प्रचण्डलाई समयको प्रश्‍न – नरेन्‍द्रजंग पिटर

२०७१ मंसिर १३ गते, शनिबार

एमाओवादी अध्यक्ष रोल्पा गएर पूर्वनिर्धारित समय पहिल्यै फर्किए। शान्ति-सम्झौता भएको आठ वर्ष र दोस्रो संविधानसभाको चुनाव भएको पनि वर्ष दिन यसै साता पुग्यो। शक्ति सन्तुलनको सामान्य गणितीय हेरफेर हुनेबित्तिकै शान्ति-सम्झौतामाथि ग्रहण लाग्दै गए।

राजनीतिक संकट समाधान हुनुभन्दा पनि झागिँदै छन्। राज्य पुनर्संरचनाका एजेन्डा, वर्गीय असमानता र वर्णभेदका समस्या ज्यूका त्‍यूँ, छन्। सत्ताधारी वर्ग परिर्वन चाहँदैन, समाज यथास्थितिमा रहन सकिँदैन। प्रतिगामी र यथास्थितिका रक्षक जर्मुराएर नयाँ द्वन्द्वका सन्देश दिन हतारिए।

अनेकौं समूह, गुट र पार्टी बनेर वा बन्ने तर्खरमा परेर जनयुद्धको हकदाबी गर्ने माओवादी फुटको शृंखला अझै रोकिएन। एमाओवादी र ड्यास माओवादी पार्टीभित्रै एकता छिन्नै थालेको त्यान्द्रोले अड्किएर फुट्ने साइत कुरिरहेका छन्।

त्यसैले विद्रोहको सर्वोच्च कमान्डर प्रचण्डको शान्ति प्रक्रियापछिको पहिलो रोल्पा यात्रा उनको विगतको सम्झना र आफ्नै समीक्षा हुनुपर्छ। युद्ध र शान्तिको केन्द्रमा रहेका हुँदा त्यसैले समयले उनीसँग अनेकौं प्रश्न तेस्र्याएको छ।

कैयन्पटक राजनीतिक हतियारको वास्तविक बुझाइको अभाव हुनुको पछाडि वर्गसंघर्षको कलामय प्रयोग र विरोधीका चाल बुझाइमा कमजोरी रह्यो। भावनाको सूत्र फेरिँदा, विचार ख्याल नराख्दा स्वयं त्यही उद्देश्यविरुद्ध माओवादी सक्रिय भयो, जसको विरुद्ध हुने दाबी गरिएको थियो।

चेतनालाई भावनाले हैन, विचारले समृद्ध गर्न चुकिँदा आफ्नै एजेन्डा पासो बने। दुस्मनको धराप देख्न चुक्यो। पार्टी सामुन्नेका चुनौती समर्थनको आधार बढाउने हुन्छ। समझदारीभन्दा पनि भावना नै भड्काएर पार्टी फैलाउन सकिन्छ। तर त्यही भावनालाई अर्कैले पनि भड्काउन सक्छ भन्ने हेक्का नराख्दा आफ्नै भूमिका ‘अरू ताक्छन् मुडो आफू ताकिन्छ घुँडो’ हुन्छ। एउटै रामो र बसिलाले काष्ठ कलाकारिता गर्न सकिन्छ भने त्यसैले घारो वा ताबुत पनि बनाउने गर्छ।

रुकुम, रोल्पा ठाउँको नाम मात्र हैन, एउटा प्रतीक हो क्रान्तिको, आमूल परिवर्तनको, स्वाभिमानको, एक्काईसौं शदीको मानव विद्रोहमा कुलिनहरूले लाटा भनेका भुइँमान्छेले स्वाभिमानको गर्जेको भूमि। रुकुम, रोल्पा न राजनीति न पर्यटन थलो हो न कविस्थली नै।

आधुनिक नेपाली इतिहासको युद्ध र शान्तिको अभ्यास थली हो। युद्धले मान्छे जन्माउँदैन तर नयाँ मान्छेको परिचय भने दिन्छ। छातीभित्र हृदय र दृष्टि क्षेत्र फराकिलो पार्ने दृष्टिकोण दिन्छ। म त्यस रणक्षेत्र भएर आएको छु, जहाँ जनयुद्धका भुइँमान्छेका हाडखोड सपना उमार्ने बेर्ना बनेका हुन्छन्।

छातीभित्र हृदय, आँखामा दृष्टिकोण, दुस्मनप्रति घृणा र आफन्तप्रति प्रेम हुन्छ। शक्ति आर्जन गर्न खोज्ने हरेक माओवादीले त्यहाँको माटो छोएर फेरि आफ्नै संवेदना टटोल्दै खाएका कसम, गरिएका प्रतिबद्धता, निजी र पुँजीप्रतिको जागृत घृणा अर्जापे मात्र रोल्पा यात्रा सार्थक र सान्दर्भिक ठहरिन्छ। अध्यक्ष प्रचण्डकै भाषामा ‘आफ्नै टाउको हेल्मेट खोलेर राको लगाउने, आफैंले हेल्मेट नखोले अरूले खोलिदिनुपर्ने’ हिम्मतेसूरमाको लागि विश्वविद्यालय पनि बन्न सक्छ।

जनयुद्धका प्रचण्ड राजनीतिक भूकम्पको केन्द्रमा थिए। उत्पीडित, उपेक्षित र भुइँमान्छेका आशा, विश्वास, र सपनाका महानायक बने। मनोयुद्धको धरापमा फसेका पुष्पकमल दाहाल भने आफ्नै मातहतले धारेहात लगाउने बने। जसको भर परे, खुट्टा तिनैले काटे।

जसलाई विश्वास गरे त्यसैले धरापमा पारे। विश्वासिलो एउटै सहयोगी नरहेको दु:खित पराणी बने, अश्त्रहीन पार्ने छलीखेल बुझ्न नसक्दा ‘हामी चुक्यौं’ भनेर आत्मिक ऊर्जा लिन फेरि रोल्पा त्यही घरमा पुगे, जुन आश्रय थलीबाट बाह्रबुँदेको श्रीगणेश गरेका थिए र अर्कोतर्फ गण्डक महाअभियानको कार्सन।

प्रचण्ड भावुक हुन्, कविता नलेख्ने कवि जस्ता। एकैपटक उनले युद्ध र शान्तिको महाकाव्य लेखे, लियो टाल्सटायको ‘युद्ध र शान्तिभन्दा ठूलो। तर जति धेरै सम्भावना हुन्छन् निर्णय लिन त्यतिकै गाह्रो पनि हुन्छ।

रोल्पा भ्रमणपछि अध्यक्ष प्रचण्डले सोच्नुपर्ने कुरामा किन परिस्थति आफ्नो काबुमा हुन सकेन? किन आफन्त पराया भए? आफन्त बनेका किन पराइले छिर्के थापे? सहमति गरेकाले किन शक्ति सन्तुलनमा सामान्य फेरबदल आउनेबित्तिकै स्याल सिंह बनेर गर्जिए मात्र हैन, सहयात्रीको सिकार खेल्न तम्सिए?

वर्ग चरित्र कस्तो हँुदो रहेछ? आफ्नै निर्वाचन क्षेत्र रोल्पामा प्रधानमन्त्री हुँदासमेत नगएका उनलाई अहिले किन रोल्पा याद आयो? रोल्पा भ्रमणले के सन्देश दियो? साँच्चै माओवादी नेतृत्व पंक्तिले क्रान्तिको अपहरण कसरी, कस्वाट भयो? आखिर यस्तो किन भो? कसो भो?

अबको रणनीति के हुनुपर्छ? भनेर त अहिले सोच्छ। वर्ग र वर्ण संघर्षलाई तालमेल मिलाएर लैजान नसक्नाका कारण के थिए? प्रारम्भिक प्रयोगको पराजय नै क्रान्ति विज्ञानको पराजय हुँदैन, तर बारम्बारको असफलतालाई वैज्ञानिकहरूले भने दोहो:याउँदैनन् बरु नयाँ तरिकाको प्रयोग गर्छन्। पक्कै हो, बीसौं शताब्दीको सर्वहारा क्रान्तिको रणनीति कसैको कार्बनकपी हुनै सक्दैन।

विश्व पुँजीवादको उत्पादन, विनिमय प्रणाली, सूचना संचारको विकास, सत्तातन्त्र र बौद्धिक वर्चस्वमा अहिले काफी भिन्नता आएको छ। मोहनविक्रम सिंहको बागेओडारले देखाएको सपना रुकुम, रोल्पा पुग्न विश्वास र निर्माण बन्दै प्रचण्डलाई १५ वर्ष लागेको थियो।

माडीको गर्जन र जलजलाको गौरवता नियालेपछि पहाड फाल्ने मूर्ख बूढो झैं उद्देश्यप्रति दृढता, निजी र पुजी आसक्तताबाट मुक्त भएमा जस्तोसुकै असम्भवलाई सम्भव बनाउन सकिन्छ भन्ने चीनको चिङकाङसाङ पर्वतको सपना देख्दै रोल्पाली आटोले उनको आँट बढाएको थियो।

गाउँबस्ती चाहार्दै रोल्पा पुगेका थिए। दिमागमा क्रान्ति र भूमिकामा कार्ययोजना, विचारलाई उचो देखिने झन्डा उचालेपछि अरूले पछ्याएका हुन्। सरल र सहज हुनु, निजी पुँजी र परिवारवादमा नफस्नु नै प्रचण्ड हुनु थियो। अगुवासँग भएको आदर्श सामाजिक तागत बनेर जनयुद्धको नेतृत्व बनेको थियो।

रोल्पालाई आदर्श बनाउन चाहने हरेकले बिर्सन नहुने कुरा भनेको त्यहाँ अजंगको स्वाभिमानी जलजला हिमशिखर छ, गर्विलो गाउँ थवाङ छ, जनयुद्धकालीन हेडक्वाटर राङसो डाँडागाउँ र राङकोटको गोरीगाउँ छ, असंख्य भोल्ट करेन्ट गर्भमा राखेको पाताल ताक्ने माडी छ, नेपाली पहिलो माओवादी कामी बूढाको पद चिन्ह छ र कमान्डर कमरेड सुनिलको गर्जन छ।

सपनालाई यथार्थमा फेर्न बलिवेदीमा होमिएका विस्मृतिका गर्भबाट गर्जिरहेका हजारौंका चीत्कार छन्। ती सबैलाई सुन्ने कान र संवेदना अनूभूत गर्ने हृदय दृष्टि क्षेत्र फराकिलो नजर हुनुपर्छ। रोल्पा गएर मात्र रोल्पा पुगिँदैन, रोल्पामा जन्मिएर मात्र रोल्पाली भइँदैन।

रोल्पाली बन्नलाई रोल्पाली संवेदना हुनुपर्छ, रोल्पाली सपना हुनुपर्छ, सपनालाई मार्गचित्र बनाउने संकल्प हुनुपर्छ। बिग्रिएका मति, बिर्सिएका आदर्श, भुलेका प्रतिबद्धता, खिया लागेका चिन्तन सच्याउने विनम्रता हुनुपर्छ।

विवेकलाई नियन्त्रण गर्ने, आक्रोशको आगोलाई शालीन र तर दृढतापूर्ण कार्यान्वयन गर्ने अठोट हुनुपर्छ। दुस्मनप्रति घृणा आफन्तप्रति विश्वास र प्रेम, विरोधीलाई परेको भ्रम साफ गर्ने भूमिका, तर्क र कला हुनुपर्छ।

गुमाउन नहुने पक्ष भनेको भावनाको दलदलमा न रोल्पाली भाव व्यवहारमा चरितार्थ गर्न सकिन्छ न रुकुम-रोल्पा इतिहासको ब्याज खान दिन्छ। न वर्तमानको मौन द्रष्टा बन्न छुट दिन्छ न भविष्यका लागि कविता मात्र कोर्ने।

जनयुद्धले धराप छिचोले पनि मनोयुद्धको सामना गर्न नसकेको माओवादी दुस्मनको दरिलो हतियार उपभोक्तावादले परास्त गर्न सकेन। बुर्जुवा लोकतन्त्रमा पुँजी जनताको सामूहिक विवेक नियन्त्रण गर्छ भने उपभोक्तावादले आदर्श, सिद्धान्त, सपना र प्रतिबद्धताको सिकार खेल्छ। के अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको त्यसैविरुद्ध ऊर्जा लिन रुकुम, रोल्पा गएकै हुन् !

जनयुद्धकालमा रोल्पालीले छापामारले सुरक्षा दिएका छरितो प्रचण्डसँग सहकार्य गरेका थिए, अहिले भने सरकारी सुरक्षातन्त्रले घेरिएका, मोटाएका पुष्पकमललाई भेटें। छापामार थिएनन्, कमान्डरहरू सिभिलियन बनिसकेका।

धेरै पानी माडी खोलामा बगिसक्यो। उनले सरकारी सुरक्षातन्त्रको तामझाममा नभई रोल्पाली आफन्तलाई नै विश्वास गरेर केन्द्रीय समितिको बैठक पनि रोल्पामा गरेको भए, त्यहीँबाट सहमति संवाद जारी राखेको भए त्यस्तो अवस्था नदेख्दा फोस्रो साबित हुन सक्ने संविधानसभाबाट बाहिरिँदै जनताबीच जाने घोषणा गरेको भए पक्कै पनि रोल्पा यात्राले नयाँ सन्देश दिन सक्थ्यो।

पार्टी रहे पनि माओवादी आन्दोलन अहिले भने विघटन हुँदै पार्टीको रूपमा पनि टुक्रिँदै गयो, विघटनको क्रम अझै रोकिएको छैन। पराय आफन्त बन्दैछन् हिजाका आफन्त टाढा बन्दैछन्। त्यसको सबैभन्दा पीडा प्रचण्डहरूलाई नै हुनुपर्छ।

अर्काको कमाइ हसुरेर तिघ्रे बन्नेहरूलाई ‘बाँचे मेरो पोइ, मरे सासूको छोरो’ हुन्छ। पार्टीमा बढेको सांस्कृतिक सामन्तवादले टुप्पीदेखि पैतालासम्म गाँजिनु नै संगठनको अस्तव्यस्तता, अविश्वास सिद्धान्तहीनता बन्न पुगेको र राजनीतिलाई समाजीकरण गर्न नसक्नु समस्याको जड हो।

सिद्धान्त, राजनीतिभन्दा सत्ता प्यारो बन्नेहरूको वैशाखी कतिन्जेल रहला? हेल्मेट खोलेर सडेको दिमागमा आगो लगाउने प्रचण्ड कथन हो। तर हेल्मेट कसको कसले खोलिदिने त्यतिकै चिन्तित पनि होलान् उनी।

के, रोल्पा भ्रमणले प्रचण्डलाई काठमाडौंको प्रदूषित हावाले नभई जलजलाबाट बग्ने स्वच्छ वायुले वैचारिक उर्जा दिएको र स्वयंलाई अर्चापेको त छ ! भनेकै हुन् ‘हामी चुक्यौं’ भनेर, चुकेको सपार्न आफैं र आफन्तप्रति निर्मम नभई सकिँदैन। के उनी समीक्षित हँुदै आफैंप्रति निर्मम बन्न सक्लान् ! के संक्रमणकाल टुंगिएर सहमतीय राजनीति अब सकिएकै हो?

सहमतीय राजनीतिको अन्त्यसँगै बहुकोणीय द्वन्द्व सुर हुनेछन् र त्यसको अगुवाइ क्षेत्रीय, जातीय, धार्मिक जडता र उग्रताले गर्नेछ। त्यो विगतका द्वन्द्व जस्तो नभई अझ भयावह हुनेछ भने एजेन्डाले पैदा गरेको सपना र महत्त्वाकांक्षा कसैगरी पनि मर्ने छैन, भलै त्यसका प्रस्तावक शक्तिसँग त्यसको नेतृत्व गर्ने हैसियत र जनविश्वास गुमेको किन नहोस् !

प्रक्रियामा गएर संविधान जारी पनि हुन सक्ला तर जारी प्रक्रिया नै संकटको निम्तो र द्वन्द्वको निमन्त्रणा हुन सक्छ। तब नेपाली राजनीतिको दिशा र दशा के हुन्छ? सम्भावित बहुकोणीय द्वन्द्वको उपचारको प्रेसक्रिप्सन के हो? रुकुम, रोल्पाले देखाएको सपना र भाव अबको नेपाली राजनीतिमा के-कस्तो तरिकाले व्यक्तिने हो? समयले यही प्रश्‍न प्रचण्डलाई अहिले सोधिरहेको छ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु