प्रतापपुर मन्दिर पुरानै स्वरुपमा बन्ने

२०७३ माघ ४ गते, मंगलवार

काठमाडौं, ४ माघ । पुरातत्व विभागले स्वयम्भू महाचैत्य अगाडि रहेको प्रतापपुर मन्दिर भत्काएको छ । गत वर्षको भूकम्पका कारण सो मन्दिरको विभिन्न भाग चर्किएर ठूलो क्षति भई त्यसबाट जोखिम बढेपछि सो मन्दिर करिब पाँच महिनाको समयअवधिमा भत्काइएको हो । विभागअन्तर्गत इन्जिनियरिङ शाखा प्रमुख सम्पत घिमिरेका अनुसार सो मन्दिर कुनै पनि बेलामा पल्टेर त्यहाँ दर्शन गर्न आउने तथा हिँड्डुल गर्नेका लागि खतरा बढेसँगै भत्काउनु परेको हो । उनले पुरानै स्वरुप कायम हुने गरी भूकम्प प्रतिरोधी मन्दिरका रुपमा त्यसलाई विकास गर्ने जानकारी दिए । विश्व सम्पदा सूचीमा सूचीकृत त्यस क्षेत्रका चैत्य तथा प्राचीन महत्वका अन्य सम्पदा जीर्णोद्धारका लागि पुरातत्व विभाग र स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले अध्ययन गरिरहेको महासमितिका महासचिव महेन्द्ररत्न बुद्धाचार्यले जानकारी दिए ।
यसैबीच, त्यस क्षेत्रको संरक्षणका लागि क्रियाशील संस्थाका रुपमा स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले स्वयम्भूको शान्ति पोखरी अगाडि रहेको चैत्यको जीर्णोद्धार सम्पन्न गरेको छ । चैत्यको गोलार्द्धका विभिन्न भागमा चिरा परेको छ भने त्रयोदश भूवनका चक्का भत्कने स्थितिमा पुगेका थिए ।
सो चैत्यको जीर्णोद्धारका लागि विभागले अनुमति दिएपछि नयाँ प्रविधिको प्रयोग गरी महासमितिले मर्मतसम्भार पूरा गरेको जनाएको छ । स्वयम्भू महाचैत्यदेखि करिब एक किलोमिटरको दूरीमा रहेको सो चैत्य निकै पुरानो मानिन्छ ।- रासस

प्रतिक्रियाहरु