प्रचण्ड निवास जाने बाटो स्थानीयद्वारा अवरूद्ध

२०७४ चैत्र ९ गते, शुक्रबार

काठमाडौं, ९ चैत । नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवास जाने मुख्य माेटरबाटाे स्थानीयले अवरूद्ध पारिदिएका छन् । प्रचण्डको निवास जाने ललितपुरकाे चापागाउँदेखि खुमलटारबाट हिड्ने मुख्य माेटरबाटाे स्थानीयले अवरूद्ध पारिदिएका हुन् । प्रचण्ड लाजिम्पाटबाट खुमलटार सरिसकेपछि धुलाेधुँवा उड्ने बाटाे कालाेपत्रे गरिदिने अाश्वासन दिएका थिए । प्रचण्ड तीन महिनादेखि दैनिक त्यही बाटो हुँदै ओहोरदोहोर गर्छन तर अहिलेसम्म बाटो भने कालोपत्रे भएको छैन ।
त्यसैकारण सम्बन्धित निकायलाई दबाब दिन भन्दै स्थानीयले बुधबारदेखि यो बाटोमा सवारी बन्द गरिदिएका छन्। मंसिरमै सकिन्छ भनेको सडक चैतमा पनि उस्तै छ। खनेर छाडेको १६ महिना बितिसक्दा पनि कालोपत्रे गर्न कसैको चासो नदेखाएपछि सडक बन्द गर्न आफूहरू बाध्य भएको स्थानीयको भनाइ छ। छिटो कालोपत्रे गर्न दबाब दिन स्थानीयले सडक अवरोध गरेको सडक अवरोध संयोजक हिमाल राईले बताए।
‘हामीले हिजो २ घन्टा सडक अवरोध गरेका थियौं। आज पनि बिहानैदेखि अवरोध गरेका हौं,’ राईले भने, ‘यो सडक निर्माण गर्नका लागि जबसम्म सामग्री आउँदैन तबसम्म अवरोध जारी रहन्छ।’ स्थानीयले सडक अवरोध गरेपछि प्रचण्डले भने रूट परिवर्तन गरेको स्थानीयको भनाइ छ। ‘हामीले वर्षौदेखि धुलो खाएर फोक्सो भरिन लागिसक्यो तर कसैले वास्ता गरेनन्। बाध्य भएर सडक नै अवरोध गरेका हौं,’ नगरकोटीले भने, ‘हिजोदेखि नै सडक अवरोध भए पनि कतैबाट सुनुवाइ हुन सकेको छैन। बरु यही बाटो हिड्ने प्रचण्डसमेत बाटो परिवर्तन गरेर धापाखेलबाट हिँड्न थाल्नुभएको छ।’

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु