‘प्रचण्डले जनयुद्धका सहिदहरुको सपनामाथि गद्धारी गरे’

२०७३ पुष २९ गते, शुक्रबार

काठमाडौं, २९ पुस । नेकपा माओवादीका प्रवक्ता प्रकाण्डले जनयुद्धका सपनामाथि प्रचण्डले ठूलो गद्धारी गरेको बताएका छन् । सहिद रचना प्रकाशन केन्द्रद्धारा आज काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै प्रवक्ता प्रकाण्डले जनयुद्धको सपना नयाँ जनवादी व्यवस्था भएको तर प्रचण्डले त्यो सपना भुलेर संसदीय व्यवस्थाका सामु आत्मसमर्पण गरेको बताए । ‘हामीले जनयुद्ध थालनी गर्दा त्यसको लक्ष्य नयाँ जनवादी व्यवस्था थियो । तर दश वर्षपछि प्रचण्ड उही संसदीय व्यवस्थामा फर्किए ।’ प्रकाण्डले भने- ‘जनयुद्धका लक्ष्य भुलेर प्रचण्डले ठूलो अपराध गरेका छन् । त्यसको एकदिन इतिहासले मुल्यांकन गर्नेछ ।’ जनयुद्धका सहिद परिवारहरुद्धारा आयोजित कार्यक्रममा प्रकाण्डले प्रचण्डले क्रान्तिलाई धोका दिएर गद्धारी गरेपनि आफ्नो पार्टीले सहिदको सपनालाई कुनै पनि हालतमा पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे । क्रान्तिको पूर्णताले मात्र सहिदको सपना पूरा हुने प्रकाण्डको भनाई छ । ‘जसले क्रान्तिकारी विचार र क्रान्तिको बाटो समाउँछ, उसले कुनैपनि हालतमा सहिदका सपनामाथि गद्धारी गर्दैन ।’ उनले भने- ‘हाम्रो पार्टीले एकीकृत जनक्रान्तिको बाटोबाट नेपाली क्रान्ति र जनयुद्धका सपना पूरा गर्नेछ ।’
उक्त कार्यक्रममा बोल्दै माओवादी केन्द्रका नेता लोकेन्द्र बिष्टले नेकपा (माओवादी)ले साँच्चिकै नयाँ क्रान्ति गर्ने हो भने आफु पनि त्यसका लागि तयार हुने बताएका छन् । अाफु नयाँ क्रान्तिका लागि सकारात्मक भएको बिष्टको भनाई छ । उनले माओवादीले नयाँ क्रान्ति गर्न खोजिरहेको भन्दै त्यो क्रान्तिमा सबै माओवादीलाई लिएर जानु पर्ने धारणा राखे । ‘म व्यक्तिगत रुपले बन्दुकबिना क्रान्ति हुँदैन भन्ने कुरामा विश्वस्त छु ।’ माओवादीका नेता प्रकाण्ड उपस्थिति रहेको सो कार्यक्रममा भने- ‘विप्लवजीले प्रचण्डसहित नयाँ क्रान्तिको बारेमा सबैलाई समेटेर लाने सोच्नुपर्छ ।’ विष्टले आफ्नो पार्टीले बन्दुक बोक्ने संघर्षलाई परित्याग गरिनसकेको ठोकुवा समेत गरे । उनले क्रान्तिको बाटो अलि फरक ढंगले जाँदै गर्दा यो बीचमा जनयुद्धको मुल नेतृत्वबाट केही कमजोरीहरु रहेको समेत स्वीकार गरे । जनयुद्धका सहिदका सपना पूरा नभएको भन्दै विष्टले त्यो सपना पूरा गर्न लाग्नुपर्ने उनको धारणा थियो । साथै उनले सहिदका सपनाका बारेमा प्रचण्ड, वैद्य र विप्लवले एउटै मंचमा आएर बोल्नु पर्ने बताए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु