पूर्वपश्चिम राजमार्ग अवरुद्ध

२०७६ असार २८ गते, शनिबार

काठमाडौं, २८ असार । जिल्ला प्रहरी कार्यालय महोत्तरीले लगातारको भारी वर्षाले महोत्तरीको बर्दिबासस्थित भब्सी नदीको पुल भत्किएको जनाएको छ। पुल भत्किएपछि पूर्वपश्चिम राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनेको छ । पुल भत्किएपछि सयौँ यात्रु अलपत्र परेका छन्, भने पुलको छेउमा ठूलो संख्यामा सवारी साधन रोकिएका छन् । केही यात्रु गन्तव्यमा पुग्न जोखिम मोलेर नदी तरिरहेको प्रहरीले जनाएको छ । भत्किएको पुल हेर्न सर्वसाधारणको घुइँचो लागेको छ। जिल्लामा चार दिनदेखि भइरहेको वर्षा अझै रोकिएको छैन।
यता , अविरल वर्षाका कारण सप्तकाेशी नदीमा जलसतह बढेकाे छ । सप्तकोसी नदीकाे चतरामा आज असार २८ गते बिहान ६ बजे जलसतहले सतर्कता तह पार गरेको बाढी पूर्वानुमान शाखाले जनाएकाे छ । काेशीमा पानीकाे सतह र चाप बढ्दाे क्रममा रहेकाेले सुनसरी र सप्तरी जिल्लाका नदीतटीय क्षेत्रमा बेलुकीसम्मै उच्च सतर्कता अपनाउन अाग्रह गरिएकाे छ ।
यसैगरी बाढी सूचना/पूर्वानुमान शाखाले कमला नदी-धनुषा-तितरिया बाढीमापन केन्द्रमा जलसतह खतरा तहभन्दा ज्यादै माथि पुगेको जनाएकाे छ । शाखाका अनुसार वर्षा हुने क्रम जारी रहने देखिएकोले आज दिनभरि नै धनुषा तथा सिराहा जिल्लाको डुबान भईरहने तटीय क्षेत्र उच्च जाेखिममा छ । त्यस क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान र सतर्कता अपनाउन अनुरोध गरिएकाे छ । बिहीबारदेखि भइरहेकाे अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढी र पहिराेकाे उच्च प्रकाेप देखिएकाे छ । शनिबार पनि वर्षा जारी रहने माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । कोसी व्यारेजमा हाल पानी निकासीको लागि ५६ मध्ये २९ वटा ढोका खोलिएका छन् । पानीको बहावमा निरन्तर बढेसँगै ब्यारेजमा खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चैते छठ पर्व मनाइँदै

२०८१ बैशाख २ गते, आईतवार