प्रणय दिवसका लागि एक लाख गुलाफ ल्याइँदै

२०७२ माघ २५ गते, सोमबार

काठमाडौं, २५ माघ । फ्लोरीकल्चर एसोसिएसनका अध्यक्ष लोकनाथ गैरेले प्रणय दिवसको लागि भारतबाट एक लाख वटा गुलाफको फूल आयात गरिने बताएका छन । उनले भारतवाट आयात गर्न लागिएको एक लाख फूलको मूल्य ३० लाखदेखि ४० लाख रुपैयाँ पर्ने बताए । अंग्रजी महिनाको फेबु्रअरी १४ तारीखको दिन प्रेमी पे्रमीकाले उपहारको रुपमा रातो गुलाफ आदान प्रदान गर्ने गर्दछन् । अहिले नेपालमा रातो गुलाफ दैनिक पाँच हजारदेखि सात हजार वटा आवश्यक पर्ने बताइएको छ । गर्मीको समयमा स्वदेशी उत्पादनले र जाडोको समयमा भारतबाट आयात गरी गुलाफको माग पूरा गर्ने गरिएको छ ।
गएको वर्ष पनि प्रणय दिवसका लागि भारतबाट एक लाख वटा रातो गुलाफ ल्याइएको थियो । वर्षेनि आयात कम गर्ने भनिए पनि भूकम्पका कारण यसवर्ष फूलखेती त्यति फस्टाउन नसकेकाले गएको वर्षको जतिनै फूल आयात गर्नु परेको अध्यक्ष गैरेले बताए ।
नेपालमा वार्षिक चार करोड रुपैयाँ बराबरको फूलको आयात हुँदै आएको छ । विदेशबाट आयत गरिएको र स्वदेशमा नै उत्पादन भएको गरी एक अर्ब ३० करोड रुपैयाँको फूलको वार्षिक कारोबार हुँदै आएको छ । प्रणय दिवसको दिन रातो गुलाफ र तिहारमा सयपत्री फूल भारतबाट आयात हुँदै आएको छ ।
केही वर्षदेखि नेपाललाई फूल उत्पादनमा आत्मनिर्भर बनाउने भनिएपनि फूल व्यवसायप्रति कृषक आकर्षित नहुने, यससँग सम्बन्धित विज्ञ नहुँदा आशानुरुप यो व्यवसाय फस्टाउन नसकेको एसोसिएसनका उपाध्यक्ष दिलीप वादे बताउछन । पछिल्लो समय होटल, विवाह, सभा सम्मेलनमा फूलको प्रयोग बढ्दै गएपनि व्यावसायिक कृषकको कमीले गर्दा माग पूरा गर्न सकिएको छैन ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु