प्रचण्डलाई कारवाही !

२०७४ फाल्गुन ११ गते, शुक्रबार

काठमाडौं, ११ फागुन । नेकपा (माओवादी केन्द्र)का नेता गोपाल किरातीले प्रचण्डलाई कारबाही गरिएको भन्दै विज्ञप्ति जारी गरेका छन् । नेकपा माओवादी केन्द्रले एमालेसँगको एकता प्रक्रियाप्रति असन्तुष्ट रहेको भन्दै कारबाही गरेका नेता गोपाल किरातीले उल्टै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कारबाही गरिएको भन्दै विज्ञप्ति जारी गरेका हुन् । सामाजिक सञ्जाल फेसबुकमार्फत किरातीले प्रचण्डसहितका नेतालाई ‘दाहाल एण्ड कम्पनी’ को संज्ञा दिँदै उनीहरु माओवादी केन्द्रमा नरहेको दाबी गरेका छन् । किरातीले ‘दक्षिणन्थी काण्डको भण्डाफोर गर्दै नेकपा माओवादी केन्द्र पुनर्गगठनको आव्हान’ गरिएको क्रान्तिकारी निर्णयलाई अभियोग दाहाल एण्ड कम्पनीले ‘कथित कारबाही’ गरेकोमा त्यस कम्पनीलाई धन्यवाद दिने बताए । उक्त कारबाही माओवादको विज्ञान र पहिचान मुद्दामाथिको कारबाही हो भन्ने तथ्य स्वतः प्रमाणित हुनुको साथसाथै दाहाल एण्ड कम्पनीमा निहित एकमनवादको पराकाष्ठा समेत भएको टिप्पणी उनको छ ।
नेकपा (माओवादी केन्द्र)का नेता गोपाल किरातीले जारी गरेको विज्ञप्ति यस्तो छ -“सञ्चारमाध्यम अनुसार ‘दक्षिणन्थी काण्डको भण्डाफोर गर्दै नेकपा (माओवादी केन्द्र) पुनर्गगठनको आव्हान’ गरिएको क्रान्तिकारी निर्णयलाई अभियोग ठानेर पुष्पकमल दाहाल एण्ड कम्पनिले हामीलाई ‘कथित कार्वाही’ गरेकोमा त्यस कम्पनिलाई धन्यवाद नै दिनुपर्छ । किनकी उक्त कार्वाही माओवादको विज्ञान र पहिचान मुद्दामाथिको कार्वाही हो भन्ने तथ्य स्वतः प्रमाणित हुनुको साथसाथै दाहाल एण्ड कम्पनिमा निहित एकमनवादको पराकाष्ठा समेत हो । माओवादी केन्द्र पुनर्गगठन गर्नुपर्ने कारणबारे एक पटक पनि सुनुवाईको मौका नदिइकन कथित कार्वाही दाहाल कम्पनिकै विनाशको वर्खिलाप समेत हो ।
अतः ‘जो चोर, उसैको ठूलो स्वर’ भने झैं मार्क्सवाद–लेनिनवाद–माओवादको सिद्धान्त र पहिचानको मुद्दा बेचेर खानेहरुले नै त्यो सिद्धान्त र मुद्दामा दृढ हामीलाई कार्वाहीको दुस्प्रचार गर्नु कायरताको परिचायक मात्र हो । यसैसाथ एमालेकरण भइसकेको दाहाल एण्ड कम्पनि माओवादी केन्द्रमा नरहेको स्पष्ट गर्दै त्यस कम्पनिको प्रतिक्रान्तिकारी हर्कत विरुद्ध विरोधको झण्ड उठाउन पार्टी, वाईसीएल, जबस र मोर्चा संगठनका इमान्दार कमरेडहरुलाई जोडदार आव्हान गर्दछु । पार्टी पुनर्गठनमा सहयोग गर्न सबै देशवासीमा विशेष अपिल गर्दछु ।”

प्रतिक्रियाहरु