प्रतिवाद – बलराम तिमल्सिना

२०७५ बैशाख १३ गते, बिहीबार

तिमी भन्छौ-
मार्क्सवाद पुरानो भयो
तर कहिलै भन्दैनौ –
वेद पुरानो भयो ,
समय गणनाको यो
कुन विधि हो मित्र ?

तिमी भन्छौ –
लेनिनवाद बुढो भयो
तर कहिलै भन्दैनौ-
सामाज्यवाद थला पर्यो
बुढ्यौली नाप्ने तिम्रो
यो कुन यन्त्र हो साथी ?

तिमी भन्छौ –
अव बन्दुकले सत्ता ल्याउँछु भन्नु
हाँस्यास्पद हो , मूर्खता हो
तर कहिलै भन्दैनौ-
फलानो दिनबाट राज्यले
सवै वन्दुकहरू समुद्रमा फाल्ने छ
कहिलै भन्दैनौ –
फलानो दिनबाट
सवै अणुवमहरू निस्कृय पारिने छ
यो तिम्रो कुन खाले विश्लेषण हो यार ?

तिमी भन्छौ-
यो विद्रोह , यो क्रान्ति
यो पार्टी र यो समाजवादको गफ
यी सवै वाहियात हुन !
तर कहिलै घोषणा गर्दैनौ-
-हामी भोकलाई समाप्त गर्छौं
– हामी युध्दलाई समाप्त गर्छौं
– यो धनी र गरिव हुने परिपाटी
हामी हाम्रै हातले अन्त गर्छौं !

तिमी भोक थपिरहने
तिमी बम र बन्दुकहरू थपिरहने
तिमी युध्दहरू जन्माइरहने
अनि हामीले मात्र तिम्रो आदेश
खुरु खुरु मानिरहनु पर्छ भन्ने
कुन शास्त्रमा छ महोदय ?

पहिला बन्दुक बोक्ने तिमी हो
पहिला गोली ठोक्ने तिमी हो
युध्दको पहिलो ऐलान
तिम्रै मुखबाट भएको हो
संसारभरीका सवै हतियार कारखानाहरू
केवल तिम्रै हुन तिम्रै
आणविक वमको ओछ्यानमा सुतेर
हामी निमुखाहरूमाथि
यो अश्लिल आदेश गर्न
हल्का लाज लाग्दैन तिमीलाई ?

प्रतिक्रियाहरु