प्रचण्डलाई पद जोगाउनै मुस्किल

२०७४ माघ ६ गते, शनिबार

काठमाडौँ, ६ माघ । नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकतामा पदीय बाँडफाँटको विषय पेचिलो बन्दै गएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सहजै प्रधानमन्त्री स्वीकार गरेको माओवादीले एमालेले पनि अध्यक्ष प्रचण्डलाई एकीकृत पार्टीको अध्यक्ष बनाउँछ भन्ने अपेक्षा थियो । तर, माओवादीको अधिकांश नेताहरुले अबको प्रधानमन्त्री केपी ओली हो भनेर भनिरहँदा एमालेका कुनै पनि नेताले प्रचण्डलाई अध्यक्ष मान्न सकेका छैनन् । एमालेका नेताहरु प्रधानमन्त्री र अध्यक्ष दुवै पद ओलीले लिनुपर्ने मनस्थितिमा छन् । जसका कारण अहिलेसम्म पार्टी एकताले गति लिन सकेको छैन । पार्टी एकता जति ढिलो हुँदै गएको छ, त्यति नै प्रचण्डको पक्षमा नेताहरु थपिदै गएका छन् । माओवादीका नेताहरु प्रचण्डलाई अध्यक्ष बनाउनुपर्छ भन्ने पक्षमा हुनु त स्वभाविक नै हो, तर पछिल्ला दिनमा एमालेका नेताहरुसमेत पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पद ओलीले लिन नहुने पक्षमा छन् ।
यसअघिदेखि नै प्रचण्डसँग निकट मानिने एमाले उपाध्यक्ष बामदेव गौतम प्रचण्डलाई अध्यक्ष बनाउनुपर्ने पक्षमा छन् । अर्कोतिर केपी ओलीलाई पार्टीभित्रै चुनौति दिदै आएका वरिष्ठ नेता माधवकुमार नेपाल र उनका पक्षधर नेताहरु पनि अध्यक्ष पद प्रचण्डलाई दिएर सहज रुपमा पार्टी एकता गर्नुपर्ने पक्षमा छन् ।
पछिल्लो समय पार्टी एकता पर धकेलिँदै गएपछि कतिपय ओली पक्षका नेताहरुसमेत एकता सफल बनाउनका लागि लागि प्रचण्डलाई अध्यक्ष बनाउनुपर्ने निष्कर्षमा पुगेका छन् ।
यसैबीच, शुक्रबार दिउँसो नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच तीन घण्टा लामो वार्ता भएको छ । ओली निवास बालकोटमा दिउँसो १ बजेदेखि सुरु भएको वार्ता ४ बजेसम्म चलेको थियो । दुबै अध्यक्षबीच राष्ट्रिय सभा निर्वाचनको लागि कार्यदलले तयार गरेको रिपोर्ट, पार्टी एकता र प्रदेश सरकारको गठनबारे छलफल भएको बताइएको छ । वार्ता लामो भएको तर निकै सकारात्मक भएको नेताहरुले बताएका छन् । कुराकानीमा दुबै पार्टीले आन्तरिक छलफल गरी आज संयोजन समितिको बैठक बोलाउन सहमत भएका छन् । तर, पार्टी एकता कि सरकार पहिलो भन्नेमा टुंगो लागिनसकेको स्रोतले बतायो । सरकारले बुधबार गरेको प्रदेश प्रमुखको नियुक्ति र अस्थायी राजधानीबारे साझा धारणा सार्वजनिक गर्न पनि ओली–प्रचण्ड सहमत भएका छन् ।
त्यसैगरी, पार्टी एकताका लागि संगठनात्मक संरचना कस्तो बनाउने भन्ने बारेमा पनि ओली र प्रचण्डबीच बृहत छलफल भएको बताइएको छ । साथै सरकार गठन विधि, प्रक्रिया, मन्त्री फाँडफाँडलगायतका विषयमा पनि गभ्भीर छलफल भएको बताइएको छ । एमाले, माओवादी केन्द्रलगायतका वामपन्थी शक्तिबीच पार्टी एकतापछि बन्ने नयाँ पार्टीको वैचारिक र संगठनात्मक दाँचा, नीति सिद्धान्त र कार्यनीतिका बारेमा पनि गहन छलफल भएको छ । बैठकमा प्रचण्डले अध्यक्ष छोड्न तयार भएको विषयमा ओलीले जिज्ञासा राखेका थिए । जवाफमा प्रचण्डले आफूले त्यसो नभनेको बताएका थिए । “एकता विरोधी केही संचारमाध्यमले गलत प्रचार गरिरहेका छन् । मैले नभनेको कुरा कथा बनाएर समाचार बनाएको तर मैले एकीकृत पार्टीको अध्यक्ष हुँदैन भनेको छैन” ओलीसँगको कुराकानीको क्रममा भनेको प्रचण्डलाई उधृत गर्दै स्रोतले भन्यो । केही दिन पहिले केही संचारमाध्यमहरुले एमालेलाई अप्ठ्यारो हुने भए आपूm केन्द्रीय सदस्य बन्न तयार भएको बताएका थिए । यसलाई प्रचण्डले ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै स्वीकार गरेको अर्थ लगाइएको थियो । लगातार तीन घण्टासम्म कुराकानीमा सबै विषयमा छलफल भए पनि ओली–प्रचण्डबीच कुनै सहमति भएको छैन ।
यसैबीच, माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले ओली र प्रचण्डबीच विश्वासको संकट रहेको बताएका थिए । उनले दुबै नेताले त्यो खाडल कम गरिरहेको बताए । नेता पौडेलले ओली र प्रचण्डको सांगठनिक व्यवस्थापन नभएसम्म पार्टी एकता हुन नसक्ने बताएका छन् । उनले पार्टी एकता ओली र प्रचण्डको व्यवस्थापनमा अडिएको दाबी गरेका छन् । मिडियामा आएजस्तै प्रचण्ड नेतृत्वको लागि सहज भएको अनुमान गरेका ओलीले प्रचण्डको कुरा सुनेपछि कुनै जवाफ नदिएर बसेको बताइएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु