पूर्वराष्ट्रपतिको घरभाडा राष्ट्रपति कार्यालयले तिर्ने

२०७३ असार ११ गते, शनिबार

काठमाडौं, ११ असार । राष्ट्रपति कार्यालयले पूर्वराष्ट्रपति डा। रामवरण यादवको घरभाडा भुक्तानी गर्ने भएको छ । भाडा लिन आउन घरधनीलाई शुक्रबार खबर गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता ध्रुवराज आचार्यले जानकारी दिए ।
राष्ट्रपति कार्यालयले घरधनी रविभक्त विष्टलाई कर कट्टा गरी कात्तिकदेखि असारसम्मको घरभाडा १२ लाख ३९ हजार चार सय रुपैयाा भुक्तानी दिन लागेको हो । ‘चेक तयार भइसकेको छ, घरधनीलाई भाडा लिन बोलाएका छौ,’ सहायक प्रवक्ता आचार्यले भने, ‘सायद आइतबार आउनुहुन्छ होला ।’ पूर्वराष्ट्रपति डा. यादव ललितपुर बागडोलका रविभक्त विष्टको घरमा भाडामा बस्दै आएका छन् ।
मन्त्रिपरिषद्को २६ चैतको बैठकले अर्को व्यवस्था नभएसम्मका लागि पूर्वराष्ट्रपति यादवले प्रयोग गर्दै आएको निवासको भाडा, विद्युत् तथा खानेपानी महसुल भुक्तानी राष्ट्रपति कार्यलयले मिलाउने निर्णय गरेको थियो ।
रकम अर्थ मन्त्रालयले राष्ट्रपति कार्यालयलाई निकासा दिने निर्णय मन्त्रिपरिषद्को थियो । ‘मन्त्रिपरिषद्को निर्णयअनुसार घरभाडा भुक्तानी अर्थ मन्त्रालय वा राष्ट्रपति कार्यालय कसले गर्ने भन्ने अन्योलले रकम दिन सकेका थिएनौं,’ आचार्यले भने, ‘राष्ट्रपति कार्यालयबाटै भुक्तानी गर्ने भएपछि तत्काल घरधनीलाई बोलाएका हौं ।’
भाडा नपाएकाले डा.यादवलाई घरबाट हटाइदिन आदेशको माग गर्दै विष्टले ललितपुर जिल्ला अदालतमा मुद्दा हालेका छन् । पूर्वराष्ट्रपतिलाई राष्ट्रपतिको फोन घरभाडा भुक्तानीमा विवाद भएको समाचार सार्वजनिक भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार पूर्वराष्ट्रपति डा. रामवरण यादवलाई टेलिफोन गरेकी छिन् ।
भण्डारीले डा. यादवसँग घरभाडा विवादलगायतका विषयमा जानकारी लिएको राष्ट्रपति कार्यालय स्रोतले बतायो । राष्ट्रपति भण्डारीले शुक्रबार दिउँसो कार्यालयका सचिव भूपेन्द्रप्रसाद पौडेलसहितको टोली पूर्वराष्ट्रपति डा। यादवको निवासमा पठाएकी थिइन् । उनीहरूले स्थलगत निरीक्षणपछि अवस्थाबारे राष्ट्रपति भण्डारीलाई जानकारी गराएका थिए । -सचेन गौतम,नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रियाहरु