प्रचण्डले नेपाली क्रान्तिलाई बेचे – विप्लव

२०७४ भाद्र ३१ गते, शनिबार

एउटा रुसी उपान्यासमा कहिलेकाही पीडा सहनुपनि खुशीको थालनीको हो भनेर लेखिएको थियो । आज हामी दुःख, पीडा र अप्ठ्याराहरु पार गर्दै नेपाली क्रान्तिका लागि मेहनत र दुःख गरिरहेका छौं । यस मानेमा सहयोद्धा, सहकर्मी कमरेडहरु यसरी सँगै हुन पाउँदा खुशी लागेको छ । दुःख, कष्ट र पीडाहरु पचाएर जनताको अधिकार, राष्ट्रको स्वाधीनताको पक्षमा उभिँदै क्रान्ति सम्पन्न गर्न देशभक्त राष्ट्रवादीहरु एकै ठाउँमा हुँदा निश्चय नै खुशीको क्षण हो । यसैबाट सुखीको थालनी भएको छ भन्ने कुरा अनुभूति भएको छ ।
आन्दोलन, क्रान्तिको आफ्नै नियम, प्रक्रिया हुन्छ । हामी यहाँ पुराना साथीहरु हिजोका दिनमा जहाँ जता रहेक तापनि आज यो क्रान्तिकारी बुभ्रविकरण अभियानमा सँगै भएका छौं । उभिएका छौं । यो पनि खुशीकै विषय हो । धु्रवीकरण अभियानमा सहभागी नेता कार्यकर्ता कमरेडहरु शोषित, पीडित जनता र सिंगै हाम्रो पार्टीको तर्फबाट तपाईहरुलाई अभिवादन र स्वागत गर्न चाहन्छौं ।
क्रान्तिकारीहरुको एकै ठाउँमा जुट्दा धेरै भावनाहरु मिसिएका छन् । मिसिनु पनि पर्छ । हामी नेपाली उस्तउस्तै जीवनबाट गुज्रिएर आएका मान्छेहरु हौं । विभिन्न समुदाय, वर्ग, क्षेत्रबाट कष्ट खेप्दै, दुःख पार गर्दै, खराब तत्वविरुद्ध लड्दै, भीड्दै यहाँसम्म आइपुगेका छौं । क्रान्तिका गर्न जुटिरहेका छौं । भावनाहरु पोखिएका छन् । धु्रवीकरणबाट आउनुभएका कमरेडहरुले जसरी भावना, पीडा र क्रान्तिकारी विचार राख्नुभयो, त्यसप्रतति मेरो र पार्टी केन्द्रको पूर्णरुपमा सम्मान छ ।
हामीसँग कयौं रमाइला र पीडा बोधका क्षणहरु छन् । सबै कमरेडहरुले सबै कुरा छाडेर क्रान्तिका गर्न क्रान्ति खोज्दै आएँ भन्नुभयो, त्यो खुशीको कुरा हो । हामीले गरिरहेका कामले क्रान्ति भनेको यही हो भन्ने पत्ता लाग्ने चाहिं गरिएछ भन्ने कुरा आज एकपटक पुष्टि भएको छ । क्रान्ति के हो ? भन्ने कुरा मान्छेमा गड्नु, बोध हुनु चानचुने विषय होइन । सबैको पहलले नै यो परिस्थिति बनेको हो । क्रान्ति खोज्ने र गर्ने जोकोहीलाई बिना भेदभाव क्रान्तिमा सहभागी र हामफाल्ने गराइन्छ । गर्दैनन् कि, हुँदैन कि भन्ने शंका गर्नुको अर्थ छैन । नेपाल र नेपाली जनताको भविष्यका लागि एउटै ठाउँमा रगत बगाउन तयार भएका छौ. । जनताको अधिकारका लागि तलमाथि, दायाँबाँया, पक्षपात भन्ने हुन सक्दैन । गरिँदैन । क्रान्तिमा सबैलाई समेटेर लैजाने कुरामा दुई मत छैन ।
बुद्धिजीविहरु सहभागी नभएको क्रान्ति सफल हुन गाह्रो हुन्छ । क्रान्ति गरिब, मजदुर वा श्रमजीविहरुको मात्र हो भन्ने तर्क गलत छ । यो होइन, वैचारिक रुपमा ज्ञानको ज्योतिबाट प्रज्वलित गर्दै बौद्धिकताको हिसाबबाट सबलाई बोध गराएर, आफ्नो हो भन्ने बनाएर सम्पन्न गर्ने कुरा हो । माक्र्स मेधावी बुद्धिजीवि थिए । लेनिन, माओ सबै क्रान्तिकारीहरु उच्च कोटीका बुद्धिजीवि नै थिए । त्यसकाण प्रोफेसर, शिक्षक, विद्यार्थी, बुद्धिजीवि सबै नेपाली क्रान्तिमा हामफाल्न जरुरी छ । समयको हिसाबले कोही ढिला, कोही चाँडो सहभागी हाुलान्, तर क्रान्तिलाई सबै तह र तप्काबाट साथ दिनु ने महान हो । पहिले हामी जुटेर जनयुद्ध लडेकै हौं । लड्यौं । अपवादबाहेक सबै मोर्चा जित्यौं पनि । तर तत्कालीन नेतृत्वको गद्दारीका कारण नेपाली क्रान्ति बीचमै रोकियो । क्रान्तिमा धोका पुग्यो । धोका खाएर अधुरो रहेको क्रान्ति सम्पन्न गर्न जुटेका छौं । अन्तिममा फेरि सँगसँगै जाने कुरामा एक मत भएका छौं ।
हेर्नुस्, देशलाई नबद्लेसम्म कुनेपनि नेपालीको भविष्य छैन । यहाँ जोखिम कमरेडले मार्मिक कुरा राख्नुभयो । उहाँकै कुरा गर्नुपर्दा जनयुद्ध लड्दै गर्दा उहाँको एउटा रमाइलो घटना भाथ्यो । सानै उमेर । भर्खर बाह्रतेह्र वर्षको विद्यार्थी हुनुहुन्थ्यो । युद्धकै बेला हामीसँगै बाटो हिँड्दै गर्दा जहिल्यै ‘कै गरी लड्न्यौ त कामरेड (कालिकोटे भाषा) ?’ अर्थात कसरी लड्ने हो त कमरेड भनेर सोध्नुहुन्थ्यो । त्यो भनेको क्रान्तिप्रतिको चिन्ता हो । त्योे चिन्ता अहिले पनि छ । धोका खाएको क्रान्तिलाई सफल कसरी बनाउने विषयमा चिन्तन अझ धेरै गर्नुपर्छ । उहाँको घरमा जनयुद्धका सार्थीहरु धेरै बस्यौं । खायौं । त्यही क्रममा जनुयुद्धमा यति धेरै मेहनत गरियो कि कुरा गरिसाध्य नै छैन । एकपटक जोखिम कमरेडसहितको हाम्रो टोली बाटो हिडिरहेका थियौं । उहाँले आफूले लगाउने सुरुवालको एउटा खुट्टामा सातु बाँधेर बोक्नुभएको रहेछ । बीच बाटोमा प्रहरीसँग भेट भइहाल्यो, लडाई परिहाल्यो । प्रहरीका घेरा तोडेर भीरबाट हामफालेर उहाँ उम्किनु भएछ । त्यसक्रममा साथ बोकेको सातु चाहिं छोडिएछ । पछि प्रहरीले त्यो पोका भेट्टाएर सदरमुकाम मान्मामा पुर्याएछन् । खोलेर हेर्दा भित्र सातु फेला परेछ । त्यसपछि त्यहाँका कमाण्डरले भन्यो रे, यो मान्छेलाई त मार्नु हुँदैन, त्यति दुःख गरेर लड्ने माओवादीसँग अब सकिन्न भन्दै ती कमाण्डरले सहानुभूति जनाएछन् । अब माओवादीसित लडेर पार लाग्दैन भन्ने परेछन् । त्यो अवस्था अहिले झन् बलियो बनेर आएको छ । सरकारका सुरक्षा फोर्सका कमाण्डरहरुलाई यो कुरा राम्ररी सम्झाउनु बुझाउनु पर्छ । मेहनतसाथ बुझाउन गर्नुपर्छ । मान्छेमा क्रान्तिप्रति दृढता अनिवार्य चाहिन्छ । त्यो दृढता हामीसँग छ ।
त्यो बेलाको माओवादी भनेका क्रान्तिप्रति प्रतिवद्ध, दुःख, पीडालाई कुल्चेर हिड्ने, जनतासँगै खाने, बस्ने, श्रम गर्ने, जहिल्यै सँगै हुन्थ्यौं । जो जतासुकै रहेपनि सम्झिनुपर्ने कमाण्डरहरु अहिले पनि छन् । फोन गर्छन् । क्रान्तिबारे सोध्छन् । तिमध्ये जोखिम पनि जनमुक्ति सेनाका एक सक्षम कमाण्डर हुन् । आज हामीसँगै भएका छौं । खुशी भएका छौं । जे गर्या हुन्छ, जे भन्या हुन्छ, त्यो चाहिन्छ मान्छेलाई । क्रान्तिको डोज पुग्ने गरी गर्नुपर्छ मान्छेलाई । पुगिरहेको छैन । केही मान्छेका गलत दृष्टिकोणका कारण क्रान्तिलाई बीचमै अल्मलाएर डोज पुर्याउन खोज्नेलाई रोक्ने काम भएको छ । बाबुराम भट्टराईलाई छाडेर थुप्रै साथीहरु क्रान्ति खोज्दै नेकपामा आइपुगेका छन् । बाबुरामसँग त लागियोे तर अर्कै अर्कै कुरा गर्न थालेपछि ठीक लागेन भनेर खुलेर क्रान्तिको पक्षमा उभिन आएका छन् । यो राम्रो भा’छ । नेताले अर्कैअर्कै कुरा गर्न थालेपछि कोही पनि सन्तुष्ट हुँदैनन् । बाबुरामले नेपाली क्रान्तिमा एउटा कन्फ्युजन पैदा गरिदिएका छन् । केके न गर्छु भन्दै विकस र समृद्धिको भ्रम छरे । त्यो भ्रम थियो भनेर हामीले शुरुदेखि नै भन्द आएको कुरा हो । अस्ति मात्र सुनिल (देवेन्द्र पौडेल)हरु माओवादी केन्द्रतिर गएर बाबुरामसँग बस्दा त लालसलाम भन्न समेत बिर्सिएछु भने रे । लालसलाम नभन्नेहरुको पछि लागेपछि त्यस्तै हुन्छ । उसो भए उनीहरु फेरि के लालसलाम भन्नेहरुको पछि लागे त ? लागेनन् । अर्कै भन्नेहरुकै पछि लागे नि त । त्यो के हो भने वस्तुलाई बुझ्न र पकड्न नसक्दाको परिणाम हो यो । यस्तै हुन्छ । त्यसकारण कम्युनिस्ट मुभमेन्टलाई आत्मसात गरेर अगाडि बढ्नु नै सही हो । क्रान्तिकारीका लागि वस्तुवादी चिज भनेकै मालेमावाद हो ।
यहाँ थुप्रै साथीहरुले देश भ्रष्टचारी, कर्मचारी र नेता मिलेर सिध्याए, जनताको अधिकार खोसिए भनेका छन् । त्यो सत्य हो । यहाँ सरकार भनेको लुट्ने थलो हो भन्ने बनाइएको कुरा सत्य हो । केही साथीहरुले १० रुपैयाँ दिए पनि, एक माना चामल दिएपनि, एक छाक खान खुवाएपनि यही पार्टी (नेकपा)लाई खुवाउँछु र दिन्छु भने नि त । यो हो क्रान्ति गर्ने आधार । जसले जे गर्न सकिन्छ त्यो गर्नुपर्छ । क्रान्ति उठ्छ उठ्छ । हामी तयार भइसकेका छौं । कसैले रोकेर रोकिनेवाला छैन ।
यहाँ धेरै पैसा, सुविधाको कुरा छैन । चयन लिने विषय छैन । केवल मान्छेको दृष्टिकोणको कुरा हो । वस्तुलाई, क्रान्तिलाई बुझ्ने र लागू गराउन सहभागी हुने कुरा मुख्य हो । क्रान्तिलाई एकपटक साथ दिन्छु भनेर धु्रविकरा अभियानमा जसरी आउनुभो, यो धेरै राम्रो कुरा हो । मान्छेले भन्ने गर्छन्, हामी लाग्यौं भने के पाउँछौं ? जनजाति, दलित, महिला, मधेसी, बाहुन, क्षेत्री लाग्यौं भने के पाउँछौं ? भन्ने प्रश्न गरिन्छ । त्यसको जवाफमा हामीले भन्ने एउटै कुरा भन्ने गरेका छौं कि क्रान्ति गर्न हामीलाई साथ दिनुभयो भने सत्ता पाउनुहुन्छ । धेरै कुरा त भन्न सकिँदैन । तर तपाईहरुले सत्ता चाहिं प्राप्त गर्नुहुन्छ । यो निश्चित छ । धेरै सपनाका कुरा गर्नुपनि हुँदैन । सपना भनेकै सत्ता हो । क्रान्तिपछिको सत्ताबाटै सबै कुरा प्राप्त हुन्छ । त्यो क्रान्तिको शुरुवात देशमा भइसकेको छ । क्रान्ति हुन्छ कि हुँदैन ? भन्नेहरु भ्रमबाट मुक्त हुनु जरुरी छ ।
अर्को कुरा, क्रान्तिबाट अलग बसेर चाहिं अहिलेसम्म तपाईले के पाउनु भा’छ त ? केही पनि पाउनु भएको छैन । अहिले तपाई पूँजीवादमा हुनुहुन्छ । पूँजीवादले हामीलाई ढाँट्ने, लुट्ने, छल्ने, भ्रष्टचार गर्ने, दुत्कार्ने, अनि सिध्याउने बाहेक केही पनि हुनेवाला छैन । त्यसकारण हामी सबैको विकल्प र समाधान भनेकै वैज्ञानिक समाजवाद हो । क्रान्तिबाट मात्र यो कुरा प्राप्त गर्न सकिन्छ भन्ने कुरामा प्रष्ट हुनु आवश्यक छ । अन्तअन्त भौतिएर, डुलेर काम छैन । वैज्ञानिक समाजवादले मात्र वर्गहरुको सीमा मेटाउँछ । विभेद र छुवाछुतको अन्त्य गराउँछ । राष्ट्रहरुको सीमा मेटाउँछ । मानव जातिलाई सामूहिक जीवन पद्धति र समाजवादी सभ्यतामा प्रवेश गराउँछ । अनि मात्र हरेक मानिसको जीवन समृद्ध, सुखी, खुशी र सुविधासम्पन्न हुन्छ । एकछिनको सेन्टिमेन्ट (भावनात्मक÷भावोजना) पैदा गाएर मात्र केही हुँदैन । त्यसले सबैखाले जीवनलाई मुक्ति दिन सक्दैन ।
थाहा छ, गोरेबहादुर खपाङगीले बुटवलमा दुई घण्टा भाषण गरेपछि त्यहाँका आदिवासी जनजाति युवाहरु तरबार बोकेर सडकमा निस्केका थिए । त्यस्तै एकचोटी कुमार खड्काले भाषण गर्दा त्इहाँ बाहुन क्षेत्रीहरु शंका फुक्दै भाला–तरबार निकाल्दै स्डकमा हिँडे । तर त्यो धेरैबेर टिक्न सकेन । केही छिनपछि नै सेलायो, हराएर गयो । एकछिनका लागि मान्छेलाई भावोजनामा ल्याएर युवा जोशलाई सडकमा उतार्न सकिएला तर खोजेको परिणाम आउँदैन । परिणाम दिन सकेनन् । अहिले पनि अल्लाह अकवर भन्दै मान्छेहरु लडेर, भीडेर मरिराखेका छन् । त्यसबाट पनि परिणाम आउँदैन ।
त्यस्तो बाटोबाट मुक्ति सम्भव छैन । त्यसको कुनै दृष्टिको छैन । लक्ष्य छैन । जीवन बदल्ने विचार छैन । खाली निराकार मात्र छ । त्यसपछि के हुन्छ भन्ने कुनै प्रमाण छैन । उत्पीडनबाट विद्रोह गर्नु सही होला तर त्यसले लिएको लक्ष्य, बोकेको विचार के हो ? भन्ने स्पष्ट छैन । मानव जीवन बदल्ने खाका छैन । त्यसकारण माओ, लेनिनले भन्नुभएको छ, मानवले गर्ने विद्रोहको उत्कृष्ट लक्ष्य भनेको वैज्ञानिक समाजवाद हो । वैज्ञानिक साम्यवाद हो । यो बिना कुनैपनि प्रणालीले मावन जातिलाई नयाँ जीवन दिन सक्दैन । यो नेपालबाटै नेपालीहरुले लिने लक्ष्य हो । अठोट हो । हामीले यो अठोट गरेका छौं ।
यो अठोट, बहस सबै क्षेत्रमा हुनु जरुरी छ । चलिराख्या पनि छ । सोना, प्रहरी, कर्मचारी, बुद्धिजीवि, किसान, मजदुर, शिक्षक, विद्यार्थी, प्रोफेसर, महिला, दलितलगायत हरेक वर्ग र समुदायमा बहस चलिराखेकै छ । हामीले तय गरेको एकीकृत जनक्रान्तिको परिकल्पना पनि त्यही हो । बहस सबैतिर एकपटक होस् । तर्कवितर्क होस् । क्रान्ति गर्ने ड्युटी (कर्तव्य) जनताको मात्र होइन, हामी सबैको हो । जसले समस्या र समाधान देखेको हुन्छ, उसले बढी मेहनत र दुःख गर्नुपर्छ । यो नै विज्ञानसम्मन छ । बहस जहाँबाट जताबाट चलेपनि, चलाइए पनि क्रान्तिको नेतृत्व क्रातिकारी कम्युनिस्ट पार्टीले गर्ने हो । सबैभन्दा उत्कृष्ट चेतना भएका मान्छेहरुले गर्ने हो । त्यो पार्टी हामीसँग छ । ती मान्छे हाम्रो पार्टीमा छन् । नेतृत्व सबैलाई साथमा लिएर गर्ने कुरा आउँछ । हाम्रा नजिकका मित्र भनेका किसान, मजदुर, देशभक्तहरु नै हुन् । परिवर्तनलाई आत्मसात गर्नेहरु सबै मित्र शक्ति हुन् । एकपटक लेनिनले रुसमा यदि हामीले जोडदार रुपमा मेहनत गरेर भन्यौं भने जारको सेनाले पनि क्रान्तिलाई साथ दिनसक्छ भनेका थिए । त्यो कुरालाई धेरै पत्याएनन् । हाँसोमा उडाए । पछि अक्टोबर क्रान्तिको बेला जारको पाँच लाख सेना निष्क्रिय बसिदिए । दमनमा आएनन् । ती सेनालाई जारले लेनिनलाई सघाएको आरोप लगाए । लेनिनले आँटेका अक्टोबर क्रान्ति सफल भयो । र, जारकै ती निष्क्रिय सेना पछि लाल सेनाका कमाण्डर भए । नेपालमा यो कुरा हुनेवाला छ ।
त्यसकारण क्रान्ति हाम्रो मात्र मामला होइन । सेना, प्रहरी, कर्मचारी, शिक्षक, राष्ट्रवादी सबैलाई चाहिएको छ । मात्र हामीले पहल लिने र बोध गराउने कुरा मुख्य छ । उनीहरुकै परिवार, सन्तानको भविष्यकै लागि पनि क्रान्ति चाहिएको छ । जीवनको ग्यारेन्टीको पनि यो चाहिन्छ । उनीहरु अहिले पनि नयाँ पुस्ताको भविष्यको ग्यारेन्टी यो दलाल सत्ताले गर्छ भन्ने कुरामा ढुक्क छैनन् । नेपालका यो बहस तीव्रतामा भइरहेको छ । हिजोका दिनमा जनयुद्ध गाउँबाट छापामार युबाट लयौं । जनयुद्धले धेरै मान्छेको चेतना स्तर धेरै माथि उठायो । देशमा शान्ति र समृद्धि ल्याउने हो, विकासको बाटो खोल्ने हो भने जनतालाई अधिकार सम्पन्न बनाएर लैजाने हो, राष्ट्रलाई स्वाधीन तुल्याउने हो भने नेपाली क्रान्तिलाई सम्पन्न गर्नैपर्छ । यो कुनै खाली आवेग वा भावनाको विषय होइन । साँचो विषय हो । शुरुशुरुमा उद्योगपति, व्यवसायीहरुले हाम्रो कुरा पत्याएका थिएनन् । तर अहिले बुझ्दै सँगै उभिन आइपुगेका छन् । आउने क्रम जारी छ । विदेशी दलाल पूँजीले हामीलाई ल्निै लाग्य भन्दै लौन क्रान्ति छिटो गर्नुपर्या भन्ना थालेका छन् । तपाईसँग भएको दुई चार अर्बले केही हुँदैन । विदेशीहरु यहाँका दलाल सत्ताको बुई चढेर खर्ब रुपैयाँ लिएर आइपुग्छन् । तपाईलाई दुई घण्टामै सिध्याइदिन्छन् । विदेशीको अनुकूलतामा लगानी गर्न छुट दिन्छन् दलाल शासकहरु । राष्ट्रियता, स्वाधीनता र राष्ट्रवादी उद्योगपतिहरुको हालत जेसुकै होस् मतलब राख्दैनन् ।
त्यसैले नेपालको अर्थतन्त्रमा दलाल पुँजीवाद प्रवेश गरिसकेको छ । यसबाट देशको राष्ट्रवादी उद्योगपतिहरुले परिवर्तनको पक्षमा साथ दिनुपर्छ । यो कुरा सेना, प्रहरी सबै सुरक्षा निकायले बुझनु जरुरी छ । विभिन्न समुदायलाई हामी भन्छौं जनताको पक्षमा उठेको क्रान्तिलाई साथ दिनुस् । सहभागी बन्नुस् । सबै मिलेर क्रान्ति सम्पन्न गर्ने हो । सिंगो समाजलाई बदल्ने हो । नयाँ पुस्ताको भविष्यको रक्षाको ग्यारेन्टी गर्ने हो ।
जहाँसम्म केही कमरेडहरुले क्रान्ति त गर्ने तर नेतृत्वबाट फेरि धोका हुने हो कि, बिचमै अलपत्रमा परिने पो हो कि भन्ने चिन्ता, आशंका व्यक्त गरेका छन् । त्यो सही छ । विगतमा भएका घटनाले यो आशंका वा चिसो पस्नु स्वभाविक पनि हो । हामी केही दिनपहिले कालिकोट गएका थियौं । त्यहाँका जनतामा यो क्रान्तिप्रति विश्वास छाएको छ । एकजना दिदीले भन्नुभो, तल त हामी लडिहाल्छौं, माथि चाहिं मिलाउनु होला सर ।’ त्यसपछि हामीले उहाँहरुलाई भन्यौं, हामी धोका दिँदैनौं, बरु मर्न तयार हुन्छौं । उहाँहरु र युवाहरुलाई अहिले पनि भन्ने के हो भने कालिकोटमा एकीकृत जनक्रान्तिको पक्षमा रगत बगेको छ । धनराज बटाला र धनगढीमा सनराइज (पूर्वजनमुक्ति सेना) सहिद हुनभएको छ । उहाँहरुको रगत दुरुपयोग गर्नु पाइँदैन । कसैलाई छुट छैन । त्यसमा हाम्रो अठोट र प्रतिवद्धता छ, या त हाम्रो पनि बटाला र सनराइजकै रगतमा मिसिन्छ, या त नेपाललाई मुक्त गर्छौं । यो कुरा तपाईहरुसामू दृढतापूर्वक भनिराख्या छौं । हिजोका दिनमा प्रचण्डले जनयुद्धका सहिदहरुको रगत दुरुपयोग गरे । बेचेर खाए । क्रान्तिबाट बेपत्ता भागे । प्रचण्डले पाएको सुख, सुविधा हामीसँग अहिल्यै छ । के छैन भन्नुस् त । सुविधाका लागि फेरि अर्को धोका हुने कुरा कल्पनाबाहिरको विषय हो । हामीले प्रचण्डलाई बारम्बार भनिराखेका छौं, तपाई संसदवादी र दलाल पूँजीवादीहरुका अगाडि क्रान्ति बेच्न तयार हुनेभो, साम्राज्यवादीहरुसामू घुँडा टेक्न र शिर झुकाउन तयार हुनुभो । गलत गर्नुभो । चाहिँदो पैसा र सुविधा अहिले भर्खर हामीसँग छँदैछ । त्यसकारण प्रचण्डले जसरी पैसा र सुविधाका लागि क्रान्ति क्रान्ति भन्दै हिड्नु पर्दैन । हिड्ने कुरा पनि आउँदैन ।
अर्कोतिरबाट हेरौं, मान, प्रतिष्ठाको के कुरा गर्ने । यहाँ मन्त्री, प्रधानमन्त्री, सांसद फालाफाल छ । यो कुरा यति सस्तो भयो कि बजारमा पाइने वस्तु सरह छ । पटकपटक मन्त्री बन्ने, सुविधान खाने, मोजमस्त ीगर्ने, जनताको पसिनाबाट जम्मा भएको राष्ट्रको ढुकुटी लुट्ने अनि जनताको पक्षमा केही काम नगर्ने । यही त भा’छ यहाँ । अधिकार प्रयोग गर्ने ठाउँमा पुग्ने, भ्रष्टचार गर्ने, खुलेआम रुपमा जनतासँग घुस माग्ने, खाने, थुपारिएको पैसा लुकाउन परिवारलाई दिने काम गरिराख्याा छन् । प्रधानमन्त्रीको हालत पनि उस्तै छ । प्रधानमन्त्री बनेपछि जनतालाई निःशुल्क स्वास्थ्य, शिक्षा, संचार, सुविधा दिने होइन किन विदेशीलाई नदी बेच्ने, जमिन बेच्ने, वनजंगल–जडिबुटी बेच्ने, जनताको सम्पत्तिको चाबी विदेशीलाई सुम्पने, पार्टी र पार्टीका निश्चित नेता धनी बन्ने र विदेशमा लगेर पैसा राख्ने, त्यसो गर्नाका लागि मत संख्या पुर्याउन सांसद खरिदबिक्री गरिरहेका छन् । यो पनि राष्ट्रवादीले गर्ने काम हो र ? दलाल संसदीय व्यवस्थाको दोष हो यो । राष्ट्रलाई, जनतालाई बदनाम गर्ने शासन प्रणाली हो यो ।
त्यसकारण संसदवदप् पार्टीका नतेताहरुलाई जनताले पहल लिएको क्रान्तिलाई दलाल सत्तासँग गरेर नदाँच्न चेतावनी दिन चहान्छौं । यसरी दाँच्ने कुरा क्रान्तिकारीलाई पच्दैन । हामीले सचेततापूर्वक क्रान्तिको बाटो रोजेका छौं । क्राीन्तको बाटो भनेको एकछिनका लागि कठिनको बाटो हुनसक्ला, तैपनि यो सजिलो र उज्यालो छ । भोलि क्रान्ति जुरुक्क उठ्दा भ्रष्टचारी, जनघाती र राष्ट्रघातीहरु, माफिया–दलालहरुलाई टेक्ने जमिन रहँदैन । क्रान्ति उठेपछि के भ्रष्टचारी र राष्ट्रघातीहरुले चयनको जीवन पाउने सोचेका छन् ? पाउने छैनन् । जनताको आदेशको पालना गर्नुपर्छ । चयनपूर्ण निद्राको कल्पना गर्नु धेरै टाढाको कुरा हो । बद्नाम, दमन, शोषण, उत्पीडन कायम राखेर नेपाली समाज चल्न सक्दैन । चल्न पनि दिदैनौं ।
यसअघि प्रचण्डको दलाल शासन प्रणालीले ल्याएको कथित चुनाव खारेजी अभियानको लडाईमा धनबराज बटाला र सनराइज शहिद हुनुभएको छ । शासनविरुद्ध उहाँहरुले रगत बगाउनुभएको छ । यो सामान्य विषय होइन । हामीसँग एटा तीव्र गतिको क्रान्तिकारी स्पिरिट छ । खारेजी अभियानका क्रममा बम विस्फोटबाट सनराइजको र दोहोरो भीडन्तमा बटालाको रगत बगेको हो । विस्फोटलगत्तै पुगेका प्रहरी टोलीसँग महान सहिद सनराइजले म नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता हँु, म आफैं बुझेर मनखुसीले पार्टीका लागेको हुँ, म शहिद हुने लक्ष्यका साथ हिँडेको मान्छे हुँ, यदि मरेछु भने कसैलाई दोष नलगाउने, दुःख नदिनु भनेर भनेका छन् । हामीसँग त्यो भाव र अठोट छ । सबैले यो भावलाई बोक्नुपर्छ ।
हामीले आफूले दुःख, मेहनत गर्नुपर्छ, तर अरुलाई धोका दिने काम कहिल्यै गर्नु हुँदैन । यो क्रान्तिको नियम हो । झुठा कुरा, आवश्वस गरेर जनतासँग ढाँटनु मिल्दैन । यो अनुशासन हो । मेहनत गर्नुपर्छ तर बदनाम हुने काम कदापि गर्नुहुँदैन । पाटीृमा स्वार्थ, लुकाईछिपाइ, ढाँटछल चल्नेवाला छैन । देशलाई घाटा हुने, जनतालाई चोट पुग्ने, अप््ठयारामा पार्ने काम गर्ने छुट कसैलाई छैन । यो कुरा तलदेखि माथिसम्म लागू हुन्छ । गल्ती भएको खण्डमा आलोचना गर्ने, सुधार्ने र सुध्रिने कुरा हुन्छ । भाग्ने कुरा मानिदैन । निःसर्त रुपमा क्रान्तिमा सहभागी हुने कुरा मुख्य हो । सानातिना घटना, आलोचनाबाट तरंगित हुने, आत्तिने, हौसिने पनि गर्नुहुँदैन । लोभ–लालचमा फस्ने कुरा पनि हुँदैन । यस्तो बेला विभिन्न समूह, पक्षबाट धाकधम्की आउन सक्छ, त्रसित हुने कुरा आउँदैन ।
अर्को कुरा के छ भने। धु्रविकरणमा हामी कति मान्छे छौं, कति जुट्यौं भन्ने ठूलो कुरा होइन, महत्वपूर्ण कुरा त हामी कस्तो प्रवृत्तिमा छौं ? कस्तो विचार र दृष्टिकोण बोकेर आएका छौं ? कस्तो अनुशासनमा छौं ? भन्ने हो । अरुअरुले भन्ने गरेका धु्रविकरण भनेको विसर्जन यात्रा हो । माओवादी केन्द्र (माके)ले पनि धु्रवीकरण भनिरहेको छ । उसको यात्रा विसर्जन नै हो । जनतालाई लुट्ने, खाने, देशका सम्पदा बेच्ने, पानी, खानी बेच्नेहरुको धु्रवीकरण हो । यसको नेतृत्व नेपाली कांग्रेसपछि माकेले गरिरहेको छ । जनतालाई डाँका मार्नेहरुको गठजोड हो त्यो । यसले क्रान्तिलाई क्षति पुर्याउँछ । दलाल सत्तालाई झनै बलियो बनाउँछ । त्यसैले यो क्रान्तिकारीहरुको धु्रवीकरण त्यसलाई भत्काएर मिल्काइदिनुपर्छ । यो कुरा जनतामा गएर दोहोर्याई तेर्याई बुझाउनुपर्छ ।
हिजो एउटा पार्टीमा, आज एउटा पार्टीमा भोलि अर्कै पार्टी हुनेहरुको समाजमा काम छैन । त्यस्तालाई वास्ता गर्नुहुँदैन । चुनावको बेला त झनै पार्टी फेर्नेहरुको लहरै चल्छ । आज एउटा नेताको ढोका पुगेर टीका लगाउँछ, टिकट नपाएपछि भोलिपल्ट बिहानै झोला बोकेर अर्कै नेताको ढोका टीका थाप्न पुग्छन् । कहिले मधेसी नेताका ढोकामा त कहिले देउवा, प्रचण्ड, ओलीहरुको ढोकामा । यस्तो पनि कहीँ राजनीति हुन्छ । राजनीतिको नाममा बद्नाम लज्जित तुल्याउने काम हो यो । विचार छैन, इज्जत छैन, नैतिकता छैन, केही छैन । सुन्दा पनि घिनलाग्दो । अहिले माकेभित्रका युवाहरुले भन्न थालेका छन्, अब चुनावबाट सम्भव छैन । यो कुरा हामीले उबेलै भनेका हौं । आफूलाई खाँटी युद्ध लडेर आएका बताउने क्रान्तिकारीहरुले पनि पैसाका लागि भोट हाले । क्रान्ति गर्ने यो कुरा मिलेको छैन । उनीहरुनै अहिले सिद्धिने भयौं, टेक्ने ठाउँसम्म नरहने भो भनेर बर्बराउन शुरु गरेका छन् । यो चुनाव त पैसाले पैसाका लागि गर्ने चुनाव हो । जनताको अधिकारको लागि छँदैथिएन । हुनेपनि होइन । यति कुरा नबुझ्नेले के क्रान्तिको कुरा गर्न सुहाउँदैन । यस्तो चुनाव सधैं बन्दुकले गराउँछ, जनताले होइन । पार्टीभित्रै रहेर पार्टी नेतृत्वविरुद्ध बोल्नुले माकेभित्र चरम अन्तरविरोध असन्तुष्टि छ भन्ने हो । चुनावकै कुरा गरौं, त्यहाँभित्रका इमान्दारले टिकट पाएका छैनन् । चाटुकार, पैसावाल, दलाल, कमिसनखोर, भ्रष्टचारीले टिकट नेताको चाप्लुसीको भरमा टिकट पाए । इमान्दार नेता कार्यकर्ता खाल्डोमा परे । नेतालाई पैसा चाहियो कि सांसद, मन्त्री बेचिहाल्छ, कसैलाई थाहै हुँदैन । अनि बेचिएका र किनिएका मान्छेबाट देश र जनताको हित हुन्छ त ? हुँदैन । यस्तो स्थितिमा युवाहरुले बेलैमा सोच्नुपर्छ । संसदीय प्रणालीको बाटो चिनेरै त्यसलाई लात हानेर अलग बाटो रोजेका हौं । अहिले हामीसँग क्रान्तिको बाटो छ ।
देश यतिबेला संकटको ठूलो चपेटामा परेको छ । शेरबहादुर देउवा केही हप्तापहिले भारत गएर राष्ट्रको बेइज्जत गरे । स्वाधीनतालाइ खतरामा राखेर फर्के । उनी मोदीलाई केसम्मन भनेर फर्के भने, नेपालको राजनीतिमा तपाई नै भन्नुस् के गर्नुपर्छ, म त्यो गर्छु । नेपालको हाइड्रो तपाई नै आएर उद्घाटन गर्नुस् भने । यो जस्तो लिच्चड र घृणित काम अरु केही हुन सक्ला ? देउवा पूँजीवादी र साम्राज्यवादीका नोकर हुन् । यी नोकरहरु सत्तामा रहेसम्म देशको स्वाधीनताको रक्षा सम्भव छैन । जनताले स्वाधीनतापूर्वक बाँच्नै पाउने छैनन् । यहाँ क्रान्तिको दायित्व भनेको दलाल–पूँजीवाद, भारतीय र अमेरिकी साम्राज्यवादलाई धुलोपीठो पारेर नेपाललाई स्वतन्त्र र स्वाधीन बनाउने मुख्य अभिभारा हो ।
भारतले भुटानको दोक्लाम विवादमा हस्तक्षेप गरेको छ । यहाँका कोही नेता बोल्दैनन् । दलाल सरकार विरोध गर्दैन । हस्तक्षेपको विरोध स्वतन्त्र र स्वाभिमानी नेपालीले खुलेर गर्नुपर्छ । हामीले गर्यौं । प्रतिवाद गर्नुपर्छ । दोक्लाम सीमा विवाद भुटानको समस्या हो । उसले बहस गराउने हो । भुटान बनेर भारत त्यहाँ जाने र हस्तक्षेप गर्ने मिल्दैन । अर्काको देशको ठेक्का लिएर हिड्ने भारतीय शासक को हुन् ? त्यसकारण भोलिका दिनमा नेपालमा यो समस्या आउनेवाला छ । त्यो बेला स्वतन्त्र राष्ट्र बोल्ने कि नबोल्ने ? बोल्नुपर्छ । त्यसकारण नेपालको मामिलामा भारतीय शासक वर्गका नोकरहरु देउवा, प्रचण्डहरु नेपाली जनताविरुद्ध भारतीय साम्राज्यवादीको पक्षमा उभिन आउलान्, खबरदार ! देशमा नेकपा खडा छ । राष्ट्रवादी जनता खडा छन् । तिम्रो षडयन्त्र माटो मिलाईदिनेछौं ।
भारतले नेपालको परराष्ट्र, अर्थ, सुरक्षा, कुटनीति हामी हेरिदिन्छौं भन्न थालेको छ । यहाँका दलाल चाटुकार शासकहरु दिल्लीमा गएर लम्पसार पर्ने, नाक रगडेर मालिकसामु झुक्ने गरिरहेका छन् । यो मान्य छैन । देशलाई लज्जित गर्ने काम यो पटक फेरि देउवाले गरेका छन् । शासकले स्वाधीनलाई भयंकर ठूलो खतरामा राखिदिएका छन् । प्रचण्ड, बाबुरामले गरेकै थिए । देउवाले दोहोर्याए । कोसीमा उच्च बाँध बनाउने सहमतिमा हस्ताक्षर गरेर फर्केका छन् । त्यो बाँध बनाउन कोशिस गरेर देखाऊ, क्रान्तिले तिमीलाई कहाँ पुर्याउँछ त्यतिबेला होस् खुल्छ ।
नेपालका बिग हाउसका मिडियाहरु विदेशी दलाली पूँजीको प्रभावमा पर्दै गइरहेका छन् । त्यहाँभित्र बसेर लेख्ने पत्रकारहरुलाई मुक्त कलमले देश र जनताको एजेण्डा लेख्ने वातावरण मिलिरहेको छैन । उनीहरुलाई मुक्त गर्न क्रान्ति नै चाहिन्छ । प्रहरीको के कुरा गर्ने, आफनै हाकिमलाई भ्रष्टचारी सावित गराएर हतकडी लगाएर जेल हाल्छन् । आफैंले गरेको मूल्यांकनले आफैंलाई खान्छ । यतिसम्मन कि चौथो नम्बरको अधिकृतलाई आईजी बनाउँछन् । यो कसरी भयो ? भनेर पत्रकारले सोध्दा भाग्यले बनायो भन्ने जवाफ दिन्छन् । यस्तो अवस्थामा पुग्यो देश । अब ति कमाण्डर (आईजी)ले दिएको आदेश प्रहरी मान्नुपर्छ भन्ने छ ? उसको काम भनेको उसलाई पदमा पुर्याउनेहरुको आदेशमा जनतालाई गोली हान्नेबाहेक अरु केही काम हुँदैन ।
अदालतकै कुरा गरौं, मूल्यांकनमा पहिलो नम्बरको प्रहरी अधिकृतलाई अदालतले नै हुँदैन भनेर आदेश गर्छ । डार्फुर काण्डमा तीन÷तीन आई जेलमा छन् । तर उनीको मन्त्री तत्कालीन गृहमन्त्री कृष्ण सिटौला बंगलामा मोजको बिताइरहन्छन् । मन्त्रीको स्वीकृतिबिना डार्फुर काण्ड हुन सक्छ ? सक्दैन । दस अर्बभन्दा बढी भ्रष्टचार गरेको अभियोगमा राजश्वका हाकिम पक्राउ गर्छन्, सर्वोच्च अदालतले एक पैसा नलिई छोडन आदेश दिन्छ । सायद शर्माले कि मलाई बचाउ, होइन भने सबैको पोल खोल्दिन्छु भने होलान्, त्यही अनुरुप राजनीति तहमा सहमति भयो, परिणाम त्यस्तै आयो । तत्कालीन अर्थमन्त्रीहरुलाई पक्रेर जेल हाल्नु पर्दैन ? यहाँ ठूलै नाटक भएको छ । सत्ताका सबै अंग दलालको हातमा परिसकेको प्रमाण हो यो । त्यसैले यो सत्ताबाट जनताले विकास र समृद्धिको आशा राख्नु बेकार छ ।
प्रतिभावान विद्यार्थीलाई केही माफियाले किनेर आन्दोलन ध्वस्त पार्ने गरिएको छ । त्यसबाट विद्यार्थी नेताहरु सतर्क हुनु जरुरी छ । युवाहरुलाई सत्ता र दलालले दुरुपयोग गर्ने खतरा बढेको छ । तपाईहरु उत्तिकै सतर्क हुनु जरुरी छ । उचाईमा पुर्याइदिने अनि माथिबाट खसालेर सिध्याइदिने गरिएको छ । मजदुरहरुको हकमा पनि त्यही हो । केही नेता मालिकसँग मिलेर सिंगो मजदुरको अधिकार खोस्ने काम गर्न पाइँदैन । सचेतता अपनाऔं ।
सुनेका छौं, हाम्रै पार्टीको नामबाट मान्छे अपहरण गरेर पैसा लगेको कुरा । त्यो गलत कार्य हो । त्यस्ता प्रवृत्तिलाई बेलैमा चिन्नु पर्छ । मेटाई दिनुपर्छ । क्रान्ति उठ्दै जाँदा राष्ट्रिय अन्तर्राष्ट्रिय दबाब, धाक, धाम्की आउँछ, युवाहरु, नेताहरु डराउने कुरा आउँदैन । सेना, प्रहरी, गुप्तचर, सत्ता, राजदूतको दबाब, धम्की आउनसक्छ । त्रसित हुने होइन । दबाब, धम्कीसँग लत्रेका, झुकेका देखेका छौं । भोगेका छौं । यसो हुनुमा कि त छाला जोगाउन कि दृष्टिकोण नभएका अन्ध मान्छेहरु हुनुको कारणले भएको छ । हामीलाई कुनै किसिमका दबाब, धम्की स्वीकार्य छैन । हरेक दबाबलाई कैंचीले धागो काटेसरह काट्दै अगाडि बढेका मान्छेहरु हौं ।
पैसा, सहयोग चाहिन्छ, त्यो लिउँला, तर पैसाकै लागि क्रान्तिलाई धोका हुने, पछाडि फर्कने र पार्टी र जनतालाई बदनाम गर्ने काम गर्दैनौं । जनतालाई दुःख हुने, राष्ट्रलाई क्षति पुने गलत कार्य गरेको खण्डमा जनताकै माझ्मा लगेर दण्डित गरिनेछ । पैसा त पूँजीपतिहरुले जनतालाई लुट्न बनाएका साधन हुन् । माक्र्सले एकपटक भनेका छन् । एक दिन यस्तो दिन आउनेछ, जुन दिन संसारमा पैसा भन्ने चिज हुनेछैन । सबै मावन जाति सम्पन्न हुनेछन् । पैसाकै कारण धनी र गरिब हुनुपर्ने छैन । यो पूँजीवादी व्यवस्थाले ल्याएको विकृति हो । पैसालाई मिलाउन नसक्दा विश्वका थुप्रै समाजवादी सत्ता ढलेको इतिहास छ । पैसालाई मिलाउन सकेकै कारण रुसमा समाजवादी सत्ता ढल्यो । नेपालमा प्रचण्ड ढल्यो । उनले नेपाली क्रान्तिलाई पैसामा बेचेर खाइदिए । पैसाकै कारण जनमुक्ति सेनाको घेराबाट सरकारी सेनाको घेराभित्र छिर्न पुगे ।
बाबुराम नेपाली कम्युनिस्ट आन्दोलनबाट बेपत्ता नै भए । मान्छे त भेटिएला तर जनताको राजनीतिमा उनी छैनन् । हामी पैसाका लागि नभई नेपालमा क्रान्ति सम्पन्न गर्ना लागि कदम उठाएका छौं आउनुस् । एक ठाउँमा उभिऔं । क्रान्तिको झण्डा उठाऔं । क्रान्ति सम्पन्न गरौं । देश र जनतालाई स्वतन्त्र र स्वाधीन बनाऔं ।

(भदौ २५ गते राजधानीमा नेकपा केन्द्रीय समितिद्वारा आयोजित ‘क्रान्तिकारी कम्युनिस्ट धु्रवीकरण अभियान’का महासचिव विप्लवद्वारा व्यक्त मन्तव्यको मुख्य अंश)
-प्रस्तुतिः सागर लामा

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु