प्रचण्डले क्यामेरा पचाए

२०७१ कार्तिक ५ गते, बुधबार

काठमाडौ, ५ कात्तिक । लामो सशस्त्र विद्रोहपछि सत्ताको बागडोर लिँदा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले मुलुकको ढुकुटीप्रति कति संवेदनशीलता देखाए? त्यो अलग्गै खोजीको विषय भए पनि जिन्सी खातामा उनको नाम विगत ६ वर्षदेखि बक्यौता सूचीमा छ।
उनको नाममा त्यस समयको एक लाख १६ हजार आठ सय रुपैयाँबराबरको सामान राज्यलाई फिर्ता नगरेको बक्यौता देखिएको छ। सरकारी रेकर्डअनुसार दाहाल प्रधानमन्त्री भएका बेला प्रधानमन्त्रीज्यूलाई आवश्यक परेको भन्दै भवन निर्माणसम्भार डिभिजन कार्यालय (जसले प्रधानमन्त्री, मन्त्री र उच्च पदस्थका लागि भौतिक सुविधा उपलब्ध गराउँछ) बाट क्यामेरा लगिएको थियो।
जिन्सी खाता पाना नं ७३ मा उल्लेख भएअनुसार क्यानन ब्रान्डको क्यामेरा तत्कालीन प्रधानमन्त्री दाहालका छोरा (त्यसबेलाका निजी सचिव) प्रकाश दाहालले बिल पेस गरी बुझेर लगेका थिए। २०६५ सालका विभिन्न मितिमा १२ मेगा पिक्सेलको क्यामेरा ४५०० डी र यसका सामान लगेको रेकर्डमा उल्लेख छ।
फागुन ८ गते प्रधानमन्त्रीको क्यामेरा र त्यसलाई थप लेन्स आवश्यक परेको भन्दै लेन्स लगेको र २८ गते चार्जर फिल्टर, २ मेगाबाइट क्षमताको कार्ड र क्यामेरा ब्याग लगेको रेकर्डमा छ। राज्यको रेकर्डमा थोरै रकम देखिए पनि यसले मुलुक हाँक्न जनताले विश्वास गरेका नेता सानो रकममा कसरी राज्यको दोहन गर्छन् भन्ने देखाउँछ।
स्रोतले भन्यो, ‘आफूले प्रयोग गरेका सामान अरू प्रधानमन्त्रीहरूले कार्यकाल सकिएपछि सोही कार्यालयका कर्मचारीलाई बोलाएर फिर्ता दिने चलन छ, तर दाहालले त्यसो गरेनन्। तत्कालीन कार्यालय प्रमुख सुपरिटेन्डेन्ट इन्जिनियर इन्द्रबहादुर श्रेष्ठले भने, ‘कसैकसैले फिर्ता नदिएको पनि पाइएको छ, तर ९० प्रतिशत सामान फिर्ता आउने गरेका छन्।’ उनले दाहालले लगेको सामान स्टोरकिपरले बुझेर फिर्ता लिनुपर्ने बताए। dahal_jinsi
तत्कालीन लेखा प्रमुख बाबुराम सुवेदीले भने, ‘त्यसरी लगिएका सामान संस्थागत रूपमा रहनुपर्छ, व्यक्तिगत रूपले बुझेका सामान काम सकेपछि सरकारलाई फिर्ता आउनुपर्छ। दाहाल प्रधानमन्त्री छँदाका स्वकीय सचिव समीर दाहालले यसबारे आफूलाई कुनै जानकारी नभएको बताए।
दाहालले ०६५ साल भदौ २ गते प्रधानमन्त्रीको पदभार समालेका थिए। तत्कालीन सेनापति रुक्मांगद कटवाललाई कारबाही गरेको विवादमा उनले २०६६ साल वैशाख २१ गते राजीनामा दिएका थिए। अन्नपूर्णपोष्टबाट

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु