पुस्तक मेला – बलराम तिमल्सिना

२०७६ आश्विन ३ गते, शुक्रबार

निकै दिनको तातो विज्ञापनपछि
सुरु भयो पुस्तक मेला
अर्थात पुस्तकको हाट बजार !

थरि थरिका स्टलमा
थरिथरिका पुस्तक थिए भरमार !

कुनै स्टलमा थिए –
आधुनिक काम शास्त्र सचित्र
कुनैमा थिए –
यौन भोक बढाउँने दश टिप्स
मानौ कि यो देश
युवाहरूमा यौन भोक कमी भएर बिग्रिएको हो !

अर्को स्टल थियो –
युवा लक्षित
त्यहाँ थिए –
लिङ्गको मोटाई बढाउँने काइदा
लिङ्गको लम्वाई बढाउँने जादू
मानौ यो देशका युवा
लिङ्गकै कारण अवशादको शिकार छन् !

त्यस्तै थियो अर्को स्टल
यो युवती मैत्री स्टल रे
जहाँ थिए –
स्तन कडा बनाउँने विधिशास्त्र
स्तन ठूला या साना बनाउँने ट्रिक्स
योनीको साइज कसरी घटबढ गर्ने
यस्तै यस्तै सयौं पुस्तक
मानौं यो देशका युवतीहरू
स्तन र योनी जडिट पुतली मात्र हुन्
उनीहरू त्यही चिन्ताले रोग ग्रस्त छन् !

स्टलहरूको भिडमा थियो
अर्को एउटा स्टल
जहाँ थिए-
भूतपूर्व तानाशाहहरूका आत्मकथा
जैविक राष्ट्रवादी कसरी बन्ने भन्ने वारे
र बहुचर्चित लेखकहरूका यौन कथा !

किन्नेहरू किनीरहेका थिए
बेच्नेहरू बेचिरहेका थिए
यस्तो लाग्थ्यो –
देशमा पठन संस्कृतिको माङ्गेना भएको छ
हाट बजारबाट फर्कदा
मान्छेका हात हातमा गह्रुङ्गा झोला थिए
ती अधिकाङ्श युवा युवती थिए
एउटा मान्छे थियो रित्तै फर्केको
जसलाई पसले र ढोकेहरूले सोचे-
‘एउटा अनपढ पाखे पनि आएछ
बिचरा हाट भर्न !’

हाटबाट फर्केपछि उसले सोच्यो –
यी कितावहरू पढेपछि
मेरो देशले
संस्कृतिको कस्तो उडान भर्ने होला ?

प्रतिक्रियाहरु