प्रचण्डको पतन र क्रान्तिकारीहरुको दायित्व – समीर यात्री

२०७४ मंसिर २४ गते, आईतवार

माओवादी आन्दोलनको कचडाको रुपमा रहेको माओवादी केन्द्र स्खलन र बिचलनको तिव्रतासँगै पतनको पराकाष्ठामा पुगेको छ । विश्व कम्युनिष्ट आन्दोलनमा संशोधनवादमा पतन भएका सुधारवादी कम्युनिष्ट धाराहरु पनि राष्ट्रियताको मामलामा धेरै हदसम्म इमान्दार रहेको देखिन्छ । तर यहाँ माओवादी केन्द्र वर्गीय र राष्ट्रिय आत्मसमर्पणवादमा पतन हुँदै निर्लज्जतापूर्वक दिल्ली दरवारको वफादार नोकरमा परिणत भएको छ । जनयुद्धको उत्तरार्धमा प्रचण्ड बाबुरामले भारतीय प्र.म.मनमोहन सिंह र सोनिया गान्धीको पाउमा चढाएको विन्ती पत्रको रहस्य आज छर्लङ्ग भएको छ ।
माओवादी केन्द्रको पतन बहुआयामिक छ । राष्ट्रियता, जनतन्त्र र जनजीविकाका मुद्दाहरुलाई आधार बनाएर जनयुद्धको नेतृत्व गरेको पार्टी विभाजित हुनु र आन्दोलन विसर्जन हुनुमा त्यसको मूल नेतृत्व प्रचण्ड सहितको ठूलो हिस्सामा आएको विचलन जिम्मेवार छ । माओवादी कार्यकर्ता र शुभचिन्तकहरुको ठूलो हिस्साले अहिले पनि पार्टी विभाजित हुनु र आन्दोलन रक्षात्मक बन्न पुग्नुमा ठुलो चिन्ता र दुःखको अनुभूति गरिरहेको छ । निश्चय नै यो सुखद पक्ष होइन, गम्भीर विडम्बना र दुःखकै विषय हो । तर पनि नेपाली क्रान्तिकारी आन्दोलन भित्रको गम्भीर दुर्घटनालाई ठिक ढंगले बुझने र यसबाट पाठ सिक्दै अगाडी बढ्न दृढ संकल्प गर्नुको विकल्प छैन ।
आखिर किन भयो पार्टी विभाजन ?
पार्टी विभाजन हुनुका खास कारण छन् । यी कारणहरु बुझ्नका लागि इतिहासका केही श्रृखंला हेरौं ।
पहिलो, जनयुद्धको विकासको एउटा निश्चित चरणमा साम्राज्यवाद विस्तारवादसँग लडाई आमने सामने हुन पुगेपछि कार्यदिशालाई नयाँ उचाइमा विकास गरेर मात्र अगाडि बढ्न सम्भव हुन्थ्यो, तत्कालीन नेतृत्वले त्यो सामथ्र्य राख्न नसकेपछि सुरक्षित अवतरणको बाटो रोज्यो । चुनवाङ्ग बैठकद्वारा यसको ढोका खोलियो । त्यतिखेर स्पष्टरुपले भनियो कि संसदवादीहरुसँग सहकार्य गरी राजतन्त्रको अन्त्य गरिसकेपछि स्थापित हुने लोकतान्त्रिक गणतन्त्रको चरित्र संक्रमणकालिन हुनेछ । त्यसलाई क्रान्तिकारीहरुले नयाँ जनवादी गणतन्त्रमा बदल्ने कोशिस र संसदवादीहरुले औपचारिक पूँजीवादी गणतन्त्रमा सिमित राख्ने प्रयत्न बीच रसाकसी चल्ने छ । क्रान्तिकारीहरुले जनताको संविधान वनाउने अवस्था रहेन भने जनविद्रोहमार्फत क्रान्तिको कार्यभार पूरा गर्नुपर्नेछ ।
स्पष्ट छ, प्रचण्डहरुले चुनवाङ बैठकको यो नीति समेत लत्याएर पार्टीको नीति र निर्णय विपरित आफूखुसी सम्झौता गर्दै जनसत्ता, जनअदालत, जनमुक्ति सेना विघटन र जनयुद्धको विसर्जन गरे । सहिदका सपना र जनताका आकांक्षाप्रति गद्दारी गर्दै कुर्सी स्वार्थको लागि नेपाली जनताका होनहार छोराछोरीहरुको रगतमाथि सौदावाजी गरे । प्रचण्डहरुको यो एउटा गम्भीर विचलन र अपराध थियो । त्यो स्थितिमा प्रचण्डहरुसँग सम्बन्ध विच्छेद गरेर पार्टी, क्रान्ति र जनताका प्रस्तावहरुको रक्षा गर्नु अनिवार्य थियो । क्रान्तिकारीहरुले चालेको कदम ठीक यही नै हो ।
दोश्रो, क्रान्तिको परियोजनालाई विसर्जन गर्ने प्रचण्डहरुको यो श्रृखंला नवसंशोधनवाद हुँदै अन्ततः दलाल संसदवादमा पुगेर टुंगियो । टुंगिनुपूर्व यो संसदवादको पुच्छरको रुपमा गिरिजाको पछि –पछि डोलाइरह्यो । त्यतिखेरै पार्टीभित्र दुई लाइन संघर्ष जटिल बन्दै गयो । प्रचण्डमण्डली झन पछि झन अराजक र स्वेच्छाचारी बन्दै पार्टीको नियन्त्रण बाहिर गयो । जनमुक्तिसेनाको क्यान्टोनमेन्टभित्र अरवौंको आर्थिक हिनामिना प्रचण्डमण्डलीबाटै भयो ।
पछि त्यो मुद्दा अख्तियारमा प्रवेश गरेपछि त्यसबाट जोगिन महाभ्रष्ट लोकमानसिहं कार्कीलाई नै अख्तियार प्रमुख प्रचण्डले बनाएको र लोकमानले क्यान्टोन्मेन्टको भ्रष्टाचार सम्बन्धी फाइल खोल्न थालेपछि महाअभियोग लगाएर हटाएको कुरा सर्वविदितै छ । प्रचण्डका रहस्यमय सम्बन्धहरु र भ्रष्ट आचरणले गर्दा पार्टी खाइदिने खतरा देखिए पछि क्रान्तिकारी झण्डाको रक्षा गर्नुपर्ने ऐतिहासिक आवश्यकताको बीचबाट प्रचण्डमण्डलीसँग सम्बन्ध विच्छेद गरी पार्टी पुनगर्ठन गरिएको हो । यो विन्दुसम्म आइपुग्दा प्रचण्डमण्डलीको पीडादायी अवसानले सम्बन्ध विच्छेदको औचित्य शानदार ढंगले पुष्टि गरिदिएको छ ।
प्रचण्ड समुह पतनको श्रृखंला
वास्तवमा चुनवाङ्ग वैठकको कार्यनीति संविधानसभा र लोकतान्त्रिक गणतन्त्र प्रचण्ड मण्डलीको संसदवादमा संक्रमणको पुल सावित भयो । यो कार्यनीतिको औचित्य र सान्दर्भिकता पहिलो संविधानसभा विघटनसँगै समाप्त भइसकेको थियो । वस्तुतः यो सगै शान्ति प्रक्रियाको अध्याय पनि समाप्त भइसकेको थियो । त्यहाँसम्म हामी सँगै थियौं । संविधानसभा र लोकतान्त्रिक गणतन्त्रको क्रान्तिकारी उपादेयता सकिएपछि वस्तुस्थितिले माग गरे अनुरुप नयाँ कार्यनीति विकास गर्नु अनिवार्य थियो । त्यस अनुसार क्रान्तिकारीहरुले जनविद्रोहको कार्यनीतिमा जोड दिने र प्रचण्ड मण्डलीले लोकतान्त्रिक गणतन्त्रलाई रणनीति वनाउन खोज्ने बीच दुई लाइन संघर्ष उत्कर्षमा पुग्यो ।
पार्टी विभाजन पछि प्रचण्डसमूहले बैदेशिक शक्तिकेन्द्रहरुको नांगो दलाली गर्न थाल्यो । सत्ताको लागि दिल्ली दरवारलाई रिझाउने निर्लज्ज होडवाजीमा प्रचण्ड समुहको भर्तिले दलाल संसदवादमा पतनको ढोका खोलिदियो । नयाँ जोगीको चाल झैं प्रचण्ड समुहले सवै पुराना संसदवादीहरुलाई उछिनेर दिल्लीकै योजनामा खिलराज रेग्मीलाई काधँमा बोक्यो र मन्त्री परिषदको अध्यक्ष बनाइ दोश्रो संविधानसभाको नाटक मञ्चन ग¥यो । यहाँसम्म आइपुग्दा प्रचण्ड समुह पूर्णतः वर्गीय र राष्ट्रिय आत्मसमर्पणवादमा पतन भइसकेको थियो ।
पछिल्लो समय प्रचण्डले भारतमा गरेको पच्चीस बुँदे सहमति इतिहासकै सवैभन्दा ठूलो राष्ट्रघात हो । किनकि एक, जसले विगतका सवै शासकहरुले गरेका तर कतिपय म्याद गुज्रीसकेका, कतिपय पुनरावलोकनको निमित्त विचाराधीन रहेका सवै असमान तथा अपमानजनक र राष्ट्रघाती सन्धी सम्झौताहरु नवीकरण र कार्यान्वयनको लागि ल्याप्चे लगाउने काम गरेका छ । दुई, नेपालको सुरक्षा र स्वतन्त्र परराष्ट्र नीति भारतीय साम्राज्यवादको पोल्टामा हालिदिएको छ । तीन, झट्ट हेर्दा कुनै नदी बेचेको जस्तो प्राविधिक सम्झौता भएको नदेखिने गरी गरिएको यो नीतिगत सहमति नेपाललाई सिक्किमिकरण गर्ने भारतीय गुरुयोजनाकै अभिन्न अंग हो । यस अर्थमा प्रचण्ड समूह नेपाललाई सिक्किमीकरण गर्ने भारतीय रणनीतिक उदेश्यको वफादार कारिन्दाको रुपमा पतन भएको पुष्टि हुन्छ ।
ओली नेतृत्वको सरकारसँग ‘केमेष्टी’ नमिलेको भारतीय घोर दक्षिणपंथी मोदी प्रशासनले ओली सरकार ढाल्ने औजारको रुपमा प्रचण्डलाई प्रयोग ग¥यो । खोक्रो राष्ट्रबादकै सहारामा भएपनि इतिहासको एउटा जटिल कालखण्डमा ओली सरकारले राष्ट्रियताको मामलामा केही सकारात्मक सुरुवात गरेकै हो । उनको सन्की विवेकवाट धेरै ठूलो अपेक्षा गर्नु त वेठिक नै हुन्थ्यो, तै पनि राष्ट्रियताको मामलामा उनले जुनसुकै नियतले भएपनि लिएको अडानले स्वाभिमानी नेपालीको शीर झुक्न दिएन । यस बीचमा चीनसँग गरिएका व्यापार तथा पारवहन सम्झौता, उत्तरतिरका विभिन्न नाकाहरु खोल्ने सहमति आदिलाई असफल पार्ने भारतीय डिजाइन अन्तर्गत ओली सरकार ढालियो । प्रचण्ड देउवा गिरोहको निर्माण यसै उदेश्यको हास्यास्पद बनोट मात्र हो । ओली सरकारले चीनसँग गरेका सवै सम्झौताहरु यो गिरोहले रद्दीको टोकरीमा फ्ँयाकी दिनुले यसै कुराको पुष्टि गर्दछ ।
मोदीसँग ‘केमेष्ट्री’ मिलेको निर्लज्जतापूर्वक घोषणा गर्दै हिडने प्रचण्ड र भारतीयहरु सामु ‘म तपाईहरुकै छोरो हुँ’ भन्दै बेशरम बतुराउने देउवालाई एउटै जुवामा नारेर भारतीय साम्राज्यवादले तिव्र गतिमा सिक्किमीकरणको बयलगाडा हाँक्यो । राष्ट्रिय स्वाधीनता, अखण्डता र सार्वभौमिकता इतिहासमै सवैभन्दा ठूलो संकटमा पर्नु यसैको उपज हो । मधेसीहरुलाई मन्छाउने बहानामा ल्याइएको संविधान संशोधन विधेयक यसै सिक्काको अर्को पार्टो हो । यो विधेयकले हाम्रा मधेशी समुदायको समस्यासँग कुनै सरोकार राख्दैन । भारतद्वारा प्रायोजित मधेशका केही साहु महाजनहरु, (जो भारतको युपी र विहारकै नागरिक हुन) का माग सम्बोधन गर्ने नाममा भारतकै डिजाइनमा यो संशोधन प्रस्ताव आएको हो । जसको उद्देश्य सिंगो नेपालबाट तराई टुक्रयाउने र किस्तावन्दीमा विलय गराउने भारतीय रणनीतिकै सेवा गर्नु हो । यो विन्दुसम्म आइपुग्दा प्रचण्ड समुह घोर राष्ट्रघाती दलालको रुपमा पतन भयो ।
आज राष्ट्रिय राजनीति संक्रमणकालको अन्तिम विन्दुमा पुगेको छ । तर ठिक उल्टो दिशातिर । दुवै समानान्तर सत्ताको बीचमा सम्झौता भई सक्रमणकालमा प्रवेश गरेको राष्ट्रिय राजनीति प्रचण्ड मण्डलीको धोखा र गद्दारीसँगै सन्तुलन भत्किएर विग्रन पुग्यो । प्रचण्ड मण्डलीको वर्गीय र राष्ट्रिय आत्मसमर्पणवादमा पतनसँगै जनताका प्रस्तावहरुलाई किनारा लगाउँदै पुरानै प्रतिक्रियावादी संसदीय सत्तालाई सुदृढ गर्ने षड्यन्त्र हावी भयो । तर क्रान्तिकारी र देशभक्त शक्तिहरुमाथि यहाँका दलाल संसदवादी प्रतिक्रियावादीहरु सहजै हावी हुन नसक्ने देखेपछि साम्राज्यवादीहरुको शरणमा परेर वैदेशिक हस्तक्षेप निम्त्याउने र उनीहरुकै निर्लज्ज गोटी बन्ने उपक्रम चल्यो । केही समय अघिको देउवा प्रचण्ड चुनावी साझेदारी यसै श्रृंखलाको विकृत रुप हो ।
वास्तवमा जनयुद्धको परिवर्तनकारी विरासत बोकेका क्रान्तिकारी शक्तिहरुलाई पाखा लगाएर शान्तिप्रक्रियाले पूर्णता पाउन र संक्रमणकालिन राजनीतिलाई सही दिशामा व्यवस्थापन गर्न सम्भव थिएन । तर देशी विदेशी प्रतिक्रियावादी शक्तिहरु विकिसकेको प्रचण्ड मण्डलीलाई खेलौनाको रुपमा प्रयोग गर्दै यही असम्भव दिशामा देशको राजनीतिलाई बलजफ्ती होम्ने दुश्साहस गरे । जनताको विरोधको बाबजुद कर्फयू लगाएर प्रतिक्रियावादी सारतत्व सहितको संविधान जारी गर्ने र त्यही संविधानको आधारमा पुरानै सत्तालाई सुदृढ गर्ने गरी संसदवादी निर्वाचनको नाटक मंचनसम्मका परिघटना यसै श्रृंखलाका उपज हुन ।
कथित स्थानीय चुनावको नतिजा पछि यहाँको दलाल संसदबादी राजनीतिमा साम्राज्यबादको नयाँ प्रयोग सुरु भएको छ । दलाल संसदबादी सत्ता सुदृढ गर्न गइरहेका यहाँका संसदबादीहरुलाई चुनाबी मोर्चाबन्दीमा उतारेर दुई दलीय अधिनायकबादको अभ्यास गरिदैछ । यो मोर्चाबन्दीमा प्रचण्डलाई ‘जोकर’को भूमिकामा उभ्याइएको छ । आफ्नो छोरीलाई मेयर बनाउनकै लागि शेर बहादुरको फेरो समात्न पुगेका प्रचण्डले यतिबेला केपी ओलीको टाङमुनी मुन्टो लुकाउदै ‘बाम गठबन्धन’, ‘बाम एकता’ र ‘समाजबाद’को स्यालहुइया मच्चाउनु यसैको उपज हो ।
हिजो अर्धसामन्ती र अर्धऔपनिवेशीक अवस्था रहदासम्म नेपालको राजनीतिमा सत्ताका दुई केन्द्र थिए । एउटा नारायणहिटि राजदरवार र अर्को दिल्ली दरवार । नेपालका संसदवादीहरुको लागि यी दुवै मक्का मदिना थिए । नारायणहिटि र दिल्लीको बीचमा सम्झौता र संघर्षको सम्बन्ध थियो । दिल्लीको बाह बुँदे सहमतिबाट नेपाल नवऔपनिवेशिक अवस्थामा गयो र राजतन्त्रको अन्त्यपछि संसदवादी राष्ट्रिय राजनीतिक सत्ताको एकल केन्द्र दिल्ली बन्न पुग्यो । यसरी राजतन्त्रात्मक संसदीय व्यवस्थाको ठाउँ दलाल संसदीय व्यवस्थाले लियो । यस अर्थमा आजको यो गणतन्त्र दलाल गणतन्त्र हो । यसले दलाल राजनीतिक सत्ता र दलाल पुँजीवाद दुवैको प्रतिनिधित्व गर्दछ । ऐतिहासिक भौतिकवादी निष्कर्ष यही नै हो ।
तर प्रचण्ड समूह आफनो विचलन र पतनलाई ढाकछोप गर्दै जनवादी क्रान्तिका कार्यभार पूरा भएको र अव समाजवादमा जाने, राजनीतिक क्रान्ति पुरा भएको र अव आर्थिक समृद्धि गर्ने जस्ता वकवास गर्दै हिडेको छ । यसले प्रचण्ड समुहको सैद्धान्तिक दिवालियापन र वैचारिक टाट पल्टाइलाई बडो सुन्दर ढंगले पुष्टि गरेको छ ।
कथित चुनावको नौटंकी खारेज गर्दै जनताको क्रान्तिकारी विरासत अगाडि बढाउनु यतिवेलाको क्रान्तिकारीहरुको दायित्व हो । जनताको वलिदानीपूर्ण युद्ध–संघर्षमाथि विश्वासघात र गद्धारी गर्दै जनताको थाप्लोमा दलाल संसदीय व्यवस्था थोपर्ने षड्यन्त्र क्रान्तिकारीहरुले कुनै पनि मूल्यमा स्वीकार गर्न सक्तैनन । यस अर्थमा यो निर्वाचनको नौटकी खारेज गर्ने अभियानमा जुटिरहेका क्रान्तिकारीहरुमाथि दलाल संसदीय सत्ताले गैरकानूनी ढंगले देशैभरी धरपकड, दमन र राज्यातंक चलाइरहेको छ । जनता र क्रान्तिकारीहरुमाथि यस प्रकारको राज्यातंक संचालन गर्ने हर्कतमा प्रचण्ड समुहभित्रका भ्रष्ट दलाल, र प्रतिक्रियावादीहरु मरिमेटेर लागेको कुरा छर्लङ्गै छ । यहाँ सम्म आइपुग्दा प्रचण्ड समुह संसदीय फाँसिवाद र प्रतिक्रान्तिकारी गद्दारको रुपमा पतन भइसकेको तथ्य छर्लङ्ग छ । यो खुशीको कुरा हो कि प्रचण्ड समुहको यो पतनको तिव्रताले उसको दयनीय अवसानको गन्तव्यलाई निकट तुल्याइदिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु