पेप्सीका कामदार आन्दोलित

२०७६ आश्विन १७ गते, शुक्रबार

काठमाडौं, १७ असोज । बहुराष्ट्रिय कम्पनी बरुण वेभरिज प्रालि (पेप्सी कम्पनी) मा कार्यरत कामदारले आज बिहानदेखि धर्ना दिएका छन् । विभिन्न नौ बुँदे मागसहित विगत छ महीनादेखि शान्तिपूर्ण सङ्घर्ष गर्दै आएका यहाँका दैनिक ज्यालादारीमा कार्यरत कामदारले उद्योग पक्षबाट माग सुनुवाइ नभएको भन्दै पुनः आन्दोलनमा उत्रिएका हुन् । पटक–पटक कम्पनीको व्यवस्थापन पक्षले माग सम्बोधनका लागि निर्णय गर्ने तर कार्यान्वयन नगर्ने गरेको भन्दै पुनः आन्दोलन गर्नुपरेको सङ्घर्ष समितिका संयोजक रमेश गौतमले बताउनुभयो । सो उद्योग बहुराष्ट्रिय कम्पनी पेप्सीको एक शाखा उद्योगको रुपमा रहेको छ । काठमाडौँ पेप्सीकोलापछिको पेप्सी कम्पनीको दोस्रो उद्योगको रुपमा बरुण वेभरिज प्रालि (पेप्सी कम्पनी) यस स्थानमा रहेको छ ।
श्रम ऐन कार्यान्वयन र निष्काशन गरिएका श्रमिकको पुनःबहालीलगायतको माग राखेर आफूहरुले चरणबद्ध आन्दोलन गर्दै आए पनि उद्योग पक्षले आफ्ना मागहरुप्रति बेवास्ता गरेको भन्दै पुनःआन्दोलनमा उत्रिएको संयोजक गौतमको भनाइ छ । चरणबद्ध आन्दोलन गर्दै आएका श्रमिकलाई राजनीतिक दल, नागरिक समाजले समर्थन गरेका छन् । नियुक्तिपत्रबिनै काममा राखिएको भन्दै दैनिक ज्यालादारी कामदारले रोजगार सम्झौता गरी नियमित रोजगारको नियुक्तिपत्र दिएर मात्र काममा राख्न कम्पनीसक्षम माग गर्दै आएका छन् ।
कामदारले निष्काशन गरिएका श्रमिकलाई तत्काल पुनःबहाली गर्नुपर्ने, श्रम ऐनले तोकेबमोजिमको पारिश्रमिक उपलब्ध गराउनुपर्ने, कम्पनीले सिधँै नियुक्ति दिनुपर्ने, बिनाकारण कामबाट निष्काशन गर्न नपाइने, ठेकेदारीप्रथा अन्त्य गर्नुपर्नेलगायतका माग राखेका छन् । उद्योगमा विशेषगरी मजदुरको सङ्ख्या अधिकांश नेपाली छ भने अन्य अधिकांश कर्मचारीको सङ्ख्या भारतीय रहेका छन् । उक्त कम्पनीमा कर्मचारी र कामदार गरी ५२० कार्यरत छन् । जसमध्ये करीब ३०० को सङ्ख्यामा दैनिक ज्यालादारीमा काम गर्ने कामदार छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु