प्रचण्ड प्रधानमन्त्री बन्ने प्रपन्च रच्दै

२०७२ माघ १४ गते, बिहीबार

काठमाडौं । एकीकृत नेकपा माओवादी सरकारको नेतृत्व हत्याउने खेलमा लागेको छ । एमाओवादीले स्थायी समितिको बैठकवाट सरकारको काम सन्तोषजनक नभएको निष्कर्ष निकाल्दै घुमाउरो पाराले सरकार ढल्ने खेलमा लागेको चर्चा राजनीतिक वृतमा चल्न थालेको छ । एमाओवादीको स्थायी समितिको बैठकले यसबारे प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्ने निर्णय समेत गरेको छ । सम्भबत: नेपाली कांग्रेसको महाधिबेशनपछि कांग्रेसलाई सरकारमा सहभागी गराउने र रास्ट्रिय सरकार निर्माण गर्नुपर्ने भन्दै उसले सरकारको बागडोर आफ्नो हातमा लिने प्रपन्च सुरु गरेको बुझिएको छ । ओली सरकारलाई असफल साबित गरेर एमाओवादीका अध्यक्ष प्रचण्ड आफु प्रधानमन्त्री बन्ने प्रपन्चमा लागेको राजनीतिक बिस्लेशकहरुको ठम्याई छ ।
बिहिबार स्थायी समितिको बैठकपछि एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने,- ‘सिंगो सरकारको कामलाई पनि अझ सच्याउनुपर्ने, प्रभावकारी बनाउनुपर्ने र परिणाममुखी बनाउनुपर्ने निष्कर्ष बैठकले निकालेको छ ।’ त्यसको निम्ति पार्टीको तर्फबाट अध्यक्ष प्रचण्डले नै प्रधानमन्त्री केपी ओलीसँग गम्भीर छलफल गर्ने निर्णय बैठकले गरेको उनले जानकारी दिए । ‘पार्टीको तर्फबाट अध्यक्ष कमरेडले नै सरकारको नेतृत्व गर्नुभएको प्रधानमन्त्री ज्यूसँग यसबारेमा गम्भीर छलफल गर्ने र सरकारको कामलाई अहिलेसम्मको अनुभवको आधारमा कसरी सच्याउने र प्रभावकारी बनाउने भन्ने निर्णय भएको छ,’ श्रेष्ठले भने ।
एमाओवादीले सरकारमा सहभागी आफ्ना मन्त्रीहरुको कामप्रति पनि असन्तुष्टि जनाएको छ । आवधिक कार्ययोजनासहित परिणाममुखी बनाउन एमाओवादीले आफ्ना मन्त्रीहरुलाई निर्देशनसमेत दिएको छ । ‘अहिले पूर्णरुपमा सन्तुष्ट हुने स्थिति भैनसकेको र परिणाम दिनलाई अझै बढी काम गर्नुछ भन्ने निष्कर्ष बैठकले निकाल्यो,’ उपाध्यक्ष श्रेष्ठले भने, ‘पहिलाको भन्दा गुणस्तरीय र समन्वयात्मक ढंगबाट काम अघि बढाउन सबै मन्त्रीहरुलाई स्थायी समितिले निर्देशन दिएको छ ।’
अबको कामलाई प्रभावकारी र परिमाणमुखी बनाउन यस अबधिमा भएका कामका नकारात्मक पक्ष र कमजोरीहरुबाट पनि शिक्षा लिँदै अगाडि बढ्ने उनले बताए । त्यसका लागि सरकारमा सामेल भएका र समर्थन गर्ने पार्टीहरुको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक छिटो बसाल्ने र जनअपेक्षाअनुसार कसरी काम गर्ने भन्नेबारे निर्णय गर्ने एमाओवादी बैठकको निष्कर्ष छ ।
यसैबीच , मन्त्रीहरुको काम कारवाहीप्रति असन्तुष्टि जनाउँदै ‘सरकार सन्चालन सहयोग तथा समन्वय समिति’को संयोजकबाट दिएको राजीनामा श्रेष्ठले फिर्ता लिएका छन् । उनले यसअघि नै अध्यक्ष प्रचण्ड समक्ष राजीनामा पत्र बुझाए पनि स्वीकृत भएको थिएन । ‘स्थायी समितिको अनुरोधलाई स्वीकार गर्दै मैले राजीनामा अहिले फिर्ता लिएको छु र मेरै नेतृत्वको सरकार सन्चालन सहयोग तथा समन्वय समितिले नै कामलाई निरन्तरता दिने छ,’ बैठकपछि श्रेष्ठले सन्चारकर्मीसँग भने । कांग्रेसलाई सरकारमा सहभागी गराउनेबारे सनचारकर्मीको जिज्ञासामा श्रेष्ठले भने, ‘कांग्रेस अहिले महाधिवेशनमा लागेको छ । त्यसैले अहिले त्योबारेमा हामीले मात्रै सोचेर हुनेवाला छैन ।’

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु