइ छ ।
बैठकमा सहभागी उपप्रधानमन्त्री कमल थापाका अनुसार बैठकमा मधेश आन्दोलन, आपूर्ति अवरोधलगायतका विषयमा छलफल भएको र प्रधानमन्त्रीले समस्या समाधानका लागि सबै दलसँग ठोस धारणा मागेका थिए ।
बैठकमा नाकाबन्दी, तराई आन्दोलनलगायतका विषयलाई वार्ताको माध्यमबाटै समाधान गर्ने भन्दै सत्तारुढ र विपक्षी दलबीच निरन्तर छलफल गर्ने सहमति भएको छ । मंगलबारदेखि नै संसदमा रहेका प्रमुख दलका शिर्ष नेताहरुबीच यी विषयमा गम्भीर ढंगले छलफल गर्ने सहमति पनि बालुवाटारमा बसेको छलफलमा भएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु