प्रचण्डको पतन र विप्लवको उदय – विष्णु पन्त

२०७६ श्रावण १९ गते, आईतवार


१. नेपाली राजनीतिमा प्रचण्डको पतन

प्रचण्ड जनयुद्धको भीषण संघर्षहरुले जन्माएको नेतृत्व हो । पुष्पकमल दाहाल आफ्नै मात्र क्षमताले प्रचण्ड बनेका होइनन् । पुष्प कमल दाहाल आफ्नै मात्र क्षमताले प्रचण्ड बनेका होइनन् । उनलाई प्रचण्ड बनाउनका लागि हजारौं शहिदहरुको बलिदान, लाखौं नेता कार्यकर्ता र शुभचिन्तकहरुको योगदान रहेको छ । नेपालमा क्रान्ति सम्पन्न गर्ने र वैज्ञानिक समाजवाद स्थापना गर्ने प्रतिबद्धता कार्यक्रम र वर्ग संघर्षका स्वरुपलाई हेरेर जनताले प्रचण्डको व्यक्तित्वलाई फुटपाथबाट आकाश वा शिखरसम्म पु¥याईदिए । जनयुद्धको उत्कर्षसँगै त्यसको सर्वोच्च नेताका हिसाबले प्रचण्ड समग्र विश्वकै अनौठो नेताका रुपमा स्थापित भए । तर, जनयुद्धको विर्सजन, प्रतिक्रियावादी शक्तिसँगको आत्मसमर्पण र संसदीय व्यवस्थाको दुर्गन्धित डंगुरभित्र आफुलाई विलिन बनाए पछि उनको त्यो उच्च र महान् व्यक्तित्वको एकाएक अवसान भयो । उनी अहिले केपि ओली, माधव नेपाल र शेरबहादुर देउवाभन्दा पनि कनिष्ठ नेताका रुपमा दौडधुप गरिरहेका छन् ।
प्रचण्डका पतनका केही तथ्यहरु हेरौं न, पहिलो त शान्ति प्रक्रिया पछि प्रचण्डले आफ्नै पंक्ति, पार्टीका नेता कार्यकर्तालाई षड्यन्त्रपूर्ण ढंगले ढाँटे । ढाँट, छलकपट र गद्दारीलाई प्रमुख हतियार बनाए । उनले आफ्नै पंक्तिलाई ढाँट्न सक्नुको मुख्य कारण थियो जनयुद्धमा उनले आर्जन गरेको आम विश्वास थियो । क्रान्तिमा उनीबाट धोका हुँदैन भन्ने अन्धविश्वास नै उनको सफलताको मुख्य कारक बन्यो । हुँदाहुँदा पार्टीका सबै शक्तिहरु विघटन गरे, जनयुद्धका सबै शक्ति र उपलब्धि दुश्मनलाई बुझाए । त्यसकारण चित्र कस्तो देखियो भने उनले आफ्नो पंक्तिलाई ढाँट्ने, छलछाम गर्ने र ब्ल्याकमेलिङ्ग गर्ने अनि दुश्मनसँगको सम्झौतालाई इमानदारीतापूर्वक पालना गर्ने उनको पछिल्लो चरित्र बन्यो । जस्तो कि शुरुमा जनतालाई के भने– ‘संसदीय व्यवस्था भनेको सुँगुरको खोर हो तर हामी त्यहाँ भित्र गएर विस्फोट हुनुका लागि वा संसदवादको अन्त्य गर्नका लागि जाँदै छौं ।’ हेरौं न आज परिणाम के भयो ? जनमुक्ति सेनालाई विघटन गरी सेना समायोजनको नाममा आत्मसमर्पण गराएपछि उनले नारा दिए उत्पादन व्रिगेड बनाउने तर आज स्पष्ट छ, त्यो बिग्रेड कता हरायो ? आज आएर उनले भन्दै छन्– ‘राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना नै जनयुद्धले खोजेको क्रान्ति थियो ।’ उनको पतनका मुख्य दृष्टान्तहरु हेरौं–
क) पार्टीलाई एमालेमा विलय – हुँदा–हुँदा प्रचण्ड पुरानो एमालेमा प्रवेश गरे र पुरै पार्टीलाई त्यहिँ भित्र विलय गराए । आश्चर्यको कुरा त के छ भने उनी एकिकृत पार्टीको सहअध्यक्षको भूमिकामा छन् । उनी अहिले बहुदलीय जनवाद भन्ने कि जनताको जनवाद भन्ने विषयमा अड्को थाप्दै बार्गेनीङ्ग गर्दै छन् । संसदीय चुनावमा दुई तिहाई ल्याएर समाजवाद ल्याउने भन्दै छन् र त्यो समाजवादलाई कांग्रेसले समेत स्वीकार गरेको छ । चुनावमा दुई तिहाई पनि आयो तर रमिता देखीएकै छ । कथित आर्थिक समृद्धिको खोक्रो भाषण गरेर उनी आफ्नो दिन चर्या बिताउँदै छन् ।
ख) कुर्सीको लडाइ“ – प्रचण्ड अहिले कुकुरले हड्डी कुरे झैं वा हड्डीका लागि कुकुरहरु लुछाचुँडी गरे जस्तै उनी त्यही कुर्सी वा संसदीय प्रधानमन्त्री बन्ने दौडमा ¥याल काढी रहेका छन् । प्रधानमन्त्री बन्नका लागि विदेशीहरुसँगका रहस्यमय र गोप्य भेटघाट, सम्झौता, आत्मसमर्पणमा उनका दिनहरु व्यथित भईरहेका छन् ।
ग) राष्ट्रघात – प्रचण्ड कुर्चीका लागि हाम्रो राष्ट्रियतामाथि पनि जस्तोसुकै आघात गर्न तयार हुँदै छन् । भारतीयहरुलाई नागरिकता बाँड्ने, नदीनाला र प्राकृतिक सम्पदाहरु भारतलाई बुझाउने, नेपाल भित्र विदेशी सेनाहरु राख्न दिने, सिमाहरु मिचिदा मौन समर्थन गर्ने काम गर्दै छन् । हिजो जनयुद्धको बेलामा चलाईएको सुरुङ्ग युद्ध आज गएर आत्मसमर्पणमा पतन भएको छ ।
२. प्रचण्डको पतन पछि विप्लवको उदय
यदि प्रचण्डको पतन नभएको भए विप्लवको उदयको सम्भावना थिएन । विप्लव प्रचण्डकै एउटा अंग थिए । तर प्रचण्डको पतनले विप्लवको उदयलाई अनिवार्य बनायो । समाज विज्ञानको नियम के छ भने केही नेताहरुले गद्दारी गर्दैमा सामाजिक अन्र्तविरोध र वर्गसंघर्षको अन्त्य हुन सक्दैन । नेपालमा वर्ग संघर्ष अनिवार्य र अवश्यंभावी बन्दै छ । प्रचण्डसँगको विद्रोह पछि शुरुमा विप्लवमाथि धेरै खिसीटिउरी पनि गरियो, अझै पनि “मुलधारमा नआए वा सत्तारुढ नेपाल कम्युुनिष्ट पार्टीमा नआए विप्लवको विनाश हुने” खिसीटिउरी गर्ने क्रम जारी छ । प्रचण्डले सहजै बिर्सेको सत्य के छ भने जनयुद्धविनाको प्रचण्डको कुनै अस्तित्व थिएन । समाजमा व्याप्त अन्याय, अत्याचार, विभेद, असमानता र शोषणको अन्त्य गर्ने प्रतिबद्धताले गर्दा प्रचण्डको उदय भएको हो ।
हिजो जनयुद्धको नेतृत्व गरेका कारण प्रचण्डको विकास भए जस्तै आज दलाल संसदीय व्यवस्थाको अन्त्य, वैज्ञानिक समाजवादको स्थापना र राष्ट्रिय स्वाधिनताको विकासको लागि एकिकृत जनक्रान्तिको कार्यक्रमसहित विप्लवको उदय भएको छ । दलाल संसदीय व्यवस्था हिजोभन्दा पनि धेरै गुना दुर्गन्धित र संकटग्रस्त बनी रहेको वर्तमान राजनीतिक परिवेशले विप्लवको उदयलाई अनिवार्य र निर्विकल्प बनाएको छ । गणतन्त्र आफैंमा लुटतन्त्रमा परिणत भएको छ र भ्रष्टाचारको विगविगीले संसदीय नेता र पार्टीलाई ध्वस्त बनाएको छ । सबै संसदीय नेता, कार्यकर्ताहरु भ्रष्टाचार, कालोबजारी, तस्करी र दलालीमा डुबुल्की मारेको हुनाले अब यो व्यवस्थाको अन्त्यको विकल्प छैन् । नेपाली राजनीतिमा विप्लवको उदय नभई नहुने केही परिवेशहरु निम्न छन्–
क) आमूल परितर्वन वा वैज्ञानिक समाजवादको आवश्यकता – युगौंदेखि नेपाली समाजमा व्याप्त महारोगहरु हुन्– शोषण, उत्पीडन, अन्याय, विभेद र असमानता । जनताले चाहेको परिवर्तन शोषण, उत्पीडन, अन्याय, विभेद र असमानताको अन्त्य तर ठीक उल्टो परिणाम भयो । आज शोषण झनै बढेको छ । असमानताले सिमान नाघेको छ । अन्याय, अत्याचार र विभेदले झनै बढि जरा गाडेको छ । यो परिस्थितिले क्रान्तिको अनिवार्यतालाई सुद्धढ गराएको छ ।
ख) भ्रष्ट संरचनाको अन्त्य – वर्तमान दलाल संसदीय व्यवस्था आफैं रोगहरुका कारण महासंकटमा गुज्रीएको छ । आज भ्रष्टाचार, दलालीकरण, कालोबजारी, तस्करी र माफियातन्त्रले यो सत्तालाई निलीसकेका छन् । प्रधानमन्त्रीदेखि मन्त्री, सांसद हुँदै गाउँ र नगरपालिकाका सदस्यसम्म अनि संसदीय पार्टी अध्यक्षदेखि साधारण सदस्यसम्म सबै भ्रष्टाचारको भूमरीमा चुर्लुम्म डुबेका छन् । यो भ्रष्ट संरचनाले पुरै समाजलाई आक्रान्त र असन्तुलीत बनाईदिएको छ । भ्रष्टाचार यति मौलाएको छ कि अब यो व्यवस्थाले थेग्न सक्ने अवस्थामा छैन् ।
ग) राष्ट्रियतामाथिको संकट – दलाल संसदीय व्यवस्थामा सत्तामा पुग्नका लागि विदेशीहरुलाई गुहार्ने जस्तो राष्ट्रघाती र आत्मसमर्पणवादी चिन्तन हाबी भएको छ । औषधी उपचारका नाममा विदेश जाँदै विदेशी एजेन्टहरुसँग वार्ता गर्ने, सम्झौता गर्ने र षड्यन्त्र गर्ने जस्ता प्रतिस्पर्धाहरु छर्लङ्गै सबैले देख्नेगरी चलेकै छन् । बदलिँदो परिस्थितिमा विश्वव्यापी रुपमा दुईवटा होडबाजी चली रहेका छन्, पछिल्लो हो सैन्य शक्तिको विकास र दोस्रो हो आर्थिक विकास वा व्यापार । जबसम्म हामीले सैन्य शक्तिको विकासतर्फ महत्वकांक्षी रणनीति लिन सक्दैनौं तबसम्म हामी राष्ट्रियताको विकास गर्न सक्दैनौं । सैन्य हिसाबले उत्तरकोरिया बन्ने सपना देख्नुपर्छ भने आर्थिक हिसाबले समृद्ध राष्ट्र बन्न सक्नुपर्छ । त्यो दुवै काम आजका दिनमा केवल विप्लव र उनले नेतृत्व गरेको कम्युनिष्ट पार्टीले मात्र गर्न सक्छ । परापूर्वकालदेखि भनिदै आएको दुई ढुङ्गा बीचको तरुलको अवधारणा अनि भारतीय हस्तक्षेपहरुको मौन समर्थन गर्ने आत्मसमर्पणवादी चिन्तन वा मनोविज्ञानलाई बदल्न सक्नुपर्छ । आवश्यकता परे पुँजीवादी फाँसीवाद अनि साम्राज्यवादका विरुद्धको विश्वव्यापी धु्रवीकरण र संघर्षको नेतृत्व गर्न तयार हुनुपर्छ ।
घ) मध्यम वर्गमा आएको संकट – आज भ्रष्ट र दलाल संरचनाका कारण देशको मध्यम वर्ग सबैभन्दा बढी तरङ्गित, अस्थिर र भयभित बनेको छ । उ एकातर्फ दलाल पुँजीपति वर्गको जीवनशैलीलाई पछ्याउनु पर्ने बाध्यतामा छ भने अर्कोतर्फ आम्दानीको स्रोत कमजोर हुनाले ठुलो संकटमा फस्दै छ । एकातर्फ सरकारद्वारा लादिएको जथाभावी कर अनि अर्कोतर्फ महंगीले गर्दा उसलाई थिलो थिलो पारेको अवस्था छ । आम्दानी कम खर्च धेरै, समाजमा दलाल र भ्रष्टहरुको विगविगी अनि प्रतिष्ठाका लागि उनीहरुसँगको प्रतिस्पर्धाले मध्यम वर्ग पनि प्रताडित बनेको छ ।
ङ) बेरोजगार युवाहरुको विदेश पलायन– वर्तमान दलाल संसदीय व्यवस्थाका सबै सरकार केबल रेमिट्यान्सबाट बाँच्ने सपना बोक्दै छन् । देशका युवा शक्तिलाई वैदेशिक रोजगारका नाममा विदेश पलायन गराउने नीतिमा यो सत्ता केन्द्रित भएको छ । उमेर छँदासम्म विदेश जाने अनि उमेर ढल्केपछि स्वदेश फर्किने डरलाग्दो रोगले हाम्रो पुरै समाज आक्रान्त बनेको छ । युवाहरुलाई देशमै काम दिनुको सट्टा फ्रि भिषाका नारा लगाउँदै सरकारले नै विदेश पठाउने रणनीति बनाएको छ । जबसम्म युवाहरुको विदेश पलायनको महारोगलाई अन्त्य गर्न सक्दैनौ तबसम्म विकास र समृद्धिका गफ गर्नुको कुनै औचित्य देखिंदैन् ।
च) राष्ट्रिय उद्योगहरुको विकास – नेपालमा आत्मनिर्भर अर्थतन्त्रको विकास गर्नु आजको मुख्य चुनौति बनेको छ । नेपालमा प्रशस्त नाफामूलक उद्योगहरुको सम्भावना छ र त्यसको विकासमा राज्यको ध्यान जानु अनिवार्य छ । भएका उद्योगहरु पनि बेच्ने, टाट पल्टाउने राज्यको नीति छ, जसलाई उल्ट्याउनु पर्दछ । राष्ट्रिय पुँजीपति वर्गको संरक्षण र दलाल पुँजीवादको ध्वंस गर्ने तर्फ सरकारले दृढताका साथ पहल गर्नुपर्दछ । वर्तमान दलाल संसदीय व्यवस्थामा ठीक उल्टो भएको छ ।
छ) श्रमजीवि सर्वहारा वर्गको संरक्षण – राज्यले श्रमजीवि र सर्वहारा वर्गलाई अभिभावकको रुपमा अधिकार, सुनिश्चित गरिदिन सक्नुपर्छ । सबैखाले विभेद, असमानता, अन्याय र शोषणलाई अन्त्य गर्नुपर्छ । समानतामा आधारित मानवीय विकासलाई मुख्य जोड दिनुपर्छ । आज गरिब, निमुखा, उत्पीडित र दलित जनसमुदायहरु माथि राज्यले यति ठुलो अन्याय गरेको छ कि सबै खाले प्राकृतिक प्रकोपहरु जस्तै बाढी, पहिरो, आँधीतुफान, भूकम्प जे आउँदा पनि मर्ने उनीहरु नै छन् । सयौं हजारौंको विचल्ली हुन्छ प्रत्येक वर्ष तर, राज्यले कत्ति पनि संवेदना देखाउन सक्दैन । के यस्तो अन्यायी र अत्याचारी राज्यको हामीले बचाउ गर्न सक्छौं ? के गरिबहरु मान्छे नै होइनन् ? के उत्पीडितहरुको जीवनको मूल्य नै हुँदैन् ? के दलितहरुको अधिकार हुँदैन् ?
३) अनिवार्य बन्यो प्रचण्डको पतन र विप्लवको उदय
निष्कर्षमा प्रचण्डको पतन किन भयो भने उनले जनयुद्धका प्रतिबद्धताहरु माथि गद्दारी गरे, धोकादिए र संसदीय व्यवस्थामा पतन भए । त्यति मात्र होइन उनी पुरानै एमालेका सहअध्यक्ष भएर एमालेमा विलिन भए अनि केपि ओली र विद्या भण्डारीको कार्यकर्ता बने । त्यतिमात्र कहाँ हो र, वर्तमान राज्यको विकृतिहरु भ्रष्टाचार, दलालीकरण, कालोबजारी, तस्करी र माफियाकरणलाई संरक्षण गरे ।
अतः इतिहासले उनलाई क्षमा दिन सक्दैन किनकि हजारौंको बलिदान, लाखौंको बर्बादीका लागि उनले जिम्मेवारी लिनुपर्छ । के जनयुद्ध यही संसदीय व्यवस्थाका लागि गरिएको थियो ? के थिए जनयुद्धको घोषणा गर्दाका प्रतिबद्धताहरु ? शायद यी प्रश्नको जवाफ प्रचण्डसँग छैन् । अब प्रचण्डको ठाउँ विप्लव र प्रकाण्डहरुले लिएका छन् । फेरि पनि नेपालले क्रान्ति र आमूल परीवर्तन खोजेको छ । आज पनि दलाल संसदीय व्यवस्थाको अन्त्य झनै अनिवार्य र अवश्यंभावी बनेको छ । फेरि पनि शोषण, अन्याय, उत्पीडन र विभेद झनै बढेर गएको छ । सामाजिक असमानताले मानवीय मुल्यको विनाश गरेका छन् । यी सबै प्रश्नहरुको हल गर्ने महत्वाकांक्षा अब विप्लवसँग छ र उनले नेतृत्व गरेको पार्टीसँग मात्र छ । वैज्ञानिक समाजवादको स्थापनाको लागि विप्लवको उदय र विकास अनिवार्य बनेको छ

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु